कच्चा पदार्थ र तयारी वस्तु आयातमा १० प्रतिशतको ‘ग्याप’

कच्चा पदार्थभन्दा तयारी वस्तु आयात गर्दा भन्सार सस्तो परेको र त्यसैका कारण नेपालमा उद्योगधन्दा सञ्चालन हुन नसकेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा त्यसलाई ‘करेक्सन’ गर्न लागेको स्रोतले बताएको छ ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कच्चा पदार्थ र तयारी वस्तु आयातमा १० प्रतिशतको अन्तर (ग्याप) राख्ने भएको छ ।

कच्चा पदार्थभन्दा तयारी वस्तु आयात गर्दा भन्सार सस्तो परेको र त्यसैका कारण नेपालमा उद्योगधन्दा सञ्चालन हुन नसकेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा त्यसलाई ‘करेक्सन’ गर्न लागेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार नेपालमा कच्चा पदार्थभन्दा तयारी वस्तु ल्याउन एकदमै सस्तो भएको र त्यसले नेपालका उद्योग बाँच्न अत्यन्तै कठिन भएकाले सरकारले यस्तो गर्न लागेको हो ।

कतिपय तयारी वस्तु कच्चा पदार्थ आयात गर्नुभन्दा सस्ता छन् । जसका कारण उद्योगीलाई पनि आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको अर्थको बुझाइ छ ।

‘अहिले यस विषयमा छलफल भइरहेको छ,’ अर्थका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यदि यो व्यवस्था नगर्ने हो भने, नेपालका उद्योगबाट उत्पादित वस्तुले विदेशबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहँदैन ।’

स्रोतका अनुसार कतिपय तयारी वस्तु कुनै उद्योगका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुन्छन् । उदाहरणका रुपमा चिनी बिस्कुट उद्योगका लागि कच्चा पदार्थ हो भने चिनी आफैंमा तयारी वस्तु पनि हो । अन्य क्षेत्रमा पनि यस्तो समस्या भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने प्राविधिक समस्या आएको अर्थको भनाइ छ ।

‘दोहोरो रुपमा प्रयोग हुने वस्तुलाई के गर्ने भन्ने बारेमा अहिले छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘प्रयोजनअनुसार ल्याउँदा त्यसलाई त्यसैअनुरुप व्याख्या गर्न सकिने सुझावसमेत आएको छ ।’

उद्योगीले कच्चा पदार्थको तुलनामा तयारी वस्तु आयात गर्दा एक तहको फरक हुनुपर्ने माग गर्दै आएका छन् । खासगरी, कृषिजन्य उत्पादन, सिमेन्ट तथा कपडालगायतका वस्तु आयातमा एक तहको फरक हुनुपर्ने निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरियाले बताए ।

उद्योगी पवन गोल्यानका अनुसार सरकारले कच्चा पदार्थ र तयारी वस्तु आयात गर्दा एक तहको फरक राख्नुपर्छ । ‘अहिले कतिपय अवस्था ठयाक्कै उल्टो छ,’ क्यापिटल नेपालसँग उनले भने, ‘तयारी वस्तु ल्याउँदा सस्तो र कच्चा पदार्थ ल्याउँदा महँगो पर्छ । यस्तो हुँदा कच्चा पदार्थ ल्याई सामान बनाएर आयातित वस्तुसँग कसरी प्रतिस्पर्धा गर्ने ?’