चाडपर्वमा साढे ४४ अर्बको मासु खपत

खसीबोकापछि माछाको खपत बढी हुने गरेको छ । उपत्यकामा मात्रै दैनिक ५० हजार र मुलुकभर दैनिक एक लाख ५० हजार किलो माछा खपत हुने गरेको छ । चाडपर्वका बेला ४ अर्ब ८० करोड रुपैयाँबराबरको माछा खपत हुनेछ । दसैं, तिहार र छठमा मासुका लागि भेडाच्याङ्ग्रा भित्रिने गर्छन् । खासगरी मुस्ताङ र उत्तरी छिमेकी चीनबाट भेडाच्याङ्ग्रा बढी मात्रामा आयात गरिन्छ । गतवर्ष झन्डै १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा राजधानी भित्रिएका थिए ।

पैसा हुनेले खसी ढालेर चाडबाड मनाउँछन् । तर, नहुनेले फर्सी काटेरै भए पनि मनाउन सकिन्छ । घाँटी हेरेर हाड निल्नुपर्छ ।

चाडपर्व नजिकिँएसँगै यस्तै खालका सन्देश आदानप्रदान भइरहेका हुन्छन्, नेपाली समाजमा ।

यिनै भनाइलाई पूर्णता दिन मात्रै आन्तरिक उत्पादनले नपुगेर मुलुकमा मासुको आवश्यकता पूरा गर्न दसैंतिहार र छठ जस्ता चाडपर्वमा मात्र साढे ४४ अर्ब ३५ करोड रुपैयाँको पशुचौपाया आयात हुने गरेको छ । खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा, कुखुरा, माछालगायत पशुचौपाया मासुका लागि भित्र्याउने गरिएको हो । चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष दीपक थापाका अनुसार मुलुकभर वार्षिक झन्डै १८ अर्ब रुपैयाँको खसीबोकाको मासु खपत हुुने गरेकोमा मुख्य चाडपर्वका बेलामा मात्र १२ अर्ब रुपैयाँभन्दा बढीको खसीबोका खरिदबिक्री हुने गरेको छ । हरेक दिन उपत्यकामा ३ हजार र उपत्यकाबाहिर २ हजार गरी ५ हजार खसीबोका भित्रिने अनुमान छ ।

चाडपर्वका बेला मात्रै झन्डै ३० देखि ३५ हजार खसीबोका भारतबाट आयात हुने गरेको थापा बताउँछन् । अहिलेको दसैंका बेला पनि झन्डै ५० हजारको हाराहारीमा खसीबोका भित्रिने अनुमान छ । चाडपर्वका बेला खासगरी दसैं र तिहारको बीचमा खसीबोकाको कारोबार अन्य समयभन्दा दोब्बर÷तेब्बर हुने माछा मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्गी बताउँछन् ।

काठमाडौं उपत्यकामा मात्रै चाडपर्वका बेलामा ६ देखि ७ अर्ब रुपैयाँको खसीबोका कारोबार हुने गर्छ । आर्थिक वर्ष २०७२/०७३ को दसैं, तिहार र छठपर्वका बेलामा ४ अर्ब रुपैयाँको खसीबोकाको कारोबार भएको थियो । त्यस्तै आव २०७३/०७४ मा ७ अर्ब र आव २०७४/७५ मा भने ८ अर्ब रुपैयाँभन्दा बढीको खसीबोका तथा भेडा च्याङ्ग्रा कारोबार भएको चौपाया खरिदबिक्री सङ्घले जनाएको छ ।

नेपालका विभिन्न क्षेत्रबाट उपत्यकामा ८ देखि १० हजार मात्रै खसीबोका भित्रिन्छन् । स्वदेशभित्र नै खसीबोकाको उत्पादन राम्रो भए पनि ढुवानी समस्या, बिचौलिया हात, भन्सार तथा नाकामा प्रहरीले ढुवानीमा रोक लगाउँदा पनि स्वदशी उत्पादन बजारसम्म आउन नसकेको थापाको तर्क छ । सहज ढुवानी, बिचौलिया नहुने र भन्सारमा सहज भएको खण्डमा थप २० हजार स्वदेशी खसीबोका राजधानी भित्रिन सक्ने थापाको भनाइ छ । हरेक वर्ष खाद्य संस्थानले चाडपर्वलाई लक्षित गरी खसीबोका र भेडा च्याङ्ग्रा सहुलियत रुपमा वितरण गर्ने गरेको छ । यस वर्ष संस्थानले २ हजार खसीबोका र भेडाच्याङ्ग्रा वितरण गर्नेछ ।

