कालिमाटीको बेथिति हटाउन ५ सदस्यीय कार्यदल गठन

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालको संयोजकत्वमा गठित उक्त समितिको सदस्यहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीसहित गृह मन्त्रालयका सहसचिव, वाणिज्य विभागका महानिर्देशक, नेपाल प्रहरी र कालिमाटी फलफुल तथा तरकारी विकास समितिका निर्देशक रहेका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको कार्टेलिङ तथा बेथिति नियन्त्रण गर्न ५ सदस्यीय कार्यदल समिति गठन भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालको संयोजकत्वमा गठित उक्त समितिको सदस्यहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीसहित गृह मन्त्रालयका सहसचिव, वाणिज्य विभागका महानिर्देशक योग्रेन्द्र गौचन, नेपाल प्रहरी र कालिमाटी फलफुल तथा तरकारी विकास समितिका निर्देशक तेजेन्द्र प्रसाद पौडेल छन् ।

किसान र आम उपभोक्तालाई ठग्ने तरकारी व्यापारी र बिचौलियाको अन्त्य गरी नियमसँग हिसावले व्यापार तथा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न गठित कार्यदलले कार्ययोजना बनाउने वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनले कालिमाटी बजारलाई व्यवस्थित गराउन अनधिकृत स्टल होल्ड गरी हस्तान्तरण भए नभएको, अस्वाभाविक मल्य, विषादी नियन्त्रण, व्यवसाय दर्ता र बिलबीजक लिएपछि मात्रै व्यवसायीले कारोबार गर्नुपर्ने विषयले कार्यदलको प्रतिवेदन टुङ्गो लगाउने बताए । ‘कालिमाटीमा देखिएको बेथिति तथा कार्टेलिङ अन्त्य गर्दै व्यवस्थित हुनुपर्छ भन्ने हामी चाहन्छौं,’ उनले भने, ‘कार्यदल समितिले त्यस विषयमा टुङ्गो लगाउने छ । किसान र व्यापारीलाई मार्ने चाहना भने विल्कुल होइन ।’

कम्तीमा पनि किसानबाट खरिद गरिएको र बिक्री गरिएको लगत मूल्य नराखी तरकारी तथा फलफूलको अस्वाभाविक मूल्य राखेर तोकिएभन्दा बढी नाफा कमाउने व्यापारीहरुको दर्ता खारेज गर्ने गरी प्रक्रिया थालिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तथा कार्यदलका सदस्य तेजबहादुर सुवेदीले जानकारी दिए । ‘कम्तीमा व्यापारीहरुले किसानबाट खरिद गरेको वस्तुको मूल्य र बिक्री गर्दाको लगत राखून् भन्ने हो,’ उनले भने, ‘अटेरी गर्ने व्यापारीको दर्ता खारेज गरी अहिले कारोबार गरिरहेका वा गर्न चाहने किसानलाई ठाउँ दिन्छौं ।’

लामो समयदेखि पुराना व्यापारीले स्टल होल्ड गरी अरुलाई भाडामा दिने व्यापारीहरुको दर्ता खारेज प्रक्रिया सुरु गरिसकिएको मन्त्रालयले जनाएको छ ।