अन्य बियर नबेच्न गोर्खा ब्रुअरीले बाँड्यो ५ करोड (रेस्टुरेन्टको सूचीसहित)

गोर्खा ब्रुअरीले करबाहेक ७५ रेस्टुराँलाई अरु बियर नबेच्नका लागि र आफ्नो एकाधिकार कायम गर्न सन् २०१७ मा ४ करोड ६५ लाख १९ हजार ९ सय ३३ बाँडेको गोर्खा ब्रुअरीको रणनीतिक योजनाको डकुमेन्टमा उल्लेख छ । कम्पनीले सन् २०१८ मा ५ करोड ८२ लाख ६४ हजार ९ सय ८३ खर्चे गर्ने योजना बनाएको छ ।

सिन्डिकेट शैलीमा बियर बजारमा आफ्नो एकाधिकार मात्र कायम गर्न गोर्खा ब्रुअरीले उपत्यकाका ७५ ओटा ठूला रेस्टुराँमा १ वर्षमा ५ करोडभन्दा बढी वितरण गरेको पाइएको छ । रेस्टुराँमा आफ्ना उत्पादन काल्सबर्ग, टुबोर्ग र सानमिगेल बियर मात्र बेच्ने र अरु कम्पनीका बियर प्रवेश नगराउने सर्तमा गोर्खा ब्रुअरीले एक वर्षमा उपत्यकाका ७५ ओटा रेस्टुराँमा ५ करोड ४७ लाख २९ हजार ३ सय ३३ रुपैयाँ करसहित खर्च भएको गोर्खा ब्रुअरीमै कार्यरत एक कर्मचारीले क्यापिटल नेपाललाई उपलब्ध गराएको डकुमेन्टमा उल्लेख छ ।

गोर्खा ब्रुअरीले करबाहेक ७५ रेस्टुराँलाई अरु बियर नबेच्नका लागि र आफ्नो एकाधिकार कायम गर्न सन् २०१७ मा ४ करोड ६५ लाख १९ हजार ९ सय ३३ बाँडेको गोर्खा ब्रुअरीको रणनीतिक योजनाको डकुमेन्टमा उल्लेख छ । कम्पनीले सन् २०१८ मा ५ करोड ८२ लाख ६४ हजार ९ सय ८३ खर्चे गर्ने योजना बनाएको छ ।

बजारमा डोमेस्टिक र अन्तर्राष्ट्रिय बियर ब्रान्ड थपिँदै गएपछि गोर्खा ब्रुअरीले आफ्नो बजार हिस्सा गुम्ने डरले अरु बियर नबेच्नकै लागि पैसा बाँडेको गोर्खा ब्रुअरीका सेल्स डिपार्टमेन्टका एक कर्मचारी बताउँछन् । कम्पनीले सन् २०१७ मा सबैभन्दा बढी ठमेलको पर्पलहेज बारलाई ८० लाख दिएको छ । वर्षभरिको कार्यक्रमको लागि सौजन्य र गोर्खा ब्रुअरीका उत्पादनबाहेक अरु बियर नबेच्ने (एक्सक्लुसिभ) सर्तमा करसहित ८० लाख वितरण गरेको डकुमेन्टमा उल्लेख छ ।

पर्पलहेजपछि कम्पनीले दरबारमार्गको क्लब डेजाभुलाई वार्षिक ४७ लाख वितरण गरेको छ । त्यस्तै ठमेलको इबिजा लाउन्ज एन्ड डिस्कोलाई २३ लाख ५०, पुलचोकको लेभल थ्री रेस्टुराँलाई २३ लाख, लाजिम्पाटको त्रिसरा रेस्टुराँलाई २० लाख दिएको छ । अरु ब्रान्डलाई प्रतिबन्ध लगाएर आफ्नो ब्रान्ड बेच्नका लागि पैसा बाँडेको विषयमा गोर्खा ब्रुअरीले प्रतिक्रिया दिन चाहेन । हामीले काल्सबर्ग ग्रुप डेनमार्कमा यस विषयमा इमेल पठाएका थियौं ।

कार्ल्सबर्ग ग्रुपका डेनिस तथा अन्तर्राष्ट्रिय मिडिया हेर्ने निर्देशक कास्पर एल्पजर्नले नेपालमा गोर्खा ब्रुअरीले अरु ब्रान्ड नबेच्न पैसा बाँडेको विषयमा थाहा नपाएको बताएका छन् । ‘मैले गोर्खा ब्रुअरीको प्रेसका तर्फबाट बोल्न पनि मिल्दैन,’ उनले भने ।

