कम्पनीमा जान्छौं भन्नेलाई मौका दिन्छौं : गृह मन्त्रालय

सिन्डिकेटविरुद्ध कुनै आन्दोलन नगर्ने, यातायात नरोक्ने र निर्बाध रुपमा यातायात सञ्चालन गर्ने व्यवसायीलाई सच्चिने मौका दिनुपर्ने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

पक्राउ परेका सिन्डिकेटधारी यातायात व्यवसायीहरुले कम्पनीअन्तर्गत दर्तामा जाने भनेमा मौका दिइने गृह मन्त्रालयले बताएको छ । यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएको र निर्बाध रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विज्ञप्ति निकालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

सिन्डिकेटविरुद्ध कुनै आन्दोलन नगर्ने, यातायात नरोक्ने र निर्बाध रुपमा यातायात सञ्चालन गर्ने व्यवसायीलाई सच्चिने मौका दिनुपर्ने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । पक्राउ परेका यातायात समितिका पदाधिकारी तथा सदस्यलाई मुद्दा चलाउने/नचलाउने विषयमा स्थानीय जिल्ला प्रशासनले निर्णय गर्ने उनको भनाइ छ । ‘हामी सिन्डिकेट गर्दैनौँ । कम्पनीअन्तर्गत दर्तामा जान्छौँ भने सच्चिने मौका दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि गृह मन्त्रालयले सम्बन्धित स्थानीय जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ ।’

गृह मन्त्रालयको यस्तो निर्देशनसँगै अहिले देशभर पक्राउ परेका व्यवसायीहरु धमाधम छुटेका छन् । स्थानीय जिल्ला प्रशासनले सिन्डिकेट नगर्ने र सरकारी निर्णय मान्ने भएपछि पक्राउ परेका व्यवसायीलाई छाडेको बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिए । व्यवसायीलाई लिखित कागजात बनाएर छुटाएको उनले बताए ।