पक्राउ परेका व्यवसायीलाई म्याद थप गरी मुद्दा चलाइने

मुलुकभर सार्वजनिक यातायात रोकेर आन्दोलनमा उत्रिएका यातायात समिति तथा सङ्घका पदाधिकारी तथा सदस्यहरु शुक्रबार नै पक्राउ परेका थिए ।

सरकाले पक्राउ गरेका सिन्डिकेटधारी यातायात व्यवसायीलाई म्याद थप गरी मुद्दा चलाउने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षसहित, पदाधिकारी, सदस्यहरुलाई पक्राउ परेपछि सरकाले यस्तो कदम चाल्न लागेको हो ।

मुलुकभर सार्वजनिक यातायात रोकेर आन्दोलनमा उत्रिएका यातायात समिति तथा सङ्घका पदाधिकारी तथा सदस्यहरु शुक्रबार नै पक्राउ परेका थिए । सरकारले पक्राउ परेका यातायात व्यवसायीलाई त्यत्तिकै नछाडिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ‘पक्राउ परेका व्यवसायीलाई म्याद थप गरी मुद्दा चलाइने छ,’ उनले भने, ‘पक्राउ परेका आफ्ना व्यवसायीलाई छुटाउने नाटक अब बन्द हुनुपर्छ ।’

असार मसान्तसम्म पक्राउ परेका व्यवसायीलाई विशेष निगरानीमा राखिने उनले बताए । ‘असार मसान्तसम्म महासङ्घ सम्बद्ध यातायात समिति तथा सङ्घका संस्था रिन्यु भएका छन्,’ उनले भने, ‘नयाँ आर्थिक वर्षदेखि यिनीहरु गैरकानुनी हुन्छन् । अर्थात् रिन्यु हुन पाउँदैनन् । त्यस बेलासम्म हाम्रो विशेष निगरानीमा राख्छौँ ।’

यता यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएको र निर्बाध रुपमा सवारी सञ्चालन गर्न आफ्ना व्यवसायीलाई निर्देशन दिँदै प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् । आन्दोलन नगर्ने र निर्बाध रुपमा आफ्ना यातायात सञ्चालन गर्न व्यवसायी आग्रह गरेकाले सच्चिने मौका दिनुपर्ने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । पक्राउ परेका यातायात व्यवसायीहरुलाई मुद्दा चलाउने÷नचलाउने विषयमा स्थानीय जिल्ला प्रशासनले निर्णय गर्ने उनको भनाइ छ । ‘मन्त्रालयले निर्देशन दिएको छ । त्यस विषयमा स्थानीय जिल्ला प्रशासनले निर्णय अधिकार छ,’ उनले भने ।