२ नम्वर प्रदेश सरकारले आठ जिल्लामा १ अर्ब २० करोड खर्चेर कोल्ड स्टोर बनाउने

कुल ५०० मेट्रिक टन क्षमतामा ‘मल्टी फङ्सनल’ कृषिजन्य उत्पादन स्टोर गर्न सकिने गरी निर्माण गरिने जनाइएको छ । अहिले त्यस प्रदेशका पर्सा र सप्तरी जिल्लामा बाहेक अन्य जिल्लामा कोल्ड स्टोर छैन् । फलस्वरु, किसानले उत्पादन गरेको मौसमी कृषि उत्पादनले उचित बजार नपाउने र खेर जाने गरेको जनाइएको छ ।

काठमाडौं । २ नम्वर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्रिवर्षीय योजना अन्र्तगत आठ जिल्लामा बृहत्त कोल्ड स्टोर निर्माण गर्ने भएको छ । चालू आर्थिक बर्ष २०७५/०७६ देखि प्रत्येक जिल्लामा न्युनतम एकओटा कोल्ड स्टोर निर्माणका १ अर्ब २० करोड रुपैयाँ खर्चिने प्रदेश सरकारको योजना छ ।

प्रदेशमा उत्पादित स्थानीय कृषिजन्य वस्तु भण्डार, बजारीकरण र किसानका उत्पादन जुनसुकै बेला पनि बजारीकरण गराउन कोल्ड स्टोर निर्माणको योजनामा प्रदेश सरकारले चासो देखाएको हो ।

नेपालमै अन्य प्रदेशहरुको तुलनामा यस प्रदेशले कोल्ड स्टोर निर्माणका लागि त्रिबर्षीय योजनामा ठूलो बजेट खर्चिन लागेको देखिन्छ ।कोल्ड स्टोर बनाउनका लागि २ नम्वर प्रदेश सरकारले सार्वजनिक सुचना प्रकाशित गरी प्रस्ताव मागेको थियो । प्रारम्भिक मुल्याङ्कनका आधारमा महोत्तरी जिल्लाबाहेक आठ जिल्लामा कोल्ड स्टोरका लागि सकारात्मक देखिएको २ नम्वर प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले न्युनतम ८ ओटा कोल्ड स्टोर निर्माणका लागि त्रिबर्षीय योजना बनाएको भूमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए । उनले एक जिल्लामा एक कोल्ड स्टोर निर्माणका लागि १५ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको बताए । ‘हामीले न्युनतम ८ ओटा कोल्ड निर्माण गर्ने योजना बनायौं’ उनले भने, ‘त्रिबर्षीय योजनाअनुसार एउटा कोल्ड स्टोरका लागि न्युनतम १५ करोडका दरले १ अर्ब २० करोड खर्चिने लक्ष्य छ ।’

कोल्ड स्टोर निर्माणको कुला लागतमध्ये ८० प्रतिशत प्रदेश सरकार र २० प्रतिशत निजीक्षेत्रको लागत रहने जनाइएको छ । कोल्ड स्टोर निर्माणका लागि चालू आवमा १६ करोड रुपैयाँ खर्चिने योजना सहित बजेट विनियोजन गरेको छ । ‘चालू आवमा प्रत्येक कोल्ड स्टोर निर्माणका लागि २ करोडका दरले १६ करोड बजेट छुट्याएको छ’ यादवले भने, ‘तेस्रो बर्षमा हरेक कोल्ड स्टोर बनाउन औसतमा १५ करोड खर्चिन्छौं ।’

कुल ५०० मेट्रिक टन क्षमतामा ‘मल्टी फङ्सनल’ कृषिजन्य उत्पादन स्टोर गर्न सकिने गरी निर्माण गरिने जनाइएको छ । अहिले त्यस प्रदेशका पर्सा र सप्तरी जिल्लामा बाहेक अन्य जिल्लामा कोल्ड स्टोर छैन् । फलस्वरु, किसानले उत्पादन गरेको मौसमी कृषि उत्पादनले उचित बजार नपाउने र खेर जाने गरेको जनाइएको छ ।

खासगरी सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सामा कोल्ड एक/एक ओटा कोल्ड स्टोर बन्नेछन् । कोल्ड स्टोर निर्माणका लागि जग्गा लिंजमा लिएर निर्माणको सम्झौता गरिने प्रदेश सरकारले जनाएको छ । एक विघा क्षेत्रफलको जग्गा लिंजमा लिएर कोल्ड स्टोर बनाउने प्रारम्भिक योजना छ ।