उपभोग्य वस्तुको मूल्यवृद्धिले महँगियो भान्सा

उपभोग्य वस्तु खाने तेल पहिलाभन्दा प्रतिलिटर १५ देखि २५ रुपैँयासम्म बढेको छ । यसअघि एक सय २० रुपैँया प्रतिलिटरमा पाइने खाने तेलको मूल्य अहिले एक सय ३० देखि एक सय ७० रुपैँयासम्म विक्री हुँदैछ ।

गोरखा घर भई नयाँ बजारमा डेरा गरी बस्ने सरिता कुँवर दैनिक एकै खुद्रा पसलबाट सामान खरिद गर्छिन् । पसलबाट खरिद गर्ने सबैजसो उपभोग्य वस्तुको मूल्य बढेको उनी बताउँछिन् । ढाड सेक्ने गरी भएको मूल्यवृद्धि हुनु सरकारकै कमजोरी रहेको उनी स्वीकार्छिन् । ‘देशमा लोकतन्त्र आएपछि सेवा सुविधा उपभोग गर्न पाए पनि कुनै परिवर्तन महसुस गर्न पाएनौँ,’ उनी थप्छिन्, ‘सबै वस्तुको मूल्य महँगो छ । सधैं हामी उपभोक्ता नै मरिरहेका छौं । यसमा सरकारकै कमजोरी छ ।’ उनीमात्रै होइन काठमाडौं उपत्यकामा सामान्य पेशा गरी जीवन निर्वाह गर्ने उपभोक्ताहरु यतिबेला मारमा परेका छन् । अहिले दैनिक उपभोग्य वस्तुहरुको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको छ ।

सरकारले आगामी वर्ष २०७५/०७६ को बजेटमा भन्सारदर बढाएपछि ठूला व्यापारीले अस्वाभाविक रुपमा मूल्य बढाएका हुन् । जेठ १५ मा बजेट आएपछि ठूला व्यापारीले गोदाममा थन्क्याएर राखेका मालसामानको मूल्य पनि यही बेला बढाउने मौका पाएका हुन् ।

बजारमा उपभोग्य वस्तु दाल, चामल, तेल, चिनी, फलफूल तथा तरकारीजन्य वस्तुको भाउ अस्वाभाविक रुपमा बढेको हो । आम नागरिकले उपभोग गर्ने सामानको मूल्य बढेपछि उपभोक्ताको भान्सा पनि महँगो बन्दै गएको छ । उपभोग्य वस्तु खाने तेल पहिलाभन्दा प्रतिलिटर १५ देखि २५ रुपैँयासम्म बढेको छ । यसअघि एक सय २० रुपैँया प्रतिलिटरमा पाइने खाने तेलको मूल्य अहिले एक सय ३० देखि एक सय ७० रुपैँयासम्म विक्री हुँदैछ । त्यसैगरी दालको मूल्य पनि ८ देखि १८ रुपैँयासम्म वृद्धि भएको छ । बजेट अघि ९० रुपैँयामा पाइने दाल अहिले एक सय १० देखि एक सय २० रुपैयाँ पुगेको छ । अन्य आयातित वस्तुको भाउ पनि ५ देखि १० प्रतिशतले बढेका छन् । चाउचाउ, मिठाई, तरकारी, फलफूल लगायतका वस्तुको भाउ पनि बढेको छ ।

बजेटमा आयात हुने दैनिक उपभोग्य वस्तुको मूल्यमा २० देखि ४० प्रतिशत अभिवृद्धि कर(भ्याट) फिर्ता सुविधा कटौती भएपछि त्यसको लाभ उठाउन ठूला व्यवसायीले मनपरी रुपमा वस्तुको मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीले बताएका छन् ।

सरकारले बजेटमा भन्सारदर वृद्धि गरेकाले स्वाभाविक रुपमा आयातित वस्तुको मूल्य बढेको नेपाल खुद्रा व्यापार सङ्घका प्रमुख पवित्रकुमार बज्राचार्यले बताए । सरकारले उपभोग्य वस्तुको भन्सारदर ५ देखि १० प्रतिशतसम्म बढाएकाले पनि स्वाभाविक रुपले वस्तुको भाउ बढेको उनको भनाइ छ । ‘सङ्घीयता लागू भयो । प्रशासनिक खर्च बढ्ने भयो भन्ने सबैलाई थाहा छ,’ उनले भने, ‘हाम्रो भन्सारदर कति बढाउने योजना बनाउनुप¥यो नि ।’ बजेटमा नै वस्तुको मूल्य बढ्ने कर समावेश भएकाले अहिले बजारभाउ बढेको उनको तर्क छ ।

यता उपभोग्य वस्तुको मूल्यवृद्धि अस्वाभाविक बढ्दा पनि सरकारले हस्तक्षेप नगरेकाले व्यवसायी तथा व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईँको आरोप छ । ‘ठूला व्यापारीले मनपरी मूल्य बढाए पनि सरकार मौन छ, र कुनै हस्तक्षेप गरेको छैन,’ उनले भने, ‘यसले ठूला व्यापारी मोटाउने र उपभोक्ताको ढाड सेक्ने अवस्था सरकार आफैले सिर्जना गरेको हो ।’ उनले मूल्य समायोजन गर्न सरकारले कुनै चासो नदिँदा महँगी अझै बढ्न सक्ने सम्भावना रहेको बताए ।

बजेट सार्वजनिक भएसँगै ठूला होलसेलर र सप्लायर्स पसलहरुको अनुगमन गरी भन्सारदर बढ्यो भन्ने बहानामा मूल्यसूची, बिलबीजक नराख्ने पसलहरुलाई कारबाही गरिसकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । उनले झन्डै ४ हजार ८ सय ठूला होलसेलमा अनुगमन गरिएको तथा १२ जना ठूला होलसेलर व्यापारीलाई कारबाही समेत गरिएको बताए । उनले ५–७ होलसेलर पसल यसअगाडि नै सिलबन्दी गरिसकिएको जानकारी दिए । ‘हाम्रो अनुगमनले होलसेलर व्यापारी तर्सिएका छन्,’ उनले भने, ‘हामी सुध्रिन्छौं भन्ने लाइनमा उनीहरु आएपछि केही सहज पक्कै हुन्छ ।’ उनले विभागले नियमित रुपमा बजार अनुगमनलाई अगाडि बढाएको र आगामी दिन अझै तीव्रताका साथ अनुगमन गरिने बताए ।

यसअघि अर्थमन्त्रालयसहित आपूर्ति विभागको एक टोलीले बजार अनुगमन गरेको थियो ।