तामाकोसी जलविद्युत् आयोजना, हाइड्रो–मेकानिकलको जिम्मा फेर्ने तयारी

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानले ठेक्का तोड्दा समय लाग्ने भएकाले त्यही कम्पनीमार्फत् अर्कै कम्पनीबाट काम गराउने तयारी भइरहेको बताए ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हाइड्रो–मेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकाले समयमै काम नगरेपछि अर्कै कम्पनीलाई दिने तयारी भइरहेको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानले ठेक्का तोड्दा समय लाग्ने भएकाले त्यही कम्पनीमार्फत् अर्कै कम्पनीबाट काम गराउने तयारी भइरहेको बताए । ‘टेक्सम्याकाले काम ढिलाइ गर्दा आयोजना निर्माण समय नै लम्बिने सम्भावना बढ्यो,’ आयोजनाका प्रवक्ता डा न्यौपानेले भने, त्यही कम्पनीमार्फत् अर्को कम्पनीलाई कामको जिम्मेवारी दिन लागिएको हो ।’

दोलखाको लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाट विद्युत् क्षमताको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो पुससम्म पहिलो युनिट विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको आयोजनाको हाइड्रो–मेकानिकलको जिम्मा लिएको भारतीय कम्पनीले काम ढिलाइ गरेपछि चौतर्फी विरोध भएको थियो ।

केही समयअघि आयोजनाको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली एवम् ऊर्जामन्त्री वर्षमान पुन तामाकोसी पुगेका थिए । आयोजनास्थलमा पुगेका प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुनले भारतीय कम्पनीले जिम्मा लिएको हाइड्रो–मेकानिकलको पनि चासो राखेका थिए ।

आयोजनाका प्रवक्ता डा न्यौपानेका अनुसार टेक्सम्याकाले आयोजनाको ३ सय ७३ मिटर माथिल्लो भर्टिकल साफ्ट र ३ सय ३२ मिटर लामो तल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गर्ने जिम्मा पाएको थियो । तर हालसम्म टेक्सम्याकाले पेनस्टक पाइप जडानको ५० प्रतिशत काम सक्नुपर्नेमा आवश्यक सामग्री समेत निर्माणस्थलमा नपुगेको जनाएको छ ।