अरुणतेस्रो आयोजनाको ४०० केभी प्रसारणलाइन बनाउन भारतले दियो स्वीकृति, साढे १२ अर्ब लगानी हुने

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद अन्र्तगतको आर्थिक मामिला समितिको बैठकले अरुण तेस्रो आयोजनाको प्रसारणलाइन निर्माण योजना स्वीकृत गरेको हो ।

काठमाडौं । भारत सरकारले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको ४०० केभी क्षमताको प्रसारणलाइन आयोजनालाई स्वीकृति गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद अन्र्तगतको आर्थिक मामिला समितिको बैठकले अरुण तेस्रो आयोजनाको प्रसारणलाइन निर्माण योजना स्वीकृत गरेको हो ।

नेपालको जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले प्रवद्धर्क एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई प्रसारणलाइनको अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेपछि भारत सरकारले पनि उसलाई बनाउन स्वीकृति दिएको हो । एसजेवीएनलाई प्रसारणलाइनको काम अघि बढाउन बाटो खुलेको छ । यसअघि भारतले आयोजना बनाउनका लागि ९० अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ । योजना स्वीकृति हेर्न यहाँ क्लिक गर्नुहोस ।

संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरहुदै नेपाल र भारतको सीमाना बथनासम्म २१७ किलोमिटर लामो प्रसारणलाइन निर्माण हुने छ । प्रसारणलाइन बनाउन १२ अर्ब ३६ करोड १३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भारत निकासी प्रयोजनका लागि अरुण तेस्रो आयोजना निर्माण सुरु भएको हो । हालसम्म आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ ।

एसजेबीएनले दुई नेपाली बैकबाट १४ अर्ब ४० करोड रुपैयाँ अर्थात ९ अर्ब भारु ऋण लिने भएको छ । एसजेबीएनले नेपालको नविल र एभरेष्ट बैकबाट अपुग ऋण (ब्रिज लोन) लिन लागेको हो । स्टेट बैक अफ इन्डिया (एसबीआई) सँग ६५ अर्ब ६० करोड रुपैयाँ अर्थात ४१ अर्ब भारु र नेपाली बैकसँग पनि एक साथ ऋण सम्झौता हुने तयारीमा छ । स्टेट बैक र नेपालका एभरेष्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात ५० अर्ब भारु ऋण लिने भएको हो ।

आउँदो ४ महिनाभित्र ऋण सम्झौता भइसक्ने छ । तीन महिना आन्तरिक प्रक्रिया पूरा गर्न र एक महिना नेपाल राष्ट्र बैङ्कको विदेशी लगानी ल्याउन अनुमतिका समय लाग्ने छ ।

विद्युत उत्पादन संरचना बनाउन एसबीआई र नेपाली बैङ्कहरुले ऋण लगानी गर्ने छन । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैङ्कसँग ऋण सम्झौता भइसकेको छ । एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।

आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत् उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।

आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युतगृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसिएट्स लिमिटेडले पाएको छ । उसले काम सुरु गरिसकेको छ । प्याकेज १ अन्तर्गत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ ।

प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकेजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ ।