रवीन्द्र अधिकारीको अभाव खड्कियोः सुरु भएन त्रिभुवन विमानस्थलमा बुटिक एयरपोर्टको काम

उनी हामीमाझ छैनन्, त्यसैले यो योजना घोषणा हुन सकेन । आज उनी भएको भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले बुटिक एयरपोर्टको शुभारम्भ गर्थे होलान् ।

काठमाडौं । सायद, पर्यटनमन्त्री रवीन्द्र अधिकारी जीवित रहिरहेका भए आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक एयरपोर्टको शुभारम्भ हुन्थ्यो होला । उनी हामीमाझ छैनन्, त्यसैले यो योजना घोषणा हुन सकेन । आज उनी भएको भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले बुटिक एयरपोर्टको शुभारम्भ गर्थे होलान् ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि उनले सुरु गरेका कामहरु अलपत्र पर्दै गएका छन् । वैशाख १ गते प्रधानमन्त्री ओलीबाट बुटिक एयरपोर्टको शुभारम्भ गर्ने तयारी गरिरहेका मन्त्री अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधनपछि उनले सुरुवात गरेका कामलाई निरन्तरता दिन सकेनन् ।

विमानस्थल स्राेतका अनुसार तयारी पूरा नभएकै कारण शुभारम्भ हुन नसकेको हो । प्रधानमन्त्री ओली आफैले वैशाख १ गते विमानस्थलाई बुटिक एयरपोर्टको शुभारम्भ गर्ने योजना सार्वजनिक गरेका थिए । भ्रमण वर्ष २०२० अगामै पहिलो चरणको काम सम्पन्न गर्ने तयारी गरेको विमानस्थलमा तयारी ढिला भएको हो ।

बुटिक एयरपोर्ट निर्माणका लागि आवश्यक कार्यविधि पनि ढिला पास भएको थियो । स्व. मन्त्री अधिकारीले बुटिक एयरपोर्ट बनाउने अवधारणा प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले स्व. मन्त्री अधिकारीलाई बुटिक एयरपोर्ट बनाउन निर्देशन दिएसँगै उनि लागि परेका थिए । अहिले पनि विभागीय मन्त्री नभएकै कारण बुटिक एयरपोर्टको कामले तीव्रता पाउन नसकेको स्राेतको भनाइ छ ।

अहिले विमानस्थलमा एक थान गैँडा र रेड पाण्डा राख्ने कामबाहेक अन्य केही पनि हुन सकेको छैन् । यता विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले प्रधानमन्त्री ओलीको व्यवस्थताको कारण शुभारम्भ नगरिएको बताए । उनले प्रधानमन्त्री ओलीको उपस्थितिमा शुभारम्भ नभए पनि काम भने अघि बढिरहेको जानकारी दिए ।

बुटिक एयरपोर्टको प्रारम्भिक कामका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बोर्डले साढे ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।