खसीबोकाको भन्दै बेचिन्छ बाख्राको मासु

व्यापारीहरुले खुलेआम बाख्रा तथा पाठी ढुवानी गरी राजधानी भित्र्याइरहेका छन् । तिनै बाख्रा तथा साना पाठीहरुको मासु व्यापारीहरुले रातारात ठूला तथा तारे होटलमा पुर्याउने गरेका छन् ।

चाडपर्व नजिकिएका बेला राजधानीमा खसीबोकाको भन्दै व्यापारीहरुले बाख्रा तथा पाठीको मासु अवैध रुपमा बिक्री गरिरहेका छन् । कानुनी रुपमा बाख्रा तथा पाठीको मासु बिक्री वितरण गर्न पाइँदैन । तर, व्यापारीहरुले खुलेआम बाख्रा तथा पाठी ढुवानी गरी राजधानी भित्र्याइरहेका छन् । तिनै बाख्रा तथा साना पाठीहरुको मासु व्यापारीहरुले रातारात ठूला तथा तारे होटलमा पुर्याउने गरेका छन् ।

दैनिक हजारभन्दा बढी खसीबोका भित्रिने कलङ्कीस्थित खसीबजारमा अधिक मात्रामा बाख्राको मासुको व्यापार मौलाएको देखिन्छ । त्यस्तै अर्को भृकुटीमण्डप नजिकै टुकुचास्थित खसीबजारमा पनि दैनिक ठूलो सङ्ख्यामा बाख्रा तथा ससाना पाठी ल्याइन्छ । कलङ्कीको खसीबजारमा दैनिक ७० देखि ८० ओटा बाख्रा तथा पाठी ल्याउने गरिएको स्रोतबाट खुलेको छ । ल्याइएका बाख्रा तथा पाठीहरु रातारात काटेर मुख्य अर्डर भएका होटल तथा रेष्टुरेन्टमा पुग्ने गर्छ । यहाँका बाख्राको मासु कलङ्की आसपास र नयाँ बसपार्कस्थित हाइजेनिक मिट सपमा समेत पुग्ने गरेको छ ।

विभिन्न क्षेत्रबाट ल्याइने त्यस्ता बाख्राको रातरात हत्या गरी खसीबोकाको मासु भन्दै होटल, रेष्टुरेन्ट तथा तारे होटलमा पुग्ने गरेको चौपाया खरिद बिक्री सङ्घका संरक्षण सदस्य दीपक थापाले जानकारी दिए । उनले अवैध रुपमा त्यस्ता बाख्रा तथा साना पाठीको ढुवानी अधिकांश भारतबाटै हुने गरेको बताए । उनले सरकार र अनुगमन गर्ने निकायको कुनै ध्यान नगएपछि यसको व्यापार तथा विकृति बढेको उनको तर्क छ । ‘सरकारले राँगा भनेर भैंसीको मासु बिक्री गरेको मात्रै देख्छ,’ उनले भने, ‘तर, पहिलेदेखि नै खसीबोकाकै मासु भनी बाख्रा तथा पाठीको मासु बिक्री गरेको थाहा नभएर होइन, अनुगमन नै हुँदैन । अनुगमन गर्ने निकाय कुन् छ ?’

त्यस्तै टुकुचास्थित खसीबजारको हालत पनि उस्तै छ । यहाँ अधिकांश बाख्रा तथा पाठापाठी ल्याइन्छ । तर, न कसैले अनुगमन गर्छ न कारोबार नै गर्न रोक लगाउँछ । निरन्तर र निर्वाध बाख्राको मासु बिक्री भइरहेको छ । अधिकांश व्यापारी मुस्लिम रहेकाले उनीहरुको आफ्नो विधानमै बाख्रा तथा पाठापाठीको मासु बिक्री गर्न पाउने व्यवस्था रहेकाले पनि रोक्न नसकिएको टुकुचास्थित चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोष खत्रीले बताए । उनले मुस्लिम समुदायमा बाख्राको मासुको कारोबार नियमसङ्गत रहेको बताए । यसबारे सरकारी क्षेत्रबाट कहिल्यै अनुगमन नभएको पनि उनले स्वीकारे । ‘मुस्लिमले आफ्नो विधानमा नै बाख्राको मासु उपभोग तथा बिक्री गर्ने भनेर बोर्ड राखेका छन्,’ उनले भने, ‘हामीले त खसीबोकाको मात्रै कारोबार गरेका छौं । हामीले उनीहरुलाई रोक र हस्तक्षेप गर्न मिल्दैन ।’

अनुगमन गर्ने निकाय कृषि विकास विभागले भने अनुगमन गर्ने क्षेत्राधिकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि भएको बताएको छ । खसीबोकाको मासु भनेर बाख्राको बिक्री गर्ने काम अवैध रहेकाले त्यस्ता उद्योग, फर्म तथा मासु पसलको अनुगमन गरी कानुनी दायरा ल्याउन प्रतिबद्ध रहेको कृषि विकास विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले जानकारी दिए । उनले खाद्य र वाणिज्य तथा आपूर्ति विभागसँग समन्वय गरी अगाडि बढेएको बताए ।

विभागले निरन्तर अनुगमन गरिहेको उनको तर्क छ । उनले गत वर्ष देशका विभिन्न क्षेत्रको अनुगमनमा गुणस्तरहीन, अवैध र मापदण्ड विपरीत कारोबार गर्ने ३० जना व्यापारीलाई कारबाही पनि गरेको बताए । गत वर्ष नै दण्ड जरिवानाबापत् ३७ लाख रुपैयाँसमेत उठाइएको उनको भनाइ छ ।