भद्रगोल बालाजु तरकारी बजार, भाडाका सटरभन्दा फुटपाथको जगजगी

विगत १५ वर्षअघि स्थापना भएको उक्त तरकारी बजारमा अहिले १४ ओटा तरकारी बजारका स्टल सञ्चालनमा छन् । विगतदेखि नै उक्त तरकारी बजारको एउटै समस्या हट्न सकेको छैन, त्यो हो— बजार परिसरमै अनधिकृत फुटपाथ र खुलेआम व्यापार ।

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको ‘मिनी मार्केट’ बालाजु तरकारी बजारको अवस्था भद्रगोल छ । माछापोखरीदेखि बाइपास जानेतर्फ ३०० मिटर माथि पुगेपछि आउँछ, बालाजु तरकारी बजार ।

विगत १५ वर्षअघि स्थापना भएको उक्त तरकारी बजारमा अहिले १४ ओटा तरकारी बजारका स्टल सञ्चालनमा छन् । विगतदेखि नै उक्त तरकारी बजारको एउटै समस्या हट्न सकेको छैन, त्यो हो— बजार परिसरमै अनधिकृत फुटपाथ र खुलेआम व्यापार ।

अनधिकृतरुपमा सडक कब्जा गरी फुटपाथ पसल राखिँदा व्यापारीले सहजरुपमा व्यापार गर्न नपाएको गुनासो गर्दै आएका छन् । फलस्वरुप, तरकारी बजारक्षेत्र साघुरिँदै गएर व्यवसाय गर्न समस्या उत्पन्न भएको छ ।

कालिमाटी तरकारी विकास समिति र काठमाडौं महानगरले पनि फुटपाथ हटाउने आश्वासन नदिएका होइनन् । अनधिकृतरुपमा सडक कब्जा गरेर फुटपाथ पसल चलाइरहेका व्यवसायीप्रति न महानगर बोल्छ, न त समिति नै ।

बालाजु तरकारी विकास समिति र व्यापारीले संयुक्तरुपमा फुटपाथ हट्नुपर्ने भन्दै आन्दोलन गर्दै आएपनि अहिलेसम्म अवस्था सुध्रिन सकेको छैन ।
कालिमाटीमा जस्तै बिचौलियाको चलखेल त छदैँछ । अनधिकृतरुपमा फुटपाथ पसललाई समिति र स्वयम् महानगरले नै प्रश्रय दिएका छन् ।

तरकारी बजार भएको ठाउँमा अनधिकृत फुटपाथ पसल र बाहिरी एरियामा कपडाको व्यापार भइरहेको छ । यसले प्रत्यक्षरुपमा तरकारी कारोबार गर्ने व्यवसायी र सर्वसाधारणलाई अप्ठ्यारो परिरहेको छ ।

तरकारी बजारक्षेत्रमै खुलारुपमा फुटपाथ पसल राखिँदा व्यवसायीलाई व्यापार गर्न मात्रै होइन् सडक दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । तरकारी बजार आसपासमा धