सूचना तथा सञ्चार क्षेत्रमा पाँच करोडभन्दा बढी लगानी

साना र मध्यम किसिमका स्वदेशी तथा विदेशी कम्पनीले सो रकम लगानी गर्न लागेका उद्योग विभागले जानकारी दिएको छ ।

नेपालमा १५ कम्पनीले सूचना तथा सञ्चार क्षेत्रमा पाँच करोड ९३ लाख रुपैयाँ लगानी गर्दै छन् । साना र मध्यम किसिमका स्वदेशी तथा विदेशी कम्पनीले सो रकम लगानी गर्न लागेका उद्योग विभागले जानकारी दिएको छ । प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताले आठ कम्पनीमा तीन करोड रुपैयाँ लगानी प्रतिबद्धतासहित कम्पनी दर्ता भएको विभागका अधिकारी बताउँछन् ।

पछिल्लो समय सूचना तथा सञ्चार क्षेत्रमा लगानी गर्ने स्वदेशी तथा विदेशी कम्पनी उद्योग विभागमा दर्ता हुन थालेका छन् । गत वर्ष सूचना क्षेत्रमा कुनै पनि किसिमको लगानी प्रतिबद्धता नआएकोमा चालू आर्थिक वर्षको १० महिनासम्ममा १५ ओटा साना, ठूला प्राविधिक कम्पनीमा लगानी गरेको विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

विभागको पछिल्लो तथ्याङ्कअनुसार सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा आएको लगानी प्रतिबद्धतामा करिब सात सय ५० भन्दा बढी व्यक्तिले रोजगारी पाउने छन् । अहिले नेपालमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गएको अवस्थामा चालू आवदेखि यस क्षेत्रमा लगानी गर्नेको सङ्ख्या देखिएको भुसालको भनाइ छ । ‘गत आवमा प्रविधि क्षेत्रमा कुनै पनि वैदेशिक लगानीको प्रतिबद्धता नआएकोमा यस वर्ष भने ह्वात्तै बढेको छ,’ उनले भने ।

विभागका अनुसार सूचना तथा प्रविधि क्षेत्रमा स्वदेशी सात कम्पनीको दुई करोड ९३ लाख तथा विदेशी आठ कम्पनीको तीन करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमध्ये सफ्टवेयर र वेबसाइट डेभलपमेन्टमा क्रियटिभ एप्स प्रालिले पाँच लाख रुपैयाँ लगानी गर्दैछ । त्यस्तै काइनेटिक सफ्टवेयर डेभलपमेन्ट सर्भिसेज प्रालिले पाँच लाख, माग्दाजंग फोटोग्राफी प्रालिले पाँच लाख, डिभाइन नेटवर्क स्ट्रिम प्रालिले दुई करोड २४ लाख, एक्सपर्ट प्रोजेक्ट प्रालिले पाँच लाख तथा चुवानयुन सफ््टवयेर कम्पनी प्रालिले १० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी दुई करोड लगानीमा उबर नेपाल प्रालि, पाँच लाखमा रकीमोबि नेपाल प्रालि, पाँच लाखमा लुमिनस सफ्टवेयर डेभलपमेन्ट कम्पनी, २५ लाखमा न्यू आईटी भेन्चर कर्पोरेसन लिमिटेड, १५ लाखमा बिङ्गशु सफ्टवेयर कम्पनी प्रालि, ४९ लाखमा इन्सेसेन्ट रेन एनिमेसन स्टुडियो, १० लाखमा टेक्नो डेभलपमेन्ट प्रालि, १० लाखमा स्प्राउट टेक्नोलोजी कम्पनी तथा दुई करोड रुपौँको लगानीमा सस्तो डिल प्रालि कम्पनी विभागमा दर्ता भएका छन् । यसरी विभागमा दर्ता भएका सञ्चार प्रविधिका कम्पनीहरु सफ्टवेयर तथा हार्डवेयर डेभलपमेन्ट एवम् नेटवर्किङ कार्यमा आधारित छन् ।