शैक्षिक संस्थाको पुनःनिर्माण सुस्त, ३ वर्षमा ४१ प्रतिशत मात्रै प्रगति

झन्डै ७ हजार ५ सय ५३ शैक्षिक संस्था तथा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएको तथ्याङ्क छ । तर, भूकम्प गएको ३ वर्षमा ३ हजार १ सय ५७ शैक्षिक संस्थाको पुनःनिर्माण सम्पन्न भएको छ ।

गत २०७२ बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण क्षति भएका शैक्षिक संस्था तथा विद्यालयहरुको पुनःनिर्माण सुस्त देखिएको छ ।

झन्डै ७ हजार ५ सय ५३ शैक्षिक संस्था तथा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएको तथ्याङ्क छ । तर, भूकम्प गएको ३ वर्षमा ३ हजार १ सय ५७ शैक्षिक संस्थाको पुनःनिर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको तथ्याङ्कअनुसार अहिले ४१ प्रतिशत अर्थात् ३ हजार १ सय ५७ शैक्षिक संस्थाको पुनःनिर्माण सकिएको छ । दुई हजार शैक्षिक संस्थाहरु निर्माणाधीन छन् । शैक्षिक संस्थाको पुनःनिर्माण निजी आवास पुनःनिर्माणभन्दा लामो समय लाग्ने भएकाले पुन:निर्माणमा ढिलाई भएको प्राधिकरणका प्रवक्ता यमलाल भूषालले जानकारी दिए । शैक्षिक संस्थाको पुनःनिर्माण ५ वर्षभित्र भइसक्ने भएकाले पनि काम भइरहेको उनले बताए ।

भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लामा भएका शैक्षिक संस्थाहरुको पुनःनिर्माण भइरहेको र शैक्षिक संस्थाको क्षतिको प्रकृति फरक फरक हुने भएकाले प्राधिकरणले मात्रै गर्ने भन्ने विषय नभएको उनले बताए । ‘क्षतिग्रस्त शैक्षिक संस्था वा विद्यालय कुनै दुई कोठे छन् कुनै ३/४ कोठे छन् भने कुनै अझ ठूला छन्,’ भूषालले भने । प्राधिकरणसँगै स्थानीय सङ्घसंस्था र शैक्षिक संस्थाको क्षति हेरेर काममा लागिरहेको उनले बताए ।

‘शैक्षिक संस्थाको पुनःनिर्माणमा प्राधिकरणले मात्रै हेर्ने विषय होइन,’ उनले भने, ‘स्वदेशी कम्पनी, सामाजिक सङ्घसंस्था, विदेशी दातृ निकायको सहयोगमा बन्ने कुरा हो, समय लाग्छ नै ।’