यसकारण भेटिँदैनन् हराएका मोबाइल

२०७३ सालमा काठमाडौं प्रहरीमा १२ हजार ४ सय ३० मोबाइल चोरी तथा हराएको उजुरी परेका थिए । त्यसमा १ हजार ६ सय ८१ ओटा मोबाइल फेला परे भने, बाँकी १० हजार ७ सय ४९ ओटा मोबाइल फेला परेनन् ।

काठमाडौं : काठमाडौं प्रहरीमा दैनिक ५० देखि १ सयसम्म मोबाइल हराएका र चोरी भएका उजुरी पर्छन् । प्रहरीले ती उजुरीलाई दर्ता पनि गर्छ । तर, हराएका र चोरी भएका मोबाइल खोजी गर्न प्रहरीलाई सहजता छैन । त्यसैले हराएका तथा चोरी भएका मोबाइल भेटिँदैनन् ।

२०७३ सालमा काठमाडौं प्रहरीमा १२ हजार ४ सय ३० मोबाइल चोरी तथा हराएको उजुरी परेका थिए । त्यसमा १ हजार ६ सय ८१ ओटा मोबाइल फेला परे भने, बाँकी १० हजार ७ सय ४९ ओटा मोबाइल फेला परेनन् ।

त्यसैगरी २०७४ सालमा १५ हजार ७ सय ८७ मोबाइल चोरी तथा हराएका उजुरी परे, त्यसमा प्रहरीले १ हजार ५ सय १८ मोबाइल भेटाएर सम्बन्धित धनीलाई फिर्ता दियो, बाँकी मोबाइल फेला परेनन् ।

त्यसैगरी गएको साउन यतामात्र ५ हजार ७ सय ४४ ओटा मोबाइल हराएका तथा चोरी भएका उजुरी प्रहरीमा परेका छन् । त्यसमा ७ सय ६२ ओटा फेला परे, भने बाँकी मोबाइल कता गए कुनै पत्तो छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा हिजोआज दैनिक ५० देखि १ सयसम्म मोबाइल चोरी तथा हराएका उजुरी पर्ने गरेका छन् । प्रहरीमा दैनिक सयाैं उजुरी परेपनि मोबाइल भने फेला पर्दैनन् ।

‘हराएका तथा चोरी भएका मोबाइल फेला पार्न सहज छैन,’ काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘हराएका मोबाइल खोज्न अहिले प्रहरीलाई सहज छैन ।’ ‘मोबाइल हराएका तथा चोरी भएका उजुरीमात्र दैनिक दर्जनौं आउँछन्, प्रहरीले उजुरी लिनैपर्यो, तर भेट्टाउन भने गाह्रो छ,’ उनले भने ।

उनका अनुसार केही सयम अघिसम्म हराएका मोबाइल खोजी गर्दा ‘टेलिफोन कल डिटेल’ निकाल्न प्रहरी आफैले मिल्ने व्यवस्था थियो । हराएका मोबाइलको आईईएमआई नम्बरलाई सिस्टममा राखेर त्यसमा कसले कुन सिमकार्ड प्रयोग गरेको छ भन्ने पत्ता लाग्थ्यो, अनि त्यो व्यक्तिलाई झिकाएर अनुसन्धान गर्दा मोबाइल सहजै भेटिन्थ्यो ।

तर, पछिल्लो समयमा त्यस्तो व्यवस्था परिर्वतन गरिँदा हराएका मोबाइल भेटिनै छाडे । ‘हराएको मोबाइल खोजी गर्न ‘कल डिटेल्स’ नहेरी हुँदैन,’ प्रवक्ता बोगटीले भने, ‘त्यो हेर्नका लागि अदालतको अनुमति लिनुपर्छ, काममा खटिने जनशक्तिको खर्चदेखि प्रक्रिया लामो भएका कारण त्यो सबै गरुन्जेल मोबाइल नेपालभन्दा बाहिर पुगिसकेका हुन्छन् ।’

दूरसञ्चार सेवाप्रदायक कम्पनीका अपरेटरको सहयोगमा व्यक्तिगत लाभका लागि कुनै पनि अपराधमा संलग्न नभएका व्यक्तिहरूको फोन रेकर्ड उतारेर दुरुपयोग भएको तथ्य भेटिएपछि सर्वोच्चको आदेश बेगर कलडिटेल हेर्न नमिल्ने व्यवस्था लागू गरिएको हो ।

२०७३ सालको अन्त्यमदेखि सर्वाेच्चको आदेशबिना कुनै पनि व्यक्तिको टेलिफोन रेकर्ड कल डिटेल्स र लोकेसन हेर्न नमिल्ने भएको छ । यसअघि कुनै पनि अपराधमा संलग्न भएको आशङ्का भएमा वा कुनै गलत काम गरेका कारण प्रहरी कार्यालयमा उजुरी परेमा प्रहरीले उक्त व्यक्तिको टेलिफोन रेकर्ड र लोकेसन हेरेर पत्ता लगाउने गरेको थियो ।

नेपाल र भारतका चोरबीच सहकार्य !
नेपालबाट चोरी भएका मोबाइल भारत पुर्याउने र भारतीय बजारबाट चोरी गरेका मोबाइल नेपाल ल्याउने समूह सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपालबाट चोरिएका तथा हराएका मोबाइल यता प्रयोग गर्दा पत्ता लाग्ने भएका कारण चोरीका मोबाइल भारतीय बजार पुग्ने गरेको प्रहरीको दाबी छ ।
त्यसैगरी भारतीय बजारबाट चोरी भएका मोबाइल नेपाल ल्याएर सस्तोमा बिक्री गर्ने गरिएको छ ।

स्रोतका अनुसार नेपाली बजारमा चोरी भएका तथा हराएका मोबाइल सङ्कलन गर्ने एक गिरोह छ, बजारमा हराएका तथा चोरी भएका महँगा मोबाइलहरु त्यो गिरोहले सस्तोमा किन्ने गर्छ ।

त्यसरी किनेका मोबाइल दिल्ली चल्ने यात्रुवाहक बसमार्फत् दिल्ली पठाउने गरिएको छ ।

त्यसैगरी भारतीय बजारमा चोरी भएका मोबाइल दिल्ली–काठमाडौं चल्ने बसहरुले नै नेपाल ल्याएर होलसेलमा न्यूरोडका पसलमा दिने गरेको स्रोतले जानकारी दियो ।

नाम उल्लेख नगर्ने सर्तमा काभ्रेका एक काठमाडौं – दिल्ली चल्ने बस व्यवसायीले भने, ‘भारतीय बजारबाट आएका चोरीका मोबाइल न्यूरोडमा धेरै बिक्री हुन्छन् ।

उनका अनुसार त्यसरी भारतीय बजारबाट ल्याइएका महँगा ल्यापटप र महँगा मोबाइल ८० प्रतिशत न्यूरोडमा खपत हुन्छन् ।

‘न्यूरोडका नाम चलेका पसलमा भारतीय चोरी बजारबाट चोरी गरी ल्याइएका मोबाइल बेचिन्छन्,’ उनले भने, ‘मैले नै कतिधेरै पटक उनीहरुले अर्डर गरेअनुसार ल्याएको थिएँ ।’

उनका अनुसार १ लाख पर्ने मोबाईल ३५ देखि ४० हजारसम्म उनीहरुले खरिद गर्छन् ।

त्यसैगरी ८० हजार देखि १ लाख सम्मका ल्यापटप नेपाल ल्याउदा २० देखि ३५ हजारसम्म पाइन्छन् ।