खुला दूध बेच्ने डेरीको दर्ता अनिवार्य गर्न स्थानीय सरकारलाई सर्कुलर

मापदण्ड विपरीत उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्ने जुनसुकै डेरी उद्योगलाई कारबाही गरिने विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए । उनले दर्ता नभई सञ्चालित सबै दूध पसललाई अनिवार्य दर्ता प्रक्रियामा ल्याउन स्थानीय सरकारसँग समन्वय गर्ने बताए ।

सरकारले बिना दर्ता सञ्चालनमा आएका डेरी पसलको दर्ता अनिवार्य गर्ने भएको छ । लामो समयदेखि उपभोक्तालाई गुणस्तरहीन दूध बेच्दै आएका डेरी पसललाई अनुगमन गरिने र स्थानीय तहबाटै दर्ता अनिवार्य गर्न लागिएको हो । खासगरी दर्ता भएका ठूला दूध प्रशोधन केन्द्र तथा डेरी उद्योगलाई मात्र अनुगमन गर्ने गरेकाले ससाना डेरी उद्योगहरुबाटै उपभोक्ताले गुणस्तरहीन दूध उपभोग गर्दै आएको समाचारबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चासो देखाएको हो ।

उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्धित रहेको गुणस्तरीय दुध उत्पादन, प्रशोधन र उपभोग कसरी गर्ने भन्ने विषयमा नियमित अनुगमन गरिने भएको छ । मापदण्ड विपरीत उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्ने जुनसुकै डेरी उद्योगलाई कारबाही गरिने विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए । उनले दर्ता नभई सञ्चालित सबै दूध पसललाई अनिवार्य दर्ता प्रक्रियामा ल्याउन स्थानीय सरकारसँग समन्वय गर्ने बताए । ‘गुणस्तरहीन दूध बिक्री गर्ने डेरी उद्योगको अनुगमन भइरहेको छ,’ उनले भने, ‘उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी गुणस्तरहीन दूध बिक्री गर्ने सबै उद्योगलाई कानुनी दायरा ल्याउँछौ ।’

उनले दर्ता नभएका ससाना डेरी पसलहरुका लागि आचारसंहिता बनाएर असल उत्पादन अभ्यासमा जिम्मेवार बनाइने बताए । त्यसका लागि हरेक स्थानीय सरकारसँग समन्वय गरी अनिवार्य रुपमा दूध सङ्कलन परीक्षण, लेबलिङ र अनिवार्य दर्ता गर्न जोड दिइने उनले बताए । आगामी चार महिनाभित्र ससाना डेरी पसललाई अनिवार्य रुपमा आचारसंहिता पालन गर्न लगाउने र दर्ता प्रक्रिया अनिवार्य गरिने उनको भनाइ छ । विभागले हरेक स्थानीय सरकारलाई दर्ता नभई खुल्लम खुला दूध बेच्ने डेरी पसलले आचारसंहिता पालन गराउन आग्रह गरेको छ । आगामी एक महिनाभित्र दर्तावालादेखि ससाना डेरी पसलका लागि आचारसंहिता बनाएर लागू गरिने भएको हो ।

उपभोक्ताले प्रत्यक्ष रुपमा उपभोग गर्ने दूध सङ्कलन केन्द्रको परीक्षण, प्रशोधन र उत्पादन मिति तथा लेबलिङको नियमित अनुगमन विभागले चुस्त बनाउनुपर्ने डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले बताए । उनले उपत्यका भित्रिने ५ ओटा नाकामा कच्चा दूधको गुणस्तर जाँच गर्न, सङ्कलन केन्द्रको परीक्षण, गुणस्तरको मापदण्ड निर्धारण लगायतका विषयमा आचारसंहिता बनाएर अनुगमन गर्न डेरी उद्योगबीच सहमति भएको बताए । गुणस्तरयुक्त दूध कुन हो, कहिलेसम्म खान हुन्छ, कुन ब्राण्डको दूध उपभोग्य छ भन्नेबारे उपभोक्ता आफैँ सचेत बन्नुपर्ने उनको जोड छ ।
केही समयअघि डेरी उद्योगको अनुगमनमा दूधमा कोलिफर्म भेटिएको र विभिन्न किसिमले गुणस्तरहीन दूध बिक्री गर्ने ३ डेरी उद्योगलाई सरकारले सिलबन्दी गरेको थियो ।

मुलुकभर झन्डै ९ सयभन्दा बढी बिना दर्ताका डेरी पसल छन् । त्यस्ता खुला रुपले दूध बिक्री गर्ने ससाना डेरी पसलबाट दैनिक ४ लाख लिटर दूध उपभोक्ताले किनेर उपभोग गर्ने गरेका छन् । काठमाडौँ उपत्यकामा मात्रै ५ सयभन्दा बढी दर्ता नभएका डेरी पसल छन् । दर्ता नभई सञ्चालनमा आएका डेरी पसलबाट बिक्री हुने दूधको अनुगमन अहिलेसम्म हुन नसक्दा उपभोक्ता ठगिँदै आएका हुन् ।