सस्तो लोकप्रियता र फोहोरी मानसिकतामाथिको च्यालेन्ज

एनिमेसन र इडिटको सहायताबाट अरुको तस्बिरमा आफ्नो फोटो राखेर पनि कतिले यसको प्रयोग सस्तो लोकप्रियताका लागि गरिरहेका छन् । तर यसको असल प्रयोग हुने हो भने यसले समाज र सस्तो लोकप्रियताको मानसिकतामाथि चुनौती प्रस्तुत गर्ने क्षमता राख्छ ।

काठमाडौं । अहिले मानिसहरू  सुन्दर तस्बिर लिएर फेसबुकमा अपलोड गरी लाइक कमेन्ट बढाउन कालिन्चोकदेखि घान्द्रुकसम्म पुग्ने गर्छन् । तर आइतबार बिहान काठमाडौंको चोभार गेट नजिक पाँच जना युवा सडक नजिक फालिएको फोहोरको थुप्रोमाझ तस्बिर खिच्दै थिए । बेल्चा र ठूला काला प्लास्टिक निकालेर फोहोरको थुप्रोलाई उधिन्दै थिए ती युवा । र ती फोहोर त्यही कालो प्लास्टिकभित्र राख्दै सफाइलाई अघि बढाए । मैले सोधखोज गरेपछि थाहा पाएँ— पाँचै जना युवा कुपण्डोलस्थित फ्लेक्सटेस नेपालका कर्मचारी रहेछन् । तर त्यस सफाइ काममा आबद्ध हुनुको पछाडि उनीहरुको पेशागत जीवनको कुनै सरोकार नै नभएको उनीहरुले बताए ।

तर यस्तो पहलकदमी कार्य उनीहरुको आपसी सर्कलको नयाँ अवधारणा भने पक्कै पनि थिएन । वास्तवमा यी युवाहरु त फेसबुकमा अहिले चल्तीमा रहेको थ्रास ट्याग च्यालेन्ज मुभमेन्टको हिस्सेदार बन्दै थिए ।

अप्सना खातुन, गोभिन्द भट्टराई, भाष्कर वाग्ले, सुजन तुलाधार र कल्पना महर्जनको यो सानो टोलीले फेसबुकमा अहिले चर्चामा रहेको थ्रास ट्याग मुभमेन्टमा आफूलाई सहभागी गराउँदै थिए । बेल्चा लिएका, मास्क र पन्जा लगाएका तर कुनै संस्थाको पहिचान वा लोगोबिना यी युवाले आपसी सहकार्यमा सडक नजिकको फोहोर उठाइरहेका थिए । फोहोर उठाउँदै अप्सना खातुनले भनिन्, ‘यो इनिसिएटिभ्स कुनै संस्थाको होइन, थ्रास ट्याग मुभमेन्टअन्तर्गत हाम्रो आफ्नै हो ।’ गोविन्द भट्टराईले भने यो सबै फोहोर आफूहरुले उठाउन नसके पनि उठाएको फोहोरसँग खिचेको तस्बिरमा आफ्ना अरु साथी सर्कललाई च्यालेन्जका रुपमा ट्याग गर्ने बताए । ‘उनीहरु पनि उनीहरुले नोटिस गरेको फोहोर ठाउँमा गएर यस कार्यलाई निरन्तरता दिनेछन् । उनीहरुले फेरि हामीले जस्तै अर्को टोलीलाई ट्याग गरी यो कार्यलाई यसरीलाई निरन्तरता दिनेछन्,’ उनले भने ।

अर्का सफाइकर्मी युवा भास्कर भन्छन्, ‘यो सानो इनिसिएटिभ्सले सबै फोहोरमैलो उठाएर सबै ठाउँ सफा पार्छ भन्न त सक्दैनौं । तर यो अभियानले सामाजिक सञ्जालको प्रयोग एउटा उत्कृष्ट र आवश्यक क्षेत्रमा भएको छ । यसले हाम्रो समाजलाई राम्रो फोटो राखेर सस्तो लोकप्रियता कमाउने दिन गइसके । र लोकप्रियता चाहिन्छ भने सित्तैमा होइन, केही गर्नुपर्छ भन्ने कुरा सिकाएको छ ।’

यी पाँच जना युवा त यो अभियानमा संलग्न केही प्रतिनिधि पात्र मात्र हुन् । अहिले विश्वभर नै यो मुभमेन्टको क्रेज यसरी बढेको छ दैनिक फेसबुक वालहरुमा कुनै न कुनै स्थानका युवाहरुले फोहोर ठाउँलाई आफूले सफा ठाउँमा परिणत गरेका दुई फरक तस्बिर अपलोड गरिरहेका छन् । यो थ्रास ट्याग च्यालेन्ज मुभमेन्टले वास्तवमा सार्वजनिक स्थलमा फोहोर गर्ने र आफ्नो शृङ्गारयुक्त तस्बिरलाई प्रचार गरेर अतिशयोक्तिलाई प्रश्रय दिने आजका मानिसहरुमाझ ठूलो चुनौती थप गरेको छ । यसले विभिन्न विपद् तथा सरसफाइ अभियानमा कामभन्दा बढी तस्बिर खिचेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई पनि मीठो व्यङ्ग्य प्रहार गरेको छ ।

यसो त यो च्यालेन्ज अभियानको दुरुपयोग पनि नभएको भने होइन । एनिमेसन र इडिटको सहायताबाट अरुको तस्बिरमा आफ्नो फोटो राखेर पनि कतिले यसको प्रयोग सस्तो लोकप्रियताका लागि गरिरहेका छन् । तर यसको असल प्रयोग हुने हो भने यसले समाज र सस्तो लोकप्रियताको मानसिकतामाथि चुनौती प्रस्तुत गर्ने क्षमता राखेको छ ।

वातावरण अभियन्ता स्टिभन रेनहोल्डले २०१५ को सेप्टेम्बर १५ मा यासोमाइट भ्याली जस्ता विभिन्न फोहोरी स्थल सरसफाइ गरेको ब्लगलाई टेटोन ग्राभिटी रिसर्च वेबसाइटमा पोस्ट गरेपछि यससँगै थ्रासट्याग प्रोजेक्टको लन्च भएको हो । यसले मानिसलाई विभिन्न फोहोरी स्थानहरुमा सफाइ गरेर आफ्नो कार्यलाई प्रचार गर्न आह्वान गरेको थियो । त्यस अभियानमा संलग्न हुने मानिसलाई रेनहोल्ड दूत रहेको यूसीओ गियरले आवश्यक सामग्री पनि प्रायोजन गर्न सुरु गरेको थियो । तर त्यस अवधिमा सुस्त रहेको यो च्यालेन्ज अभियानले २०१९ पछि भाइरल भएको ‘बिफोर’ र ‘आफ्टर’ दुई तस्बिर पनि ख्याति कमाएको हो ।

अहिले यो फेसबुक लगायत अन्य सामाजिक सञ्जालहरुमा निकै लोकप्रिय छ ।