दर्ता भएका उद्योगको अनुगमनमा मात्र सरकारको ‘फोकस’

आम उपभोक्ताले दर्ता भएका दुग्ध उद्योगबाट भन्दा पनि दर्ता नभएका डेरी पसलबाट बढी मात्रामा दूध किनेर उपभोग गर्छन् । तर, त्यही डेरी पसलबाट नै उपभोक्ताले गुणस्तरहीन दूध प्रयोग गर्ने गरेकाले त्यस्ता बिना दर्ताका डेरी पसलको अनुगमन, गुणस्तर परीक्षण नहुँदा उपभोक्ता ठगिएका हुन् ।

सरकारले दर्ता नभई सञ्चालित डेरी उद्योग तथा पसलहरुको अनुगमन नगर्दा उपभोक्ताले गुणस्तहीन दूध उपभोग गर्न बाध्य भएका छन् । लामो समयदेखि दर्ता भएका दुग्ध प्रसोधन केन्द्र तथा उद्योगहरुलाई मात्रै अनुगमनको तारो बनाउँदै आएपनि दर्ता नभई सञ्चालनमा आएका डेरी पसलहरुको अनुगमन हुन सकेको छैन ।

आम उपभोक्ताले दर्ता भएका दुग्ध उद्योगबाट भन्दा पनि दर्ता नभएका डेरी पसलबाट बढी मात्रामा दूध किनेर उपभोग गर्छन् । तर, त्यही डेरी पसलबाट नै उपभोक्ताले गुणस्तरहीन दूध प्रयोग गर्ने गरेकाले त्यस्ता बिना दर्ताका डेरी पसलको अनुगमन, गुणस्तर परीक्षण नहुँदा उपभोक्ता ठगिएका हुन् । देशभर अहिले भन्डै ८ सयभन्दा बढी साना खालका डेरी पसलहरु बिना दर्ता सञ्चालनमा छन् । त्यस्ता अनौपचारिक रुपमा बिक्री गर्ने डेरी पसलबाट दैनिक ४ लाख लिटरभन्दा बढी दूध उपभोक्ताले किन्ने गरेका छन् । बिना दर्ता सञ्चालित डेरी पसलको अनुगमनतर्फ विभागको कुनै चासो देखिँदैन ।

हाल मुलुकमा ४० ओटा डेरी उद्योग औपचारिक दर्ता भई सञ्चालनमा छन् । त्यस्ता डेरी उद्योगले दैनिक झन्डै ७ लाख लिटर दूध आपूर्ति गर्ने गरेको डेरी उद्योग सङ्घका व्यवस्थापक केपी बास्तोलाले जानकारी दिए । उनले बिना दर्ताका त्यस्ता डेरी पसलको अनुगमन नभएकाले उपभोक्ता ठगिने गरेको बताए । कतिपय उपभोक्तामा प्याकेटको दूध मात्रै गुणस्तरीय हुन्छ भन्ने भ्रम रहेकाले त्यसतर्फ पनि उपभोक्ता सचेत बन्नुपर्ने उनले औंल्याए । विभागको अनुज्ञापत्र नलिई आफूखुसी हरेक डेरी पसलले दैनिक ५ देखि २ हजार लिटरसम्म बिक्री गर्दै आएका छन् ।

केही समय पहिले गरिएको अनुगमनमा दूधमा कोलिफर्म फेला परेपछि दूधको बिक्रीमा समेत असर देखिन थालेको छ । केही समयअघि दैनिक एक लाख २० हजार लिटर दूध आपूर्ति गर्दै आएको दुग्ध विकास संस्थानले अहिले दैनिक ८० हजार लिटर मात्रै आपूर्ति गरिरहेको छ ।

अहिले काठमाडौं उपत्यकामा दैनिक ५ लाख लिटर दूध दर्तावाला डेरी उद्योगबाट आपूर्ति हुने गरेको छ । उपत्यकामा विभागको अनुज्ञापत्र नलिएका डेरी पसलबाट दैनिक दुई लाख लिटर दूध आपूर्ति हुने गरेको डेरी उद्योग महासङ्घका निवर्तमान अध्यक्ष प्रदीप महर्जनले बताए । उनले विभागबाट दर्ता भएका उद्योगलाई मात्र अनुगमन गरेको तथा दर्ताबिना खुलेका ससाना पसलमा अनुगमन नगरेको आरोप लगाए । आम उपभोक्ताले पनि डेरी उद्योगमा आउने खुल्ला दूधभन्दा प्याकेटको दूध तुलनात्मक रुपमा गुणस्तरीय हुन्छ भन्ने मान्यता हटाउनुपर्ने उनको भनाइ छ ।

बिना दर्ता सञ्चालनमा आएका त्यस्ता दूध पसलबाट नै लापरबाही भएकाले त्यसतर्फ कदम चालिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए । उनले उपभोक्ताबाट गुनासो आएकाले त्यसतर्फ विभागले अनुगमनमा तीव्रता दिने बताए । ‘विभागबाट दर्ता भएका डेरी उद्योगको अनुगमन गर्दै आएका छौँ,’ उनले भने, ‘दर्ता नभएका ससाना डेरी उद्योगबाट उपभोक्तालाई गुणस्तरहीन दूध बिक्री भइरहेको गुनासो आएको छ । सबै पक्षको समन्वयमा त्यस्ता दूध पसलको अनुगमन गर्दैछौं ।’ उनले यससम्बन्धी मन्त्रालय र विभागसँग समन्वय गरी सबै उद्योगलाई अनुगमनको दायरामा ल्याइने बताए । विगतमा दर्ता नभएका डेरी उद्योगमाथि किन अनुगमन गर्नुहुन्न भन्ने प्रश्नमा उनले भने, ‘अनुगमन गर्ने भन्ने कुरा नभएको होइन । नियमित नभएकाले मात्र समस्या भएको हो ।’

सरकारले डेरी उद्योग तथा प्रशोधन केन्द्रमा गरेको अनुगमनमा गुणस्तहीन दूध बिक्री गरेको भन्दै केही डेरी उद्योग सिलबन्दी गरेकोे थियो । गत जेठ ३० गते कृषिमन्त्री चक्रपाणि खनालले उपत्यकाका २४ दुग्ध प्रशोधन उद्योगहरुको अनुगमन गरेका थिए । अनुगमनका क्रममा प्याकेटमा उत्पादन मिति स्पष्ट नदेखिएको तथा स्तरीय गोदाममा भण्डारण नगरिएका तीन ओटा दुग्ध प्रशोधन उद्योगमा मन्त्रालयले सिलबन्दी गरेको थियो ।