अझै ४ लाखले पाएनन् ‘स्मार्ट लाइसेन्स’

यसबर्ष १३ लाख ‘स्मार्ट लाइसेन्स’ छाप्ने लक्ष्य राखेको विभागले अझै ४ लाखभन्दा बढी सेवाग्राहीलाई ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न बाँकी छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले मागबमोजिम ‘स्मार्ट लाइसेन्स’ छाप्न नसक्दा ४ लाख सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन सकेका छैन । यसबर्ष १३ लाख ‘स्मार्ट लाइसेन्स’ छाप्ने लक्ष्य राखेको विभागले अझै ४ लाखभन्दा बढी सेवाग्राहीलाई ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न बाँकी रहेको बताएको छ । हालसम्म ८ लाख ५० हजार ‘स्मार्ट लाइसेन्स’ छपाई गरी सेवाग्राहीलाई वितरण गरिएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । दाहाले अझै ४ लाख सेवाग्राहीले लाइसेन्स पाउन बाँकी रहेको भन्दै यो आर्थिक वर्षभित्र उक्त सेवाग्राहीले पनि लाइसेन्स पाउने बताए ।

विभागले आगामी आव २०७६/०७७ को तेस्रो चौमासिकसम्म थप १० लाख ‘स्मार्ट लाइसेन्स’ छाप्ने लक्ष्य लिएको छ । यसअघि विभागले लाइसेन्स छपाई गर्न मालिका कम्पनीलाई जिम्मेवारी दिए पनि मागअनुसार छाप्न नसकेको भन्दै विभागले आफैंले छाप्न सुरु गरेको थियो । मालिका कम्पनीले ३ लाख ‘स्मार्ट लाइसेन्स’ मात्रै छापेको थियो ।

‘मास प्रिन्टर’को अभावले विभागले मागअनुसार लाइसेन्स छाप्न सकेको नसकेको विभागको भनाई छ । प्रिन्टर खरिदका लागि प्रक्रिया अघि बढाइसकिएको र सो प्रिन्टर मेसिन आएपछि लाइसेन्स छपाइलाई तीव्रताका साथ अघि बढाइने महानिर्देशक दाहालको भनाइ छ । विभागले एउटा मास प्रिन्टर, डीएलआरएस र भीआरएस डाटा इन्ट्री गर्ने मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ । त्यस्तै, सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र स्मार्ट कार्ड प्रिन्टबारे १० लाख ‘पस एसएमएस’ पठाउने गरी सम्झौता भएको बताइएको छ ।