उपत्यकामा दुई तिहाइ पानी उद्योग मापदण्ड विपरीत

केही पानी उद्योगमा भने ‘शुद्ध पिउने पानी, प्रशोधित पानी’ भनेर स्पष्ट लेखिएका बोतल तथा जारको पानीमा हानिकारक जीवाणु तथा विषादीको प्रयोग हुने गरेको अनुगमनमा फेला परेको हो ।

काठमाडौं उपत्यकामा झन्डै दुई तिहाइ पानी उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका पानी उद्योगको अनुगमन गर्दा अधिकांश पानी उद्योग मापदण्ड विपरीत रहेको पाइएको हो ।

उपत्यकाभित्रका २५ ओटा पानी उद्योगमा गरिएको अनुगमनमा १६ ओटा मापदण्ड विपरीत पाइएको हो । उपत्यकाभित्र सञ्चालित पानी उद्योगले गुणस्तरको मापदण्ड कायम नगरी बिक्री गरेको, नवीकरण नगरेको, पानी प्रशोधन नगरेको तथा पानीमा हानिकारक जीवाणु फेला परेको थियो ।
मापदण्ड विपरीत सञ्चालित पानी उद्योगलाई विभागले बन्द गरेको छ । केही पानी उद्योगमा भने ‘शुद्ध पिउने पानी, प्रशोधित पानी’ भनेर स्पष्ट लेखिएका बोतल तथा जारको पानीमा हानिकारक जीवाणु तथा विषादीको प्रयोग हुने गरेको अनुगमनमा फेला परेको हो ।

विगतदेखि नै पानी उद्योगलाई गुणस्तर मापदण्ड कायम गर्न ‘स्वच्छ पानी निर्देशिका’ स्वीकृत भई लागू भइसकेको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए । कतिपय पानी उद्योग नवीकरण नगरेका र अनुमति लिएकाले पनि गुणस्तरको मापदण्ड पूरा नगर्दा उपभोक्ताले गुणस्तरहीन पानी प्रयोग गर्नुपरेको उनको भनाइ छ । उनले पानी उद्योगको नियमित अनुगमन गर्ने र केही समयपछि गुणस्तरीय पानी मात्रै बजारमा आउने वातावरण मिलाइने बताए । ‘निरन्तर पानी उद्योगको अनुगमन गर्दै आएका छौँ,’ उनले भने, ‘निर्देशिका लागू भएको र अब बजारमा गुणस्तरीय पानी मात्रै बिक्री हुने वातावरण मिलाउँछौँ ।’

हाल मुलुकभर ४ सय ५० पानी उद्योगले विभागबाट अनुमतिपत्र लिएका छन् । केही उद्योगले नवीकरण नगरेको विभागले जनाएको छ । निर्देशिका लागू भएपछि पानी उद्योग अनिवार्य नवीकरण हुनुपर्ने, पिउने पानीको न्यूनतम गुणस्तर मापदण्ड कायम हुनुपर्ने, पानी प्रशोधन हुनुपर्ने, मूल्य, ब्रान्ड, गुणस्तर, तौल र पानी परीक्षण अनिवार्य हुनुपर्ने प्रावधान छ । मुलुकभर पानी प्रशोधन, शुद्धीकरण तथा कस्तो पानी पिउने बारेमा सचेतना तथा प्रशिक्षणका कार्यक्रम गर्ने विभागको योजना छ ।

सरकारले पानी उद्योगको गुणस्तर मापदण्डअनुरुप नभएका उद्योगहरुको अनुगमन गरी कारबाही नगर्दा समस्या दोहोरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । सरकार आफै जिम्मेवार बनेर पानी उद्योगलाई अनुगमन तथा नियमन गर्नबाट चुकेको उनले आरोप लगाए । ‘पानी उद्योगको गुणस्तर कायम गर्न सरकार जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘निर्देशिका र गुणस्तर मापदण्ड कार्यान्वयन गराउने निकाय त जिम्मेवार हुनुपर्ने हो, तर सरकारको त्यसतर्फ ध्यान नै जाँदैन ।’