अराजक विचौलिया, ६ जनाले बुझाएनन् कारोबारको हिसाबकिताब

अटेर गरे कानुनी प्रक्रियाअनुसार उनीहरुको दर्ता खारेज समेत गर्न सकिने छ । ५३ जनाले प्रतिवेदन र थप प्रमाण पेश गरेको र तिनिहरुको प्रतिवेदन माथि प्रारम्भिक अध्ययन थालिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा दर्ता भई कारोबार गर्ने ६ जना व्यापारीले आफ्नो व्यावसायिक प्रतिवेदन तथा प्रमाण पेस नगरेको पाइएको छ ।

कृषि विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको पहिलो चरणको अनुगमन पछि गरिएको छानबिन समितिले ९८ जना व्यापारीहरुलाई व्यवासायिक प्रतिवेदन र प्रमाण पेस गर्न भनिएकोमा ६ जनाले प्रतिवेदन र प्रमाण पेश नगरेका हुन् ।

३९ जनाले व्यापारिक प्रतिवेदन बुझाए पनि थप प्रमाण नगरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । उनले रिर्पोट र प्रमाण नबुझाउने व्यापारी तथा थप प्रमाण पेश नगर्ने व्यापारीसँग स्पष्टीकरण मागिने बताए ।

त्यसपछि पनि अटेर गरे कानुनी प्रक्रिया अनुसार उनीहरुको दर्ता खारेज समेत गर्न सकिने उल्लेख गरे । ५३ जनाले प्रतिवेदन र थप प्रमाण पेश गरेको र तिनिहरुको प्रतिवेदन माथि प्रारम्भिक अध्ययन थालिएको कालीमाटी फलफुल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रबहादुर पौडेलले बताए ।

अबको १० दिनभित्र सवै व्यापारीहरुको प्रतिवेदन अध्ययन गरी कानुनी प्रक्रिया अगाडी बढाइने बताए । ‘आगामी हप्ता÷दश दिन भित्र व्यापारीहरुको प्रतिवेदन अध्ययन गरी टुङ्गोमा पुग्छौँ’ उनले भने, ‘अटेर गरी थप प्रमाण र स्पष्टीकरण नबुझाउने व्यापारीसँगको सम्झौता खारेज हुन्छ ।’

तरकारी बेथिति कालीमाटी बजारमा मात्रै नभएको र सरकारले रातारात गुन्डा शैलीमा छापा मार्ने केटाकेटी शैली अपनाएको कृषि विज्ञ डाक्टर कृष्ण पौडेलको आरोप छ । विगतदेखिको कालीमाटीको अव्यवस्थता सुधार्न नसक्ने सरकारले भागबण्डा नमिलेपछि मात्रै आक्रामण बन्ने शैली अशोभनिय रहेको उल्लेख गरे ।

‘मुलुकभरका सवै बिचौलिया र बेथिति हट्नु हुन्न भन्ने होइन् । सुधार र व्यवस्थित बन्नुपर्छ’ उनले भने, ‘तर, सरकारको जुन मेकानिजम र शैली छ । त्यो चाहिँ कमजोर छ भन्ने भनाइ हो ।’ सवैतिर र सवैखाले बेथिति हटाउन सरकार बलियो रुपमा उभिनुपर्ने उनको भनाइ छ ।