फोरजी सेवा लिने १३ लाख २५ हजार, एनसेलका मात्रै ७ लाख ७० हजार

एनसेलले फोरजी सेवा सुरु गरेको आठ महिनामा सात लाख ७० हजार ९२ जनाले प्रयोग गरिरहेका छन् । एनसेलले हालसम्म मुलुकका २१ सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ भने अन्य नपुगेका तथा विकट क्षेत्रमा पनि फोरजी सेवा विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।

नेपालमा फोरजी सेवा सुरु भएको नौ महिनामा १३ लाख २५ हजार ४ सय ४० प्रयोगकर्ता पुगेका छन् । नेपालमा छ ओटा दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये तीन कम्पनीले फोरजी सेवा दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको फोरजी सेवा सेवाग्राहीले लिएका छन् । प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा बढी फोरजीका प्रयोगकर्ता एनसेलका ग्राहक छन् । एनसेलले फोरजी सेवा सुरु गरेको आठ महिनामा सात लाख ७० हजार ९२ जनाले प्रयोग गरिरहेका छन् । एनसेलले हालसम्म मुलुकका २१ सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ भने अन्य नपुगेका तथा विकट क्षेत्रमा पनि फोरजी सेवा विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।

एनसेलले अहिलेसम्म उपत्यका लगायत नगरकोट, बनेपा, धुलिखेल, पोखरा, दमौली, बिर्तामोड, धरान, विराटनगर, दमक, वीरगञ्ज, हेटौंडा, भद्रपुर, बुटवल, भैरहवा, नेपालगञ्ज, कोहलपुर, वीरेन्द«नगर, धनगडी, लाहान लगायतका सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमका पाँच लाख ३६ हजार एक सय १३ जना प्रयोगकर्ता छन् । यो सङ्ख्या एनसेलको तुलनामा दुई लाख ३३ हजार नौ सय ७९ ले कम हो । टेलिकमले अहिलेसम्म काठमाडौं र पोखरामा मात्र फोरजी सेवा सञ्चालन गरेको छ । एनसेलभन्दा अघि सेवा विस्तार गरेको टेलिकमले अहिलेसम्म दुई सहरबाहेक अन्य सहरमा फोरजी सेवा विस्तार गर्न सकेको छैन ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले फोरजी सेवा विस्तार गर्न केही ढिलाई भएको बताइन् । ‘टेलिकमले अन्य सहरमा पनि फोरजी सुरु गर्ने भनेपनि टेलिकमको फोरजी सेवा टेन्डर मूल्याङ्कनमा नै सीमित रहेकोमा अब त्यो प्रक्रिया अन्त्य हुने क्रममा छ,’ वैद्यले भनिन् । हाल काठमाडौं र पोखरामा मात्र फोरजी सेवा रहेकोमा अन्य सहरमा पनि सेवा दिने प्रक्रिया अगाडि बढिरहेको उनले बताइन् ।

निजी क्षेत्रको दूरञ्चार काम्पनी एनसेलपछि स्मार्ट टेलिकमले पनि चौथो पुस्ताको मोबाइल प्रविधि फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपाल दूरसञ्चार प्राधिकारण बोर्डको २०७४ जेठ ७ गते बसेको बैठकले स्मार्ट टेलिकमलाई फोरजी सेवा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।साथै स्मार्ट टेलिकमले यथासम्भव नेपालभरि सेवा सञ्चालन गर्नुपर्ने सर्त समेत राखिएको अर्यालले बताए । स्वीकृति पाएपछि स्मार्ट टेलिकमले गत वर्षको साउनदेखि फोरजी सेवा सुरु गरेको थियो । स्मार्टसहित मुलुकमा फोरजी सेवा सञ्चालन गर्ने दूरसञ्चार कम्पनी तीन ओटा पुगेका छन् ।

नेपाल टेलिकमले २०१७ जुन १७ देखि काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालन गरेको हो । टेलिकमले सुरु गरेलगत्तै एनसेलले पनि सेवा सञ्चालनको अनुमति पाएको थियो । तीन ओटा कम्पनीले फोरजी सेवा सञ्चालन गरेसँगै बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले थप सुविधा पाउने प्राधिकरणको अपेक्षा रहेको प्रवक्ता अर्यालको भनाइ छ । उनका अनुसार अहिले स्मार्ट सेलका १९ हजार दुई सय ३५ प्रयोगकर्ता छन् ।

नेपालमा फोरजी सुरु भएको नौ महिना पुगेको छ । फोरजी सेवा दिने तीन कम्पनीमध्ये कसले गुणस्तरीय सेवा दिने भनी होडबाजी चलिरहेको छ । यी तीन कम्पनीमध्ये नेपाल टेलिकमले सबैभन्दा पहिला फोरजी सेवा सुरु गरे पनि टेलिकमभन्दा एनसेलका प्रयोग कर्ता बढी छन् ।