प्रभु र आईएमई समान प्रतिस्पर्धी

सहकारीमा पनि दुवै समूह अगाडि बढिरहेका छन् । प्रभु गु्रपले प्रभु कोअपरेटिभ र आईएमई गु्रपले आईएमई कोअपरेटिभ सञ्चालन गरिरहेका छन् । बिमा कम्पनीमा पनि दुवै समूह प्रतिस्पर्धीजस्तै देखिएका छन् । अहिले दुवै समूह आक्रामक रुपमा डिजिटल पेमेन्ट र पर्यटनमा लागिरहेका छन् । आईएमई समूह चन्द्रागिरि केबलकारमा मुख्य लगानीकर्ताका रुपमा अगाडि बढेको छ भने प्रभु समुुहले प्रभु हेलिकोप्टरमा लगानी बढाउँदै लगेको छ ।

एउटै क्षेत्र, उस्तै व्यवसाय । आईएमई गु्रप र प्रभु गु्रपको पछिल्लो पटक फैलिइरहेको व्यवसाय एवम् लगानीको क्षेत्रले यी दुई समूह बाहिरबाट हेर्दा तीव्र प्रतिस्पर्धामा जस्तै देखिन्छन् । विप्रेषण आप्रवाह (रेमिट्यान्स) व्यवसायबाट उदाएका यी दुई समूहले बैङ्क, वित्तीय संस्थादेखि लिएर पर्यटन र सूचना तथा सञ्चार क्षेत्रमा पनि एकनाशले लगानी बढाइरहेका छन् ।

दुई समूहको धेरै कुरामा समानता छ । प्रभुका अध्यक्ष देवीप्रकाश भट्टचन र आईएमईका चन्द्रप्रसाद ढकाल दुवै बागलुङबाट काठमाडौं आएर व्यवसाय सुरु गरेका हुन् । दुवैको औपचारिक व्यावसायिक यात्रा ट्राभल कम्पनीबाट सुरु भएको थियो । भट्टचनले ओशो ट्राभल र ढकालले एक्रस ट्राभलमार्फत व्यवसायलाई अगाडि बढाएका थिए ।

दुवै समूहको मुख्य व्यवसाय भने रेमिट्यान्स कम्पनी नै हो । आईएमई र प्रभु रेमिट्यान्स सँगसँगै जस्तै उदाएका थिए । आईएमई सन् २००१ मा स्थापना भएको थियो भने प्रभु रेमिट्यान्स सन् २००२ स्थापना भएको थियो । दुवै कम्पनीले मलेसियालाई आधार बनाएर नेपालमा रेमिट्यान्स भिœयाउन थालेका थिए । मलेसियाबाट फैलिएर विभिन्न मुलुक पुगेका दुई कम्पनीले २०७२ मा मलेसियामा रहेको आफ्ना कम्पनीलाई बिक्री गरेका थिए । आईएमई रेमिट्यान्स रिया रेमिट्यान्ससँग गाभिएको थियो भने प्रभु रेमिट्यान्स मोबाइल सेवाप्रदायक कम्पनी डीजी डटकमलाई बिक्री गरिएको थियो ।

दुवै समूह फरकफरक वाणिज्य बैङ्कका मुख्य प्रवद्र्धक छन् । प्रभु समूहले प्रभु बैङ्क र आईएमई समूहले ग्लोबल आईएमई बैङ्कमा मुख्य लगानी गरेका छन् । प्रभु गु्रप प्रभु फाइनान्सबाट वित्तीय क्षेत्रमा प्रवेश गरेको हो । तर पनि वैभव रारा विकास बैङ्क र वैभव फाइनान्स गाभेर प्रभु विकास बैङ्क बनेको थियो । त्यसैगरी प्रभु विकास बैङ्कले किस्ट बैङ्कलाई आफूमा गाभ्दै प्रभु बैङ्क बन्न पुग्यो भने त्यसै बेला जेनिथ फाइनान्स र गौरीशंङकर डेभलपमेन्ट बैङ्क पनि प्रभुमा गाभिए । त्यसैगरी ग्रान्ड बैङ्क नेपाललाई आफूमा गाभेको प्रभुले नेपाल विकास बैङ्कलाई पनि समाहित गर्दै मर्जरमा नयाँ छलाङ मारेको छ । उता आईएमई गु्रपले पनि आईएमई फाइनान्सियल इन्स्टिच्युसन खोलेर वित्तीय क्षेत्रमा प्रवेश गरेकोमा पछि ग्लोबल बैङ्क पनि खोल्यो र यी दुवै संस्थामा गाभिएर ग्लोबल आईएमई बैङ्क बन्यो । त्यसपछि ग्लोबलले कमर्ज एन्ड ट्रस्ट बैङ्क आफूमा गाभ्यो भने मर्जरबाट बनेको रिलायबल डेभलपमेन्ट बैङ्क आफूमा गाभेर मर्जरमा नयाँ इतिहास रचेको छ ।

