गुणस्तरहीन पानी बेच्ने ३ पानी उद्योगमा सिल

स्नो वेभरेज प्रालि, कन्चनजंगा मिनिरल वाटर इन्डष्ट्री,सिटी इन्डष्ट्री प्रालिमा सिल गरिएको विभागले जनाएको छ ।

गुणस्तरहीन पानी उत्पादन तथा बिक्री गर्ने ३ ओटा पानी उद्योगमा सिलबन्दी गरिएको छ । बिहीबार टोखा नगरपालिका—३ क्षेत्रमा सञ्चालनमा रहेका ४ पानी उद्योगको अनुगमनका क्रममा ३ ओटा पानी उद्योगमा सिलबन्दी गरिएको हो ।

कृषि तथा पशपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्ण तथा पदाधिकारी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको रोहबरमा अनुगमनमा गएको टोलीले  स्वच्छ पिउने पानीको निर्देशिका र मापदण्डअनुसार नभएको भन्दै सिलबन्दी गरेको हो । खासगरी स्नो वेभरेज प्रालि, कन्चनजंगा मिनिरल वाटर इन्डष्ट्री , सिटी इन्डष्ट्री प्रालिमा सिल गरिएको विभागले जनाएको छ ।

स्वच्छ पिउने पानीसम्बन्धी निर्देशिका र ऐनबमोजिम मापदण्ड नभएका, सरसफाइ नगरिएका, खुला रुपमा सञ्चालन भएका, अनुज्ञापत्र नलिएका र बाह्य वातावरण सुहाउँदो नभएकाले सिलबन्दी गरिएको विभागका महानिर्देशक सञ्जीव कर्णले क्यापिटल नेपाललाई जानकारी दिए ।

स्नो वेभरेज प्रालिले अनुज्ञापत्र नलिएको, ग्राउन्डबाट तानेको पानी बिक्री गरेको र जार सफा नगरी बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ । त्यस्तै कन्चनजंगा नेचुरल मिनिरल वाटर र सिटी इन्डष्ट्रिमा पनि सरसफाइ नभएको, एक ठाउँबाट लाइसेन्स लिएर अर्को ठाउँमा उद्योग सञ्चालन गरेको पाइएको छ ।

अनुगमन टोलीले टोखा नपामै सुरेन्द्र महर्जनले सञ्चालन गरेको स्टार मिनिरल वाटर कम्पनीमा पनि अनुगमन गरेको छ । उक्त वाटर कम्पनीले भने अनुज्ञापत्र लिएको अन्य गुणस्तरको अवस्था राम्रो भएको विभागले जनाएको छ ।

विभागले खासगरी पानी, दुध र खाने तेलको गुणस्तर कायम गर्न वार्षिक रुपमा खाद्य स्वच्छता अभियान अन्र्तगत अनुगमनलाई तीव्र पारेको छ ।

सरकारले कुनै पनि उद्योगी, र व्यापारीलाई तर्साउने धम्क्याउने उद्धेश्यले अनुगमनलाई कडाई नगरेको मन्त्रालयका सचिव तथा खाद्य स्वच्छता अभियान २०७५ का संयोजक जीसीले बताए । ‘अनुगमनमा कडाई गर्दा वित्तिकै उद्योगी र व्यापारी आत्तिनु पर्दैन । हामीले कसैलाई तर्साउन र धम्क्याउने उद्धेश्यले गरेका होइन्’ उनले भने, ‘न्युनतम मापदण्ड र गुणस्तर कायम गरेर व्यवसाय सञ्चालन गर्नुस भन्ने मान्यता हाम्रो हो ।’