सरकारी प्रतिबन्धपछि पनि बन्द भएन, सेवाप्रदायक भन्छन्, समय लाग्छ

सरकारले वास्तवमै यो खेललाई वास्तविक प्रतिबन्ध गर्न चाहन्छ भने उसले एप्पल र गुगलजस्ता कम्पनीलाई उसको एप स्टोर र प्ले स्टोरमा पब्जीको पहुँचलाई ब्लक गर्न अपिल गर्नुपर्छ । जुन नेपालका लागि असम्भव जस्तै छ ।

काठमाडौं । सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेललाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक आईएसपीहरुलाई निर्देशन दिए पनि अझै यो अनलाइन गेम नेपालमा चलिरहेको छ । सरकारले आईएसपीहरुलाई पब्जी खेल नेपालमा प्रतिबन्ध र डाउनलोडलाई तत्काल बन्द गर्न गत बिहीबार निर्देशन दिएको थियो ।

भीपीएनको पहुँचबिना पनि प्रयोगकर्ताहरुले यो खेल अहिले खेलिरहेका छन् र यो डाउनलोड पनि सजिलै भइरहेको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुका सञ्चालक सुधीर पराजुलीले यो खेल नरोकिएको सम्बन्धमा कुनै गुनासा नआएको र यसमा थप अध्ययन नभएको क्यापिटल नेपाललाई बताए । ‘मल्टिप्लेयर, मल्टिपल सर्भर र मल्टिपल आईपीबाट यो सञ्चालन हुने भएका कारण वेबसाइटजस्तो यसलाई बन्द गर्न सजिलो छैन,’ पराजुलीले भने । उनले पब्जीको प्रमुख सर्भर डीएनएस सर्भरलाई नै ब्लक गर्ने तयारीमा रहेको पनि बताए ।

अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिङ्कले भने पब्जीको सर्भर रिक्वेस्ट गर्ने आईपीहरुलाई ब्लक गरिरहेको बताएका छन् । दूरसञ्चार प्राधिकरणको पत्र तल्लो निकायसम्म नआइसकेका कारण यसलाई पूर्णरुपमा बन्द गर्न अझै समय लाग्ने ब्रोडलिङ्कले जनाएको छ ।

याे खेल पूर्णरूपमा बन्द हुन प्राविधिक प्रक्रियामा भर पर्ने नेपाल दूरसञ्चार प्राधिकरणले बताएकाे छ । ‘हामीले आईएसपीहरुलाई पब्जी तत्काल बन्द गर्न निर्देशन दिएका छाैं,’ नेपाल दूरसञ्चार प्राधिकरणका कार्यावाहक प्रमुख पुरूषाेत्तम खनालले भने, ‘तर याे कहिले बन्द हुने भन्ने चाहिँ उनीहरूकाे प्राविधिक प्रक्रियामा निर्भर हुन्छ ।’

पब्जीलाई प्रतिबन्ध लगाउनका लागि पहिले सरकारले आईएसपीहरुलाई पब्जी सर्भरका सम्पूर्ण सञ्चार बन्द गराउन आग्रह गर्नुपर्छ । आईएसपीले पब्जी सर्भरलाई होस्ट गर्ने आईपी एड्रेसलाई पत्ता लगाएर ट्राफिक फिल्टर गर्ने फिल्टर प्रणाली इन्स्टल गरेपछि यो सम्भव हुन्छ । अर्को विकल्प भनेको एएसएन ब्लकिङ विधि अर्थात् अटोनोमस सिस्टम नम्बर हो । तर, यो प्रयोग भएमा यसले पब्जी सर्भरलाई मात्र होइन सम्पूर्ण इन्टरनेट ट्राफिकलाई नै ब्लक गर्न सक्छ । यद्यपि यी दुवै ब्लक गर्ने विधि आजसम्म पूर्णतया प्रभावकारी भने ठहरिएका छैनन् ।

यी सम्पूर्ण प्रयासका बावजुद पनि प्रयोगकर्ताले भीपीएन प्रयोग गरी प्रतिबन्धित खेलमा पहुँच पुर्याउन सक्छन् जसमा नियामक निकाय वा आईएसपीले पनि ट्रेस गर्न सक्दैन ।

सरकारले वास्तवमै यो खेललाई वास्तविक प्रतिबन्ध गर्न चाहन्छ भने उसले एप्पल र गुगलजस्ता कम्पनीलाई उसको एप स्टोर र प्ले स्टोरमा पब्जीको पहुँचलाई ब्लक गर्न अपिल गर्नुपर्छ । जुन नेपालका लागि असम्भव जस्तै छ ।