चार्जिङ स्टेसन निर्माण अन्तिम चरणमा, एक महिनाभित्र सञ्चालनमा आउने

चार्जिङ स्टेसनका लागि आवश्यक सामान, मेसिन तथा उपकरण ल्याइसकिएको र काम तीव्र रुपमा भइरहेकाले एक महिनाभित्र चार्जिङ स्टेसनको काम सम्पन्न गरिने भट्टराईले बताए ।

काठमाडौं । लुम्बिनीमा निर्माणाधीन विद्युत् चार्जिङ स्टेसन एक महिनाभित्र सञ्चालनमा आउने भएको छ । चार्जिङ स्टेसन निर्माण काम तीव्र रुपमा भइरहेको र अहिलेसम्म ८० प्रतिशत प्रगति भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईले क्यापिटल नेपाललाई जानकारी दिए ।

चार्जिङ स्टेसनका लागि आवश्यक सामान, मेसिन तथा उपकरण ल्याइसकिएको र काम तीव्र रुपमा भइरहेकाले एक महिनाभित्र चार्जिङ स्टेसनको काम सम्पन्न गरिने भट्टराईले बताए ।

१४ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त चार्जिङ स्टेसन निर्माण भए पनि विद्युतीय सवारी चार्ज गर्न सकिनेछ । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोष सङ्ग्रहालयनजिक बनिरहेको उक्त चार्जिङ स्टेसन निर्माण भइरहेको छ ।

अहिले चार्जिङ स्टेसन निर्माणको काम सकिएपछि सोलार प्यानल जडान गरिसक्ने उनले बताए । सोलार प्यानलबाट ११०० किलोवाट पावर उत्पादन गरी चार्जिङ स्टेसनका लागि आवश्यक विद्युत् आपूर्ति गरिनेछ । चार्जिङ स्टेसनका लागि २ मेगावाट विद्युत् आवश्यक पर्छ । उक्त विद्युत् सोलार प्यानलबाट उत्पादित पावरबाट व्यवस्थापन गरिने जनाइएको छ ।

पछिल्लो समय विद्युतीय सवारीमा निजीक्षेत्र आकर्षित भएपछि चार्जिङ स्टेसनको अभावमा इलेक्ट्रिक भेहिकल सञ्चालनमा ल्याउन सकिएको छैन । यसअघि साझा यातायातका सवारी काठमाडौं उपत्यकामा सञ्चालनका लागि उद्घाटन भए पनि विद्युत् अभाव र चार्जिङ स्टेसन नभएपछि त्यस्तै थन्किएका छन् ।

साझासँगै मयूर यातायात र सुन्दर यातायातले पनि विद्युतीय सवारी सञ्चालन गर्ने घोषणा गरेका थिए । चार्जिङ स्टेसन सञ्चालनमा आएपछि इलेक्ट्रिक गाडी ४५ मिनेटमा फुल चार्ज हुनेछ । लुम्बिनीका लागि ल्याइएका दुई इलेक्ट्रिक बस चार्जिङ स्टेसनको अभावमा काठमाडौं ग्यारेजमा थन्किएका छन् ।