सहकारीमा पनि दुवै समूह अगाडि बढिरहेका छन् । प्रभु गु्रपले प्रभु कोअपरेटिभ र आईएमई गु्रपले आईएमई कोअपरेटिभ सञ्चालन गरिरहेका छन् । बिमा कम्पनीमा पनि दुवै समूह प्रतिस्पर्धीजस्तै देखिएका छन् । आईएमई समूह मुख्य प्रवद्र्धक बन्दै आईएमई लाइफ र आईएमई जनरल इन्स्योरेन्स कम्पनी सञ्चालन गरेका छन् भने प्रभु समूहले प्रभु इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स सञ्चालनमा ल्याएका छन् । उनीहरु मर्चेन्ट बैङ्किङमा पनि सँगसँगै हिँडेका छन् । प्रभुको प्रभु क्यापिटल र आईएमई गु्रपको ग्लोबल आईएमई क्यापिटल सञ्चालनमा छ ।

दुवै समूहको छुट्टाछुट्टै व्यवसाय मात्रै छैन, उनीहरु सँगसँगै पनि व्यवसायमा संलग्न छन् । बैङ्क स्थापनका चरणमा दुवै समूह ग्लोबलमा सँगै थिए । अहिले दुवै समूहसँगै रहेको व्यवसाय भनेको डिसहोम नेटवर्क र हाथवे इन्भेस्टमेन्ट कम्पनी हो । डिस टिभी र होम टिभी छुट्टाछुट्टै हुँदा आईएमई र प्रभु समूह पहिला होम टिभीमा सँगै थिए । केही महिनाअघिसम्म डिसहोम नेटवर्कको अध्यक्षमा देवीप्रकाश भट्टचन थिए । प्रभु समूहले प्रभु टिभी ल्याएपछि भट्टचनले डिसहोमको अध्यक्ष छाडेका छन् भने डिसहोमको अध्यक्षमा आईएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल चुनिएका छन् । प्रभु समूहले पछिल्लो पटक सिम टिभी पनि खरिद गरेको छ ।

अहिले दुवै समूह आक्रामक रुपमा डिजिटल पेमेन्ट र पर्यटनमा लागिरहेका छन् । आईएमई समूह चन्द्रागिरि केबलकारमा मुख्य लगानीकर्ताका रुपमा अगाडि बढेको छ भने प्रभु समुुहले प्रभु हेलिकोप्टरमा लगानी बढाउँदै लगेको छ । आईएमई समूहले पर्यटनमा अझ अगाडि बढ्न ओमानको सलाम एयरको नेपाल जिएसए पनि लिएको छ । केही महिनाअघि प्रभु समूहले सिम्रिक एयरमा लगानी पनि गरेको थियो ।

अनलाइन र टेक्नोलोजीमा दुवै समूहले दायरा फराकिलो बनाउँदै लगेका छन् । प्रभुले प्रभु टेक्नोलोजीमार्फत सूचनाप्रविधिको काम गर्दै आएको छ भने आईएमई समूहले स्विफ्ट टेक्नोलोजी काम गरिरहेको छ ।

मोबाइल मनी, मोबाइल रेमिट्यान्स तथा पेमेन्ट गेटवेमा पनि यी दुवै समूह सँगसँगै प्रतिस्पर्धीका रुपमा अघि बढिरहेका छन् । आईएमई समूहको आईएमई पे, आईएमई डिजिटल सोलुसन र प्रभु समूहको प्रभु पे मोबाइल मनी र पेमेन्ट गेटवेमा बजारमा उत्रिएका छन् । प्रभु अनलाइनमा बढी आक्रमक देखिएको छ । प्रभु समूहले प्रभु बिलिङ, बस सेवा, एसटीसी एनपे, नेपफ्लाइट्स, इपे सिस्टम, आइपे, पे प्वाइन्टमा लगानी बढाइरहेको छ ।

दुवै समूहले हाइड्रोपावरमा पनि लगानी गरिरहेका छन् । हाइड्रोमा लगानी गर्न प्रभु गु्रपको प्रभु इनर्जी र आईएमई समूह हिमालय पावर पार्टनर एवम् माउन्टेन इनर्जी कम्पनी स्थापना गरेर अगाडि बढिरहेको छ ।

आईएमई र प्रभुको व्यवसाय उस्तैउस्तै भए पनि आफूहरु प्रतिस्पर्धामा नरहेको आईएमई गु्रपका अध्यक्ष ढकाल बताउँछन् । ‘हामी सुरुदेखि नै केही व्यवसायमा सँगै छौं, एकअर्काेको सल्लाहमा पनि व्यवसाय हुँदै आएको छ,’ उनले भने । दुवै समूहका अधिकांश व्यवसाय उस्तै प्रकृतिका छन् । तर, केही व्यवसाय एकअर्काे समूहसँग प्रतिस्पर्धामा छैनन् ।