पेट्रोलियम पदार्थकाे मूल्य घट्दा निदाउने यातायात व्यवसायी बढेपछि मात्र भाडा समायोजनको कुरा गर्छन्

भाडा घटेको विषयमा समायोजनका कुरा सुन्नै नचाहने यातायात व्यवसायी अहिले भने पेट्रोलियम पदार्थको भाडा बढेको भन्दै भाडा समायोजन हुनुपर्ने भनेर आन्दोलनमा उत्रिएका छन् ।

अहिले यातायात व्यवसायी आन्दोलनमा छन् । उनीहरुले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भने पनि भाडा समायोजनको बहाना बनाएर टिकट खुलाउने विषयमा आनाकानी गरिरहेका छन् । २०७१ सालदेखि भाडा समायोजन नभएको उनीहरुको गुनासो छ । तर त्यतिबेला बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँसम्म पुगेको थियो ।

सरकारले सोही मूल्यवृद्धिलाई आधार बनाएर त्यतिखेर भाडा समायोजन ग¥यो पनि । तर नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमा गएपछि बिस्तारै भाडा घट्न थाल्यो । घट्दै जाँदा पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँसम्म पनि पुग्यो । तर यातायात व्यवसायीले त्यतिखेर भाडा समायोजनको विषय उठाएनन् । त्यसपछि बिस्तारै पुनः बढ्दै जाँदा अहिले प्रतिलिटर १ सय १४ पुगेको छ । तर अहिले दसैंको मुखमै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्— भाडा समायोजनको खोचे थापेर ।

भाडा घटेको विषयमा समायोजनका कुरा सुन्नै नचाहने यातायात व्यवसायी अहिले भने पेट्रोलियम पदार्थको भाडा बढेको भन्दै भाडा समायोजन हुनुपर्ने भनेर आन्दोलनमा उत्रिएका छन् । सरकारले व्यवसायीको बैङ्क खाता रोक्का गरिदिएकाले उक्त खाता पुनः सञ्चालन गर्न पाउनुपर्ने माग पनि उनीहरुको छ । यी मागलाई अघि सारेर यातायात व्यवसायीले सवारी साधन ठप्प मात्र पारेका छैनन्, पेट्रोलियम ढुवानीमा पनि समस्या बनाइरहेका छन् ।

केही समयअघि विभाग र व्यवसायीहरुको छलफलबाट असोज ५ अर्थात् आजदेखि नै टिकट खुला गनै सहमति भएको थियो । यसअघि सरकारले यातायात क्षेत्रको एकाधिकार तोड्न कम्पनीमा दर्ता नभएका यातायात व्यवसायीको बैङ्क खाता रोक्कासमेत गरेपछि सरकार र यातायात व्यवसायीहरुको दूरी बढ्दै गएको थियो । कम्पनी दर्तामा आउन सरकारले समयसीमा तोकिदिएर पुनः समितिहरुले यातायात सञ्चालन गर्दै आएका छन् । दसैं नजिकिँएसँगै यात्रुहरुको सहजताका लागि खोलिने अग्रिम टिकट बुकिङ खुला गरिदिन तिनै यातायात व्यवसायीलाई यातायात व्यवस्था विभागले पटकपटक छलफल र आग्रह गर्दै आएको छ । तर यातायात व्यवसायीले आफ्नो ढिपी छाडेका छैनन् ।

के भन्छन् त यस विषयमा यातायात व्यवसायी । हामीले नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष योगेन्द्रकुमार कर्माचार्यसँग कुराकानी गरेका छौं—

यसअघि यातायात विभागसँग सहमति गरी टिकट खुलाउने निर्णय गर्नुभएको थियो । तर किन पछि हट्नुभो ?

