ट्राफिक नियम मिच्दै हुनुहुन्छ ? ख्याल गर्नुस्, सीसीटीभी हेरेर कारबाही गर्न घरमै पुग्छ प्रहरी

सीसीटीभीका माध्यमबाट धेरैजसो कारबाही काठमाडौंको बानेश्वर, थापाथली, पुल्चोक, कलङ्की, कोटेश्वर, गौशाला, दरबारमार्ग, महाराजगन्ज र रत्नपार्क, केशरमललगायतका क्षेत्रमा सवारी चलाउने चालक कारबाहीमा परेका छन् ।

काठमाडौं । सवारीसाधन चलाउँदै गरेका बेला तपाईं ट्राफिक प्रहरी नदेखेपछि लेन मिच्नुहुन्छ ? अथवा सडक नियमको ख्याल गर्नुभएको छैन ? होसियार हुनुस् है ! सडकमा ट्राफिक प्रहरी नभए पनि तपाईंका त्यस्ता गल्तीबारे ट्राफिक प्रहरी बेखबर छैन, त्यसो गरेको भेटिएमा ट्राफिक प्रहरी घरमै पुगेर कारबाही गर्न सक्छ ।

ट्राफिक प्रहरी नभएको मौका छोपी सडक नियम मिच्नेहरुको जमात बढेपछि ट्राफिक प्रहरीले त्यस्ता चालकलाई सीसीटीभीको सहयोगमा कारवाही थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुसार गएको जेठयता ४५ सय २३ जना सवारी चालक सीसीटीभीको माध्यमबाट कारवाहीमा परेका छन् ।

‘सडकमा ट्राफिक प्रहरी देखेपछि नियम मानेको जस्तो गर्ने अनि ट्राफिक प्रहरी नभएको देखे नियम मिचिहाल्ने गरेको धेरै देखियो,’ महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘त्यस्ता चालकलाई तह लगाउन उपत्यकाका सडकमा राखिएका सीसी क्यामेराको सहयोग लिने गरेका छौं, त्यसको प्रभावकारी काम पनि भएको छ ।’

सडक सुरक्षाका लागि रातादिन ट्राफिक प्रहरी सडकमा हुन्छन्, टफिक प्रहरी आफ्ना लागि नभएर उनीहरु चालककै हितका निम्ति ट्राफिक नियम मान भन्ने हो । तर मान्दैनन् । त्यस्ता चालकलाई घरबाटै निकालेर कारबाही गर्नुपरेको एसएसपी पन्तले बताए ।

जेठयता नियम मिचेर भाग्ने ४५ सय २३ सवारी चालकका घरमा पुगेर ट्राफिक प्रहरीले कसुरअनुसारको कारवाही गरेको छ । ट्राफिक प्रहरीका अनुसार त्यसरी कारबाही पर्नेमा धेरैजसो लेन अनुशासन कसुरमा छन्, त्यसैगरी जेब्रा क्रसमा सवारी नरोक्ने, प्रतिबन्ध लगाएको स्थानबाट सवारी मोड्नेहरु, जथाभावी सडकमा सवारी चलाउनेलगायत छन् ।

यसरी हुन्छ कारबाही

सीसीटीभीका माध्यमबाट धेरैजसो कारबाही काठमाडौंको बानेश्वर, थापाथली, पुल्चोक, कलङ्की, कोटेश्वर, गौशाला, दरबारमार्ग, महाराजगन्ज र रत्नपार्क, केशरमललगायतका क्षेत्रमा सवारी चलाउने चालक कारबाहीमा परेका छन् ।

जस्तै थापाथलीबाट कोही चालक ट्राफिकको आँखा छलेर लेन मिचेर आयो, त्यो सवारीको नम्बर सीसीटीभीले कैद गरेको हुन्छ, त्यो सवारीलाई महाखाको ट्राफिक कन्ट्रोल रुमले निगरानी गरेको हुन्छ, त्यो सवारीलाई सिंहदरबार अथवा पुतलीसडकमा रोकेर कारबाही गरिन्छ । त्यहाँ नै नपुगेर अन्यत्र कतै गएको अवस्था वा ट्राफिक प्रहरीले नदेखेको बेला त्यो सवारीसाधन कसका नाममा दर्ता छ, यातायात विभागको रेकर्ड हेरिन्छ । र त्यो विवरण आएपछि ट्राफिक प्रहरीले पत्र र फोनमार्फत महाशाखामा बोलाउँछ । महाशाखामा आएपछि त्यो व्यक्तिलाई सीसीटीभीको फुटेज देखाइन्छ । र त्यो व्यक्तिले बोल्ने ठाउँ बाँकी रहन्न, गल्तीअनुसारको कारबाही भोग्नुपर्छ ।

‘केही समयअघि मेरा एक आफन्तले बानेश्वर क्षेत्रमा ट्राफिक प्रहरीको आँखा छलेर भाग्नुभएछ, उहाँले चलाएको सवारीसाधन ट्राफिक कन्ट्रोलको सीसीटीभीमा देखियो । उहाँलाई घरबाट बोलाइयो, त्यो फुटेज देखाएपछि खिस्रिक्क हुनुभयो, लेन अनुशासन पालना नगरेको कसुरमा कारवाही भोगेर जानुभयो,’ एसएसपी पन्तले भने ।

कारबाही पर्नेमा डाक्टर, पत्रकार, वकिलदेखि सरकारी उच्च ओहोदामा बसेका रहेको उनले बताए । ‘हामीले उनीहरुको गोप्यता खोल्न मिलेन,’ एसएसपी पन्तले भने, ‘सीसीटीभी फुटेज नदेख्दासम्म मैले के गरें भन्दै जिद्दी गर्छन्, जब आफूले गरेको गल्ती सीसीटीभीमा देख्छन् अनि आफैं गल्छन् ।’

महाशाखाले सीसीटीभी फुटेज हेरेर कारबाही थालेयता गल्ती गरेर भाग्नेहरु निरुत्साहित भएको ट्राफिक प्रहरीको भनाइ छ । सीसीटीभीबाट कारबाही प्रभावकारी भए पनि केही स्थानमा भएका सीसीटीभी गुणस्तरीय नभएका कारण समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ ।

पहिला जडित सीसीटीभीको गुणस्तर नपुग्दा सवारीसाधनको नम्बरपप्लेट चिन्न समस्या हुने गरेको महाशाखाले बताएको छ । अहिले ३ सय सीसीटीभीबाट उपत्यकाको निगरानी गरिँदै आएको छ ।