रोकियो नयाँ उद्योग दर्ता, लगानी भित्र्याउने सरकारको योजनामा तुसारापात

उद्योग विभागले नयाँ फिटा आएको तर, अहिलेसम्म नियमावली नआएकाले तत्काल विदेशी लगानीका उद्योग दर्तामा रोक लगाएको हो । उद्योग विभागमा दर्ता गर्न लगिएका एक दर्जन फाइल बिना दर्ता रोकिएर बसेका छन् ।

काठमाडौं । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) ल्याए पनि त्यसको नियमावली बनाउन नसकेपछि सरकारले नयाँ उद्योग दर्ता रोकेको छ ।

उद्योग विभागले नयाँ फिटा आएको तर, अहिलेसम्म नियमावली नआएकाले तत्काल विदेशी लगानीका उद्योग दर्तामा रोक लगाएको हो । उद्योग विभागमा दर्ता गर्न लगिएका एक दर्जन फाइल बिना दर्ता रोकिएर बसेका छन् ।

सरकारले नयाँ फिटा बनाएर विदेशी लगानीकर्तालाई थप आकर्षित गर्ने बताइरहँदा उद्योग विभागले उद्योग दर्ता नै रोकेको उद्योगीहरु बताउँछन् ।

उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले नयाँ फिटामा विदेशी लगानीका उद्योगका हकमा न्यूनतम पुँजी तोक्नुपर्ने भएकाले केही समस्या भएको बताए । उनका अनुसार विदेशी लगानीको हकमा न्यूनतम पुँजी तोक्नुपर्छ । त्यसमा केही ढिलाइ भएकाले नयाँ उद्योग दर्ता पेन्डिङमा रहेको उनले बताए ।

नयाँ फिटा आएदेखि हालसम्म उद्योग विभागमा ३० ओटाभन्दा बढी फाइल दर्ताका लागि पुगेका छन् । तर, उद्योग विभागले नियमावली नआएको भन्दै सबै उद्योगीलाई फर्काउने गरेको हो ।

उद्योग विभागले मन्त्रालयको निर्देशन खोजेको छ । ‘त्यसका लागि मन्त्रालयले न्यूनतम पुँजी निर्धारण गरेर राजपत्रमा सूचना प्रकााशित गर्दै छ,’ भट्टराईले भने, ‘नयाँ उद्योग दर्ता रोकिएको होइन, केही समयका लागि पेन्डिङ बसेका हुन्, अब छिटै खुल्छ ।’

उनका अनुसार अहिले मन्त्रालयले द्रुत गतिमा फिटाको नियमावली बनाउन लागेको छ । ‘मन्त्रालयले जतिसक्दो छिटो नियमावली बनाएर ल्याउँछ,’ उनले भने, ‘त्यसपछि यो समस्या समाधान हुन्छ ।’

नयाँ उद्योग दर्ताका लागि न्यूनतम पुँजी तोकेर राजपत्रमा सूचना प्रकाशित गरेपछि बाटो खुल्ने उनले बताए ।