साउनभित्र दूधको गुणस्तर कायम गर्न निर्देशिका आउँदै

डेरी उद्योग, दूध सङ्कलन केन्द्र, चिस्यान केन्द्र, खुला डेरी पसल, वितरण तथा ढुवानी केन्द्रमा हुने गुणस्तरलाई थप चुस्त दुरुस्त बनाउन निर्देशिका ल्याउन लागिएको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए ।

विगतदेखि मुलुकका विभिन्न डेरी उद्योगहरुले गुणस्तरहीन दूध बेच्दै आएको समाचार बाहिर आएसँगै सरकारले दूधको गुणस्तर कायम गर्न गुणस्तर निर्देशिका—२०७५ ल्याउने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी भदौदेखि लागू हुने गरी साउनभित्रै निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याउने भएको हो ।

डेरी उद्योग, दूध सङ्कलन केन्द्र, चिस्यान केन्द्र, खुला डेरी पसल, वितरण तथा ढुवानी केन्द्रमा हुने गुणस्तरलाई थप चुस्त दुरुस्त बनाउन निर्देशिका ल्याउन लागिएको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए । ‘सबै सरोकारवाला निकाय, स्टेकहोल्डर, आम उपभोक्ता, उद्योग र सङ्कलन केन्द्रसँग समन्वय र छलफल गरी स्पष्ट रुपमा निर्देशिका बन्दैछ,’ कर्णले भने, ‘साउन मसान्तसम्म निर्देशिका जारी भई भदौदेखि स्ट्रोङ्ली लागू गर्छौं ।’ उनले उक्त निर्देशिका र आचारसंहिता पालना नगर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जुनसुकै उद्योग तथा डेरी पसललाई खाद्य ऐनअनुसार कारबाही गरिने बताए ।

खुला रुपमा दूध बेच्ने पसललाई पनि अनिवार्य रुपमा विभागमा दर्ता भई सञ्चालनमा आउन उनले आग्रह गरेका छन् । निर्देशिका जारी भएपछि निरन्तर अनुगमन गर्ने, निर्देशिका पालना गरे÷नगरेको हेर्ने, अनिवार्य दर्ता गरेको हुनुपर्ने, किसानदेखि उद्योग, प्रशोधन केन्द्र, ढुवानी केन्द्र, प्रशोधनकर्ता, बिक्री पसलसमक्ष पुगेर अनुगमन गरी पूर्ण रुपमा सुधार गर्नेतर्फ विभागले कुनै कसर बाँकी नराख्ने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीको भनाइ छ ।

गत जेठ ३१ गते कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’सहित मन्त्रालय र खाद्य विभागसँग काठमाडांै उपत्यकाभित्रका डेरी उद्योगहरुमा गरिएको अनुगमनमा गुणस्तरहीन तीन ओटा डेरी उद्योग सिलबन्दी गरिएको थियो । त्यसपछि पनि उपत्यकाभित्र २५ ओटा डेरी पसलमध्ये २३ ओटामा गुणस्तर परीक्षण नगरिएको र निर्देशिका पालना नगरी गुणस्तरहीन दूध बिक्री भइरहेको विभागले गरेको अनुगमनमा भेटिएको थियो ।

हाल मुलुकभर ३९ ओटा डेरी उद्योगमात्रै दर्ता भई सञ्चालनमा छन् । तर, खुला रुपमा डेरी पसल सञ्चालन गरी दूध बेच्ने पसल कति छन् भन्ने तथ्याङ्क पाउन मुस्किल छ । मुलुकभर एक हजारभन्दा बढी डेरी पसल बिना दर्ता खुला रुपमा सञ्चालनमा रहेको उपभोक्ता अधिकारकर्मीको अनुमान छ । उपत्यकामा मात्रै ४ सयदेखि ६ सय ओटा बिना दर्ताका खुला डेरी पसल भएको अधिकारकर्मी बताउँछन् ।

केही समयअघि विभागले डेरी उद्योग, खुला डेरी पसल र दुग्ध विकास संस्थानमा समेत अनुगमन गर्दा केही डेरी उद्योग तथा पसलहरुमा गुणस्तरको मात्रा नपाइएपछि सिलबन्दी गरेको थियो ।