हामी पछि हटेका छैनौं । विभागसँगको सहमति थियो — असोज ५ गतेसम्म व्यवसायीको रोक्का भएको खाता खुलाइदिने र वातावरण सहज बनाइदिने । तर सरकारले त्यो माग पूरा नगरेपछि हामीले पनि अग्रिम टिकट खुलाउन सक्ने अवस्था छैन ।

चाडपर्वकै मुखमा आएर भाडा बढाउने निर्णय गर्नुभयो ? तपाईंहरुले सर्वसाधारणलाई त मारमा पार्नुभयो नि, होइन ?

कम्तीमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाउनुभएन भन्ने हाम्रो माग हो । हामीहरुले भाडा समायोजनको कुरा गत फागुनदेखि नै उठाउँदै आएका हौं । तर त्यसको सुनुवाइ नै भएन । हरेक वर्ष वैज्ञानिक भाडादर नवीकरण गर्नुपर्छ । तर, अहिलेसम्म त्यो पनि भएको छैन । पेट्रोल डिजेलेका भाउ बढाउँदै जाने अनि भाडा समायोजनको कुरा ग¥यो कि ज्वरो आउने प्रवृत्ति गलत छ । हो, पक्कै पनि यात्रुहरुलाई समस्या हुन्छ । त्यसबारे सरकारले बुझिदिनुप¥यो नि । सरकारले सहज वातावरण बनाइदिए यात्रुले दुःखै पाउँदैनन् । तर हामी टिकट खुलाउने पक्षमै छौं ।

यातायात विभागले पटकपटक तपाईंहरुसँग वार्ता गरिरहेको छ । किन अझै समस्या समाधान नभएको त ?

अहिले विभागमा नयाँ महानिर्देशक आएपछि उहाँले पटकपटक हामीसँग वार्ता गर्दै आउनुभएको छ । पहल गर्नुभएको छ । सहमति पनि यसअगाडि नै गरेका हौं । तर, विभागले मात्रै गरेर हुने कुरा रहेन । व्यवसायीका रोक्का गरिएका खाता खोल्न पहल गर्नुप¥यो । त्यसका लागि सरकारले नै अर्थ मन्त्रालय, राष्ट्र बैङ्कसँग पहल गर्नुपर्ने हो । त्यसमा सरकार अनुदार देखिएको छ ।

भनेपछि सरकारसँगको रिस जनतालाई पोख्ने तपाईंहरुको मनसाय रहेछ है ?

जनतालाई दुःख दिने हाम्रो नियत होइन । बरु जनतालाई त सरकारले दुःख दिइरहेको छ । विगतका कति पटकका दसैं आए, गए । सरकार भाडा समायोजनको कुरै गर्न चाहँदैन । अहिले पेट्रोल डिजेलको भाउ पटकपटक बढेको छ । तर, यातायात व्यवसायीको भाडादर समायोजन र नवीकरणका लागि कुनै पहल भएको छैन । हामीलाई हातखुट्टा बाँधेर हिँड भनिएको छ, यो कसरी सम्भव छ ? त्यसैमा हाम्रो विरोध हो ।

सरकारले रोक्का भएका व्यवसायीका बैङ्क खाता खुलाइदिने भनेको छ । छलफल गरेर समस्या समाधान गर्न पनि भनिरहेको छ । तपार्इंहरु चाहिँ किन नमान्नुभएको नि ?

सरकारले समय तोकेर नै रोक्का खाता खुला गरिदिने भनेर सहमति गरेको हो । तर, सहमति र वार्तामा भएको कुरा कहिल्यै पूरा गर्दैन सरकारले । अहिले पनि व्यवसायीका खाता रोक्का छन् । उनीहरुले पैसा कहाँ लगेर जम्मा गर्ने ? आफ्ना कर्मचारीलाई कहाँबाट तलब खुवाउने ? यस विषयमा सरकारले कदम चालेको छैन । समस्या समाधान नगरिदिने अनि एकोहोरो टिकट खुलाइदिनुप¥यो भनेर हुन्छ ? त्यसैले सरकारले हाम्रा माग सम्बोधन गरिदिए अग्रिम टिकट खुलिहाल्छ ।