दसैंका लागि आउने खसीबोकाको व्यापार बिचौलियाकै हातमा

अन्य मापदण्डविपरीत भाडा तिरेर मात्र सञ्चालनमा आएका छन् । मापदण्डविपरीत खसीबोकाको कारोबार गर्ने बिचौलिया केही भारतीय छन् भने केही नेपाली । उपत्यकामा खपत हुने मासु खसीबजारले नै धानेको छ । तर, खसीबजारमा हुने कारोबार, व्यवस्थापन, मापदण्ड, मूल्य निर्धारण, ढुवानी र गुणस्तर हेर्ने निकाय मौन छन् ।

दसैं, तिहार र छठजस्ता पर्व नजिकिँएसँगै खसीबोका तथा भेडाच्याङ्ग्रा खरिदबिक्री हुने राजधानीको मुख्य व्यापारिक नाका हो— कलंकीस्थित खसीबजार । वार्षिक १० अर्ब रुपैयाँको खसीबोका तथा भेडाच्याङ्ग्राको व्यापार हुने यस क्षेत्रमा चाडपर्वका बेला खसीबोका र भेडाच्याङ्ग्राको व्यापार बिचौलियाकै हातमा रहने गरेको छ ।

झन्डै ७५ प्रतिशत खसीबोका भारतबाट आयात गरी विभिन्न व्यवसायीमार्फत खरिदबिक्री गर्ने गरिएको छ । भन्सारमा ४ सय ११ रुपैयाँ प्रतिकेजीका दरले आयकर तिरे पनि नेपाल भित्र्याएपछि झन्डै दोब्वर मूल्यमा बिक्री गर्ने गरेका हुन् । ४ सय ११ रुपैयाँ प्रतिकिलोका दरले भन्सारमा आयकर तिरी भित्र्याइएको खसीबोका खसीबजार भित्र्याएपछि ६ सय ७० देखि ७ सय रुपैयाँ प्रतिकेजीमा बिक्री गरिन्छन् । फलस्वरुप, आम उपभोक्ताले उपभोग गर्ने मासुको मूल्य महँगो पर्ने देखिएको हो । चाडपर्वका बेला मासुको माग बढी हुने देखेपछि बिचौलियाले आयकर बढेको बहाना बनाउँदै खसीबोकाको अस्वाभाविक मूल्य उठाउन थालेका छन् ।

यस वर्षको तीजमा मासुको माग विगतको वर्षमा भन्दा २० प्रतिशत बढ्यो । यसअनुसार झन्डै ६ हजार खसीबोका भारतबाट आयात गरी प्रतिकेजी ५ सय ८० देखि ६ सय मूल्यमा बिक्री गरेका थिए । स्वदेशी खसीबोकाभन्दा आयातित खसीबोका ल्याएर अस्वाभाविक मूल्यमा बिक्री गरे पनि सम्बन्धित निकाय मूकदर्शक बनेको छ । खसीबजार राजधानीको ८० प्रतिशत खसीबोका कारोबार हुने क्षेत्र हो । तर, पछिल्लो समय निजी जग्गा भाडामा लिएर केही व्यापारी तथा बिचौलियाले चलाइरहेका छन् । सबै खाले ३२ ओटा खसीबोका फार्म तथा स्टल रहेको भए पनि १२ ओटा फार्म तथा स्टलमा मात्र दर्ता तथा नवीकरण भएको पाइएको छ ।

अन्य मापदण्डविपरीत भाडा तिरेर मात्र सञ्चालनमा आएका छन् । मापदण्डविपरीत खसीबोकाको कारोबार गर्ने बिचौलिया केही भारतीय छन् भने केही नेपाली । उपत्यकामा खपत हुने मासु खसीबजारले नै धानेको छ । तर, खसीबजारमा हुने कारोबार, व्यवस्थापन, मापदण्ड, मूल्य निर्धारण, ढुवानी र गुणस्तर हेर्ने निकाय मौन छन् । व्यापारीहरुले आफूखुसी रुपमा खसीबोकाको मूल्य कायम गर्दै आएका छन् । मापदण्डविपरीत ढुवानी गरी ल्याइएका खसीबोका फार्म उत्तिकै दुर्गन्धित र फोहोर छन् । मासु काट्ने स्थल, फोहोर फाल्ने ठाउँ, सफा गर्ने पानी पनि फोहोर छ । खसीबोका तौल गर्न राखिएका ढक, तराजु पनि तोकिएको मापदण्डविपरीत रहेको त्यहाँका एक व्यवसायीको भनाइ छ । तर, अनुगमन गर्ने निकाय यस विषयमा बेखबर छ । नापतौल विभागको पनि ध्यान नगएको बर्सौं भइसकेको व्यवसायी बताउँछन् ।

भारतबाट आउने खसीबोकाको स्वास्थ्य जाँच हुने कुनै स्पष्ट मापदण्ड छैन । नियमविपरीत ससाना पाठी, बाख्रीहरु पनि ल्याएर त्यसको मासु तारे होटलमा समेत रातारात पु¥याइने गरिएको त्यहाँका स्थानीयले बताएका छन् । सरकारी निकायको कुनै अनुगमन नहुनु र भइहाले पनि जानकारी दिएर हुनुले सरकार बिचौलियाको संरक्षण भएको चौपाया खरिदबिक्री सङ्घका सदस्य तथा संरक्षण दीपक थापाले बताए ।

स्वदेशी खसीबोका राजधानी ल्याउन प्रहरीले भन्सार तथा नाकामा रोक्ने र भन्सार तथा नाकामा घुस दिएर बिचौलियाले भारतबाट ल्याउने गरे पनि अनुगमन कसैले अनुगमन नगरेको थापाको तर्क छ । राजधानीमा मात्रै दसैं, तिहार र छठ पर्वमा झन्डै ५० हजारभन्दा बढी खसीबोकाको किनबेच हुने गरेको छ ।