पर्यटन प्रवर्धनका पाटा

भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कतिपय दलले आफ्ना घोषणापत्रमा मुलुकलाई समृद्ध पार्ने बाचा त गरेका छन् । तर कसरी समृद्ध पार्ने भन्ने विषयमा स्पष्ट हुन सकेका छैनन् । तिनले अब मुख्य रुपमा पर्यटन उद्योगका साथै अन्य उद्योगका माध्यमबाट मुलुक समृद्धिको योजना बनाउनु र त्यसलाई कार्यान्वयनमा लैजानु जरुरी छ ।

तीन करोड हाराहारीमा रहेको नेपालको जनसङ्ख्या र दुई निकटतम छिमेकको करिब तीन अर्ब जनसङ्ख्याबीच कुनै हिसाबको तुलना हुन सक्दैन । त्यो जनशक्तिले आधुनिक उपकरणको मद्दतमा उत्पादन गर्ने वस्तु र हामीबीच प्रतिस्पर्धा लगभग असम्भव छ । हाम्रो सम्पत्ति भनेको प्रकृति, धार्मिक तथा ऐतिहासिक सम्पदा, संस्कृति र छोटो दूरीमै उपलब्ध अनौठो हावापानी नै हुन् । यी कुनै पनि कुरा अन्य मुलुकमा पाइँदैनन् । लुम्बिनी, पशुपतिनाथ, मनोरम प्राकृतिक छटाको प्रचुर प्रचार गर्दै पर्यटक भित्राउन सक्ने हो भने नेपालमा उत्पादनमुखी उद्योग कमै मात्र चल्दा पनि उन्नतिको बाटो खुल्न सक्छ ।

चीनजस्तो नामुद औद्योगिक मुलुकले समेत पर्यटनमा अधिक ध्यान दिँदै आएको छ । गत वर्ष त्यस विशाल मुलुकले ६ करोडभन्दा बढी पर्यटक आफ्नो देशमा  भित्र्याउन पर्यटक भित्र्याएको विभिन्न तथ्याङ्कले देखाएका छन् । नेपालजस्तै भारतमा पनि राजनीतिक गतिविधि अधिक हुने गर्छन् । बन्दहडताल, असुरक्षाजस्ता सन्दर्भबाट त्यो छिमेकी पीडित छ । चीन त्यस मामिलामा पृथक् छ र शान्त पनि छ । यसकारण पनि पर्यटक आगमनमा सम्बद्ध देशको राजनीतिक अवस्थाले पनि केही भूमिका खेलेको हुन्छ भन्ने बुझ्न सकिन्छ ।

उसै पनि कमजोर कनेक्टिभिटीका कारण नेपालमा उत्पादित वस्तु (कृषि तथा औद्योगिक) बजारसम्म पु¥याउन कठिन छ । किसानहरु आफ्नो पसिनाको मूल्य नपाएर हैरान छन् । सहरहरु अत्यन्तै अव्यवस्थित छन्, तिनको ‘रिबन डेभलपमेन्ट’ मात्र भएको छ । अव्यवस्थित सहरका कारण हरेक वस्तुमा बिचौलियाको बोलवाला छ । त्यति मात्र होइन औद्योगिक, घरेलु, कृषि उपजलगायतमा पनि छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न हामीलाई गाह्रो छ । यो तथ्य मनन गरेर बिस्तारै स्थिर बन्दै गएको राजनीतिक अवस्थामा दलहरुले मुलुकको पर्यटन उद्योगलाई तीव्र विस्तार गर्न सक्ने हो भने समृद्धि उति टाढा छैन ।

नेपालजस्तो भूपरिवेष्टित तथा सानो मुलुकलाई समुन्नत पार्न पर्यटन उद्योग प्रवद्र्धन गरिनुपर्ने कुरो लामो समयदेखि गरिँदै आएको हो । सरकारले पर्यटकलाई आकर्षित गर्न विभिन्न नारा दिँदै पनि आएको छ । तर, लक्ष्यअनुसार पर्यटक भने भित्र्याउन सकिएको छैन । सन् २०११ लाई पर्यटन वर्षका रुपमा धुमधामका साथ सभासमारोह गरेर मनाइयो । त्यस वर्ष १० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा पनि गरियो । तर, त्यो घोषणा सार्थक हुन सकेन । पर्यटन बोर्ड सदाझैं सानातिना सभासमारोहमै अल्झिरह्यो ।

छिमेकी चीनमा १५ प्रतिशतभन्दा बढी बुद्ध धर्मावलम्बी छन् । उता, अर्को छिमेकी भारतमा ८० प्रतिशतको हाराहारीमा हिन्दू बसोवास गर्छन् । पछिल्लो समय चिनियाँ नागरिक नेपाल आउने क्रम बढेको छ । तिनका निम्ति बुद्ध जन्मस्थल एउटा महङ्खवपूर्ण ठाउँ हुन सक्छ । संसारका सबै हिन्दूमध्ये ९० प्रतिशतको घर भारत रहेको दाबी गरिन्छ । यी दुई देशका धार्मिक पर्यटकलाई नेपाल ल्याउन सक्ने हो भने पनि हाम्रो आर्थिक अवस्थामा कायापलट हुनेछ । छिमेकी पर्यटकको पहिलो रोजाइ नेपाल हुन थालेपछि अन्य मुलुकका पर्यटक पनि नेपालबारे सोधखोज गर्न थाल्नेछन् । पर्यटन उद्योगको असर सधैँ चक्रीय रहने गर्छ । यसबाट प्रत्यक्ष रोजगारी मात्र होइन, अप्रत्यक्ष काम पाउने झन् बढी हुन्छन् । होमस्टेका माध्यमबाट गाउँगाउँमा रोजगारी सिर्जना हुनेछ । किसान, पशुपालक, साना उद्योगीलगायतले आफ्नो पसिनाको उचित मूल्य पाउनेछन् ।

बाह्रै महिना शीतल हुने थुप्रै स्थान छन् नेपालमा । प्रकृतिले नै वातानुकूलित बनाएको देश हो नेपाल । यस्तो हावापानीमा स्वास्थ्य पर्यटन मौलाउने ठूलो सम्भावना रहन्छ । हिमाल आरोहण, बन्जीजस्ता पर्यटकलाई लोभ्याउने काम त पहिलेदेखि नै चल्दै आएको छ । अब धार्मिक, स्वास्थ्य तथा प्राकृतिक, सांस्कृतिक सम्पदासमेतको प्रवद्र्धन हुनु जरुरी छ । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कतिपय दलले आफ्ना घोषणापत्रमा मुलुकलाई समृद्ध पार्ने बाचा त गरेका छन् । तर कसरी समृद्ध पार्ने भन्ने विषयमा स्पष्ट हुन सकेका छैनन् । तिनले अब मुख्य रुपमा पर्यटन उद्योगका साथै अन्य उद्योगका माध्यमबाट मुलुक समृद्धिको योजना बनाउनु र त्यसलाई कार्यान्वयनमा लैजानु जरुरी छ ।