मोबाइल एप ‘गुरुजी’बाटै एक सातामा १५० भन्दा बढी चालक कारबाहीमा

एक चालकले लामो समयसम्म सवारी चलाउनुले दुर्घटना निम्तिएको निष्कर्ष निकालेपछि प्रहरी प्रधान कार्यालयले सो एपलाई प्रयोगमा ल्याएको हो । यातायात व्यवस्था ऐन, २०४९ अनुसार लामो दूरीका सवारीसाधन चलाउँदा दुई चालक राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, सो व्यवस्था कार्यान्यवन नभएपछि सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।

काठमाडौं । सडक सुरक्षाका लागि नेपाल प्रहरीले गएको माघ २७ गतेदेखि सुरु गरेको ‘गुरुजी’एपमा १ सय ५० जनाभन्दा बढी चालक कारबाहीमा परेका छन् । राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले सडक सुरक्षाका लागि ‘गुरुजी’ एप सञ्चालनमा ल्याएको हो ।

नेपाल प्रहरीको सञ्चार निर्देशनालयले बनाएको एप अत्यन्तै प्रभावकारी भएको छ । गएको माघ २७ गतेबाट सुरु भएको यस एपका माध्यमबाट १ सय ५० भन्दा बढी सवारीचालक कानुनी दायरामा आएका छन् । ट्राफिक प्रहरीले यस अवधिमा एक हजार ५ सयभन्दा बढी चालकको विवरण सर्भरमा राखेको छ ।

एक चालकले लामो समयसम्म सवारी चलाउनुले दुर्घटना निम्तिएको निष्कर्ष निकालेपछि प्रहरी प्रधान कार्यालयले सो एपलाई प्रयोगमा ल्याएको हो । यातायात व्यवस्था ऐन, २०४९ अनुसार लामो दूरीका सवारीसाधन चलाउँदा दुई चालक राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, सो व्यवस्था कार्यान्यवन नभएपछि सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।

यातायात व्यवस्था ऐन, २०४९ लाई कार्यान्वयन गर्नका लागि प्रहरीले सुरु गरेको एपले कानुनी दायरामा ल्याउन सहज भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

‘सवारी यातायात तथा व्यवस्था ऐन, २०४९ को दफा १०४ मा व्यवस्था भएअनुसार लामो रुटमा चल्ने सार्वजनिक यातायातका साधनमा दुई जना चालक राख्नुपर्ने ब्यवस्था छ,’ प्रवक्ता सुवेदीले भने, ‘ऐनअनुसार ६ घण्टा पालैपालो चलाउनु पर्ने हुन्छ, तर त्यसो गरिएको छैन ।’

‘काठमाडौंबाट नेपालगन्ज जाँदा हाराहारी १२ घण्टा लाग्छ, त्यसमा एक जना मात्र चालक हुन्छ । खासमा दुई जना चालक हुनुपर्ने हो । अब हामी त्यसलाई कार्यान्वयन गर्न लगाउने छौं,’ प्रवक्ता सुवेदीले भने ।

‘एप सञ्चालनमा आएको डेढ सातामा धेरै राम्रो रिजल्ट आएको छ । काठमाडौंबाट छुटेको बस चालकको विवरण एपमा राखिन्छ, त्यो विवरण नवलपरासीमा ट्राफिकले निगरानी गर्छन् । तोकिएको समयभन्दा बढी एकै चालकले चलाएको भेटिएमा कारबाही हुन्छ,’ प्रवक्ता सुवेदीले भने ।

प्रहरीले पहिलो चरणमा काठमाडौंको नागढुङ्गा, प्रदेश २ अन्तर्गत सर्लाहीको कर्मैया, सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ र प्रदेश ५ अन्तर्गतको नवलपरासी पश्चिम सुनवल नगरपालिका–१२ भुमही तथा बाँकेको कोहलपुरमा एपको परीक्षण गरिन्छ ।

लामो दूरीमा चल्ने जस्तै– काठमाडौंबाट नेपालगन्जका लागि छुटेको बस चालकको फोटो र बस नम्बरसहित फोटो खिचेर सर्भरमा राखिन्छ । त्यसरी छुटेका सवारी चालक र गाडी नम्बरलाई एप सञ्चालनमा आएका ट्राफिक चेकिङ प्वाइन्टमा हेरिन्छ । ६ घण्टाभन्दा बढी एकै चालकले चलाएको देखिएमा कारबाही हुन्छ ।

के हो ‘गुरुजी’ एप ?
ट्राफिक कम्युनिकेसन एप (गुरुजी एप) नेपाल प्रहरीको सञ्चार निर्देशनालयले बिना लगानीमा बनाएको हो । सडक दुर्घटना बढ्नुमा लामो समयसम्म एकै चालकले सवारी चलाउने गरेको एक अध्ययनले देखाएपछि त्यसलाई रोकथाम गर्न तथा लामो दूरीमा चालक फेरिए–नफेरिएको पत्ता लगाउन नेपाल प्रहरीको सञ्चार निर्देशनालयले सो एप बनाएको हो ।

‘चालक फेरिए÷नफेरिएको कसरी पत्ता लगाउने भन्ने कुरा उठ्यो,’ सञ्चार निर्देशनालयका प्रमुख डीआईजी राजीव सुब्बाले क्यापिटल नेपालसँग भने, ‘पहिलो चरणमा हामीले एप बनाएर परीक्षण गर्यौं । त्यसको रिजल्ट राम्रो देखियो ।’ सो एप प्रभावकारी भएको निष्कर्ष निकाल्दै प्रहरीले अब देशका अन्य भागमा पनि प्रयोगमा ल्याउने तयारी गरेको छ ।

‘गुरुजी’ एपका फाइदा
‘गुरुजी’ एप चलाउन इन्टरनेट चाहिँदैन । सडकमा सवारी र चालकको विवरणसहितको फोटो खिचिन्छ, ती फोटो आफै सर्भरमा गएर बस्छन् । त्यसलाई एप सञ्चालनमा आएको क्षेत्रका चेकप्वाइन्टमा हेर्न मिल्छ । त्यसले सवारी कति बेला छुटेको र कतिबेला पुगेको समेत रेकर्ड देखिन्छ ।

त्यति मात्र नभएर नेपालमा भएका चालकको विवरण पनि प्रहरीसँग रहन्छ । त्यस्तै नेपाल प्रहरीले अघि सारेको स्मार्ट प्रहरी र डिजिटल प्रणालीलाई मद्दत पुग्छ ।