बैङ्कविरुद्ध खनिएका उद्योगी/व्यापारीलाई बैङ्कको झट्का : विश्वासका आधारमा ऋण नदिने

व्यापार गर्दा आयात कर्जा (टीआर लोन) मा आयात हुने सामान नै धितोका रुपमा लिई कर्जा दिने गरिएकोमा अबदेखि यस्तो कर्जा नदिने निष्कर्षमा बैङ्कहरु पुगेका हुन् ।

काठमाडौं । बैङ्कविरुद्ध उद्योगी/व्यवसायी आक्रामक भएपछि बैङ्क तथा वित्तीय संस्थाले पनि विश्वासका आधारमा कर्जा नदिने भएका छन् । विदेशबाट सामान आयात गर्ने व्यापारीले विश्वासका आधारमा बैङ्कबाट ठूलो कर्जा पाउने गरे पनि अबदेखि अनिवार्यरुपमा धितो राखेर मात्रै कर्जा पाउने भएका छन् ।

व्यापार गर्दा आयात कर्जा (टीआर लोन) मा आयात हुने सामान नै धितोका रुपमा लिई कर्जा दिने गरिएकोमा अबदेखि यस्तो कर्जा नदिने निष्कर्षमा बैङ्कहरु पुगेका हुन् ।

बैङ्कहरुले उच्च जोखिम मोलेर बिनाधितो ऋण प्रवाह गर्दा पनि उद्योगी/व्यवसायीहरु एकजुट भएर बैङ्कविरुद्ध उत्रिएपछि बैङ्कहरुले यस्तो निर्णय गर्न लागेका हुन् । बिनाधितो ऋण दिँदा धेरै जोखिम हुने भएकाले एनएमबी बैङ्कले बिना धितो ऋण नदिने व्यवस्था गर्न लागेको बैङ्कका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

‘यसरी ऋण दिँदा बैङ्क जोखिममा पर्छन्,’ उनले भने, ‘अबदेखि बैङ्कले जोखिम नलिई धितो लिएर मात्रै कर्जा दिने तयारीमा छौं ।’ एनआईसी एसिया बैङ्कले यसअघि नै विश्वासका आधारमा ऋण दिन बन्द गरिसकेको छ ।

एकातिर बैङ्कको नाफा घट्ने भएपछि बैङ्कले जोखिम मोल्न छाडेका हुन् भने अर्कोतिर उद्योगीहरु बैङ्कविरुद्ध सङ्गठित भएपछि बैङ्कहरुले यस्तो कदम चाल्न लागेका हुन् ।

बैङक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)ले पनि बिना धितो ऋण दिन नपाइने व्यवस्था गरेको छ । विश्वासका आधारमा ऋण दिनु भनेको बिनाधितो नै कर्जा दिनु हो । केही दिनअघि बैङ्कका अध्यक्षहरुको भेलाले पनि बिनाधितो कर्जा नदिन बैङ्क व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको थियो ।

आयातका लागि ऋण दिँदा कृषि, उद्योग, जलविद्युतलगायतका क्षेत्रमा कर्जा अभाव भएको बैङ्करहरुको निष्कर्ष छ । बैङ्कले चाहेजति कर्जा प्रवाह गरेकाले आयात बढेको हो । अब कर्जामा कडाइ हुनेबित्तिकै आयात पनि कम हुने र व्यापार घाटा पनि घटने उनीहरुको बुझाइ छ ।

उत्पादनमूलक उद्योग तथा कृषिक्षेत्र दिनानुदिन ओरालो लाग्दै गइरहेको छ । तर, आयात भने निरन्तर बढ्दै जानुका पछाडि बैङ्कले चाहेजति ऋण दिएर हो । बैङ्कले यस्तो ऋणमा कडाइ गर्नेबित्तिकै आयात पनि घट्छ ।

तर, बैङ्कहरुले नेपाली उत्पादन बेच्ने व्यापारीलाई कडाइ गर्न लागेका होइनन् । विदेशबाट आयात हुने सामग्री ल्याउन धितो लिएर मात्रै ऋण दिने व्यवस्था गर्न लागेका हुन् ।

बजारमा प्रवाह भएको कुल कर्जामध्ये २० देखि ३० प्रतिशत कर्जा विश्वासका आधारमा बैङ्कले उपलब्ध गराइरहेका छन् । ठूलो रकम विश्वासका आधारमा ऋण गएकाले पनि उत्पादनमूलक उद्योगलाई चाहिने कर्जा अभाव भएको हो ।