बजेटकै सङ्घारमा नाफा कमाउन उपभोग्य वस्तुको भाउ बढाउँदै व्यापारी

जेठ १५ गते बजेट सार्वजनिक भएको भोलिपल्ट नै करको नयाँ दर लागू हुने गरेको छ । हरेक वर्ष मदिरा र चुरोटको भाउ बढ्ने भएपछि बढी कमाउन व्यापारीले अहिले मदिरा र चुरोटको कृतिम अभाव सिर्जना गराएका हुन् । खुद्रा व्यापारीले मदिरा र चुरोटलगायत भाउ बढ्ने वस्तुको भण्डारण गरिरहेका छन् ।

काठमाडौं । हरेक वर्ष बजेट आउनुअगावै उपभोग्य वस्तुको मूल्य बढाउने व्यापारीको प्रवृत्ति अहिले पनि सुध्रेको छैन । नयाँ आर्थिक वर्षको बजेट घोषणा नजिकिँदै गर्दा व्यापारीले मदिरा तथा चुरोटलगायतका वस्तुको कृत्रिम अभाव सिर्जना गरेर बजेटलगतै महँगो मूल्यमा बिक्री गरेर उपभोक्ता ठग्दै आएका छन् ।

जेठ १५ गते बजेट सार्वजनिक भएको भोलिपल्ट नै करको नयाँ दर लागू हुने गरेको छ । हरेक वर्ष मदिरा र चुरोटको भाउ बढ्ने भएपछि बढी कमाउन व्यापारीले अहिले मदिरा र चुरोटको कृतिम अभाव सिर्जना गराएका हुन् । खुद्रा व्यापारीले मदिरा र चुरोटलगायत भाउ बढ्ने वस्तुको भण्डारण गरिरहेका छन् ।

विभिन्न सामग्रीको मूल्य वृद्धि हुन सक्ने पूर्वानुमान गर्दै बजारमा व्यापारीले वस्तुको मूल्य एकाएक बढाउन थालेका हुन् ।

वस्तुको कृत्रिम अभाव सिर्जना गराई व्यापारीले मूल्य बढाउन थालेपछि खुद्रा व्यापारी तथा आम सेवाग्राहीले समेत गुनासो गर्न थालेका छन् ।

खासगरी आयातित र विलासीताका वस्तु खरिद हुने अन्तः शुल्क दर बढ्ने सम्भावना आकलन गर्दै चालू आर्थिक वर्ष नसकिँदै बाँकी वस्तुहरुको कृत्रिम अभाव सिर्जना गराएर व्यापारीले त्यस्ता सामानको मूल्य बढाएका हुन् ।

खासगरी अहिले सूर्य चुरोटको त व्यापारीहरुले कृत्रिम अभाव नै गराइसकेका छन् । फलस्वरुप, यसअघि प्रतिप्याकेट २०० रुपैयाँमा पाइने सूर्य चुरोट अहिले मुस्किलले पाए पनि २५० रुपैयाँ तिर्नुपरेको ग्राहकको गुनासो छ ।

त्यसबाहेक अन्य मदिरा र रक्सीजन्य वस्तुको मूल्य पनि बढेको स्वयम् व्यापारीले बताएका छन् । व्यापारीका अनुसार, मदिरा र बियर कम्पनीले १० प्रतिशत मात्रै थोक मूल्य वृद्धि गर्दा खुद्रा मूल्यसम्म आइपुग्दा सर्वसाधारणले २० प्रतिशत बढीमा किन्नुपर्छ ।

थोक व्यापारीले सामानको मूल्य नै बढी बनाएर पठाउने गरेको किराना तथा खुद्रा व्यापार सङ्घका एक अधिकारीले बताए ।

‘हरेक वर्ष बजेटअगावै थोक व्यापारीले सामान स्टक गर्न थाल्छन् । वस्तुको मूल्य बढाएर कम परिमाणमा आपूर्ति गर्छन्,’ ती अधिकारीले भने, ‘यो त वर्षौंदेखिको व्यापारीको चलन नै हो ।’ यसले किराना तथा खुद्रा सामानको मूल्य बढ्ने उनले बताए ।

थोक बिक्रेता र डिलरहरुले बजेटकै सङ्घारमा वस्तुको अभाव गराई मूल्य बढाएर व्यवसायी र उपभोक्तलाई मर्कामा पार्ने गरेको होटल एसोसिएसन नेपाल (हान)का केन्द्रीय सदस्य युवराज श्रेष्ठले बताए । यही जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट आउने भएकाले व्यापारीले नाफा कमाउन अहिलेदेखि नै वस्तु स्टक गर्न थालेको उनले बताए । ‘यो व्यापारीको विगतदेखिकै रोग हो । यसले हामी होटल व्यवसायी, खुद्रा व्यापारी र उपभोक्ता मारमा छौं’ उनले भने, ‘खुद्रा व्यापारीले १० कार्टुन अर्डर गरे ५÷६ कार्टुनभन्दा उपलब्ध नगराई थोक व्यापारी र डिलरहरुले नै चलखेल गर्छन् ।’

व्यापारीले सामान स्टक राखेर बजेटपछि बढेको मूल्यमा बिक्री गरेर अर्बौं कमाउँदै आएका छन् । व्यापारीहरुको यस्तो कुकर्मको अहिलेसम्म न अनुगमन भएको छ, न त कारबाही नै ।