बिना दर्ता सञ्चालित डेरीले बेच्छन् दैनिक ८ लाख लिटर दूध, गुणस्तर परीक्षण कसले गर्ने ?

गुणस्तर परीक्षणको जिम्मा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म बिना दर्ता सञ्चालित डेरीले बेच्ने दूधको गुणस्तर मापन गरेको छैन । गुणस्तर परीक्षण गर्ने जिम्मा विभागको हो ।

केही समयदेखि डेरी उद्योगमा दूधको गुणस्तर त्यत्ति राम्रो नभेटिएका बेला देशभरका आम उपभोक्ताले बिना दर्ता सञ्चालित डेरी पसलबाट दैनिक ८ लाख लिटर गुणस्तरहीन दूध उपभोग गर्ने गरेको पाइएको छ ।

मुलुकभर झन्डै ८ सयभन्दा बढी बिना दर्ता सञ्चालित डेरी उद्योग छन् । काठमाडौं उपत्यकामा मात्रै दर्ता नभएका ४ सयभन्दा बढी डेरी पसल छन् ।
उपत्यकामा बिना दर्ता सञ्चालित डेरी पसलबाट मात्रै दैनिक ५ लाख लिटर दूध बिक्री हुँदै आएको छ । यसको गुणस्तर आजसम्म परीक्षण गरिएको छैन । बिना दर्ता सञ्चालित डेरीले औसतमा दैनिक एक हजार लिटर दूध आपूर्ति गर्दै आएका छन् । उपत्यकाभित्रै काभ्रे र ललितपुरबाट ठूलो परिमाणमा दूध आपूर्ति हुने गरेको छ ।

गुणस्तर परीक्षणको जिम्मा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म बिना दर्ता सञ्चालित डेरीले बेच्ने दूधको गुणस्तर मापन गरेको छैन । गुणस्तर परीक्षण गर्ने जिम्मा विभागको हो ।

बिना दर्ता खोलिएका ससाना डेरी पसलको अनुगमन नहुँदा अहिले आम उपभोक्ताले गुणस्तरहीन दूध उपभोग गर्दै आएका छन् । दर्ता भएका ठूला उद्योगमा मात्रै अनुगमन गर्ने खाद्य विभागले अहिलेसम्म पनि कुनै चासो देखाउन सकेको छैन । उपत्यका क्षेत्रभित्रका दर्तावाला ठूला डेरी उद्योगलाई मात्रै टार्गेट गरी अनुगमन गरिरहँदा आम उपभोक्ता ठगिदैँ आएका हुन् ।

बिना दर्ता साना डेरी पसलले आफ्नो ब्रान्ड, लेबलिङ, उत्पादन मिति स्पष्ट नलेखी बिक्री वितरण गर्दा उपभोक्ता ठगिएको डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । आफूहरुले किसानले उत्पादन गरेको दूधको गुणस्तर जाँच परीक्षण गरेर मात्र आपूर्ति गरिरहेको बताए । ‘दर्ता नभएका डेरी पसलले पनि मापदण्डअनुसार ब्रान्ड, उत्पादन मिति, लेबलिङ गरेर दूध बिक्री गर्नुपर्छ’ उनले भने, ‘त्यस्ता ससाना डेरी पसलको अनुगमन हुनुपर्छ ।’

दूधमा गुणस्तर कायम गर्न ठूला डेरी उद्योगहरुमा नियमित अनुगमन गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । ठूला डेरी उद्योगबाटै अरु ससाना डेरी पसलमा दूध आपूर्ति हुने भएकाले पहिलो चरणमा त्यस्ता डेरी उद्योगको अनुगमनलाई प्राथमिकता दिइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । उनले दोस्रो चरणमा बिना दर्ताका डेरी उद्योगलाई आचारसंहिता सहितको निर्देशिका बनाएर अनुगमन गरिने बताए । उनले सबैखालका ठूला÷ससाना खुला डेरी पसलहरुको अनुगमन गर्न विभागले मात्रै सम्भव नहुने भएकाले प्रथमतः दूधको गुणस्तरमा उपभोक्ता आफैँ पनि सचेत बन्नुपर्ने सुझाव दिए ।

कृषि मन्त्रालय, खाद्य विभाग तथा पशुपक्षी विभागको समन्यवमा पछिल्लो समय उपत्यकाभित्रका ठूला दूध प्रशोधन केन्द्र तथा डेरी उद्योगको अनुगमन भइरहेको छ । गत जेठ ३० गते कृषिमन्त्री चक्रपाणि खनालको संयोजकत्वमा उपत्यकाभित्रका ३६ डेरी उद्योग तथा प्रशोधन केन्द्रमा गरिएको अनुगमनमा गुणस्तरहीन दूध उत्पादन गर्ने ३ डेरी उद्योगमा सिलबन्दी गरिएको थियो ।