पर्पलहेजले तोड्यो गोर्खा ब्रुअरीसँगको सम्झौता

ठमेलको पर्पलहेजले गोर्खा ब्रुअरीसँग सन् २०१८ का लागि सम्झौता नगरेको जनाएको छ । रेस्टुराँले ग्राहकको मागको आधारमा सबै बियर बिक्री गर्ने जनाएको हो । सम्भवतः नेपालमा सबैभन्दा बढी बियरबिक्री हुने पर्पलहेजमा अहिले सबै ब्रान्डका बियर उपलब्ध रहेको रेस्टुराँको भनाइ छ । गोर्खा ब्रुअरीले सन् २०१७ मा पर्पलहेजसँग अरु बियर नबेच्न वार्षिक ८० लाख रुपैयाँ दिएको थियो ।

पर्पलहेजमा अहिले टुबोर्ग, कार्ल्सबर्ग, सानमिगेल, गोर्खासँगै किङफिस, वार्सटाइनर, अर्ना, एभरेस्ट, शेर्पा, नेपाल आइसलगायत बियर पनि उपलब्ध भएको रेस्टुराँले जानकारी दिएको छ ।

हामी अब नयाँ सम्झौता गर्दैनौं : त्रिसरा रेस्टुरेन्ट

पछिल्लो पटक युवापुस्तामाझ चर्चित हो— रेस्टुरेन्ट ब्रान्ड त्रिसरा । लाजिम्पाटस्थित त्रिसरामा शुक्रबार र शनिबार युवाहरुको बाक्लो भीड लाग्छ । तर यही रेस्टुराँमा गोर्खा ब्रुअरीका उत्पादनबाहेक अरु बियर उपलब्ध छैनन् । ब्रुअरीसँग वर्षको २० लाख रुपैयाँमा सम्झौता गरेपछि त्रिसराले अरु ब्रान्ड बेच्न पाएको छैन । यसै विषयमा त्रिसराका सञ्चालकमध्येका एक शोभनवीर मालाकारसँग क्यापिटल नेपालले गरेको छोटो कुराकानी :

त्रिसरा युवामाझ पपुलर छ । तर बियर अर्डर गर्दा किन कस्टुमरले खोजेको ब्रान्ड पाइँदैन ?

गोर्खा ब्रुअरीले हामीसँग सम्झौता गरेको छ । त्यो सम्झौताअनुसार वार्षिक विभिन्न कार्यक्रममा कम्पनीले हामीलाई सहयोग गर्छ । त्यसैले उसको उत्पादन यहाँ उपलब्ध हुन्छ ।

तपार्इंहरुले वार्षिक २० लाख लिएर गोर्खा ब्रुअरीबाहेक अरुको बियर नबेच्ने गर्नुभएको छ, यो त उपभोक्ता छनोटको अधिकारविपरीत भएन र ?

२० लाख होइन, १७ लाख हो । कम्पनीले रेस्टुरेन्टलाई गरेको सहयोगका आधारमा हो । हामीले न्यू इयर, क्रिसमस, होलीजस्ता पर्वमा गरेको इभेन्टमासहयोग गरेका आधारमा उनीहरुले पैसा दिने हो । यस्तो सम्झौता कुनै न कुनै ब्रान्डले कुनै न कुनै रेस्टुराँसँग गर्दै आएका छन् । जस्तो कि त्रिसरामै रुस्लानसँगको सम्झौता पनि छ । कम्पनी र रेस्टुराँसँगको सम्झौता हुँदा एक्सक्लुसिभ एग्रिभेन्ट भन्ने हुन्छ । सोही एग्रिभेन्टकै आधारमा अरु ब्रान्ड बेच्न पाइँदैन ।

भनेपछि अब आफैंमा ठूलो ब्रान्ड हुँदै गएको त्रिसरामा उपभोक्ताले खोजेको बियर पाइँदैन ?

त्रिसरा आउने ग्राहकले अरु ब्रान्डका बियर पनि माग्नुहुन्छ । अब हामी चाँडै अरु ब्रान्डका बियर राख्दै छौं । अब गोर्खा ब्रुअरीसँगको सम्झौता सकिन लागेको छ । त्यो सकिएपछि नयाँ सम्झौता हुँदैन । अहिले बियरका विभिन्न ब्रान्ड आएका छन् । डोमेस्टिकदेखि अन्तर्राष्ट्रिय ब्रान्डहरुको प्रतिस्पर्धा छ । ग्राहकहरुको माग पनि फरकफरक छ । त्यसैले सबै ब्रान्डका बियरहरु त्रिसरामा उपलब्ध हुन्छन् ।