दसैं, तिहार र छठमा मासुका लागि भेडाच्याङ्ग्रा भित्रिने गर्छन् । खासगरी मुस्ताङ र उत्तरी छिमेकी चीनबाट भेडाच्याङ्ग्रा बढी मात्रामा आयात गरिन्छ । गतवर्ष झन्डै १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा राजधानी भित्रिएका थिए । यस वर्ष पनि झन्डै १५ हजारको हाराहारीमा चीन र मुस्ताङबाट भेडाच्याङ्ग्रा आउन सक्ने थापाको अनुमान छ । खाद्य संस्थानले सहर तथा बजार क्षेत्रमा खसीबोकाको तुलनामा भेडाच्याङ्ग्राको माग बढी रहेको देखिन्छ । उच्च हिमाली क्षेत्रमा पाइने जडिबुटी खाएका भेडाच्याङ्ग्राको मासु तुलनात्मक रुपमा स्वस्थकर हुने भएकाले पनि उपभोक्ताले भेडाच्याङ्ग्रा बढी मात्रामा किन्ने गरेको थापाको भनाइ छ । अरु समयभन्दा दसैं र तिहारको समय भेडाच्याङ्ग्रा बढी र अन्य समयमा थोरै आउने व्यवसायी बताउँछन् । नेपालमा वार्षिक रुपमा झन्डै २० हजार भेडाच्याङ्ग्रा खपत हुने गरेको व्यवसायी दीपक थापा बताउँछन् । चाडपर्वका बेला मात्रै भेडाच्याङ्ग्रामा १ करोड १९ लाख रुपैयाँ खर्च हुने गर्छ ।

चाडपर्वका बेला झन्डै ८१ हजार राँगा बिक्री हुने गरेको छ । त्यसबाट झन्डै १९ अर्ब ४४ करोड रुपैयाँको राँगाको मासु खपत हुने व्यवसायी देवेन्द्र लिम्बूले बताए । गाउँघरमा खपत हुने मासु हिस्सा यसमा नहुने पनि उनको भनाइ छ । त्यस्तैगरी, चाडपर्वका बेलामा मुलुकभर ८ अर्बभन्दा बढीको कुखुरा खपत हुने गरेको छ । व्यावसायिक उद्देश्य र स्वदेशमा उत्पादन गरिएकाबाहेक विदेशबाटसमेत आयात गरिन्छ ।

त्यस्तै पछिल्लो समय खसीबोकापछि माछाको खपत बढी हुने गरेको छ । उपत्यकामा मात्रै दैनिक ५० हजार र मुलुकभर दैनिक एक लाख ५० हजार किलो माछा खपत हुने गरेको छ । चाडपर्वका बेला ४ अर्ब ८० करोड रुपैयाँबराबरको माछा खपत हुने माछा मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्कीको तर्क छ ।

चाडपर्वका बेला खपत हुने मासुको अनुमान

वस्तुको नाम                    दसैं, तिहार तथा छठपर्व
खसीबोका                        १२ अर्ब रुपैयाँ
भेडा च्याङ्ग्रा                    १ करोड १९ लाख
राँगा                               १९ अर्ब ४४ करोड
कुखुरा                             ८ अर्ब १० करोड
माछा                              ४ अर्ब ८० करोड
                   जम्मा         ४४ अर्ब ३५ करोड

चाडपर्वका बेलामा मात्रै मासुजन्य वस्तुको दोब्बर/तेब्बर बढ्ने गर्छ । कुल जनसङ्ख्याको झन्डै ८० प्रतिशत जनसङ्ख्याले मासुको उपभोग गर्छन् । त्यस्तै १७ प्रतिशतले मासु नै उपभोग नगर्ने गरेको चौपाया खरिदबिक्री सङ्घले जानकारी दिएको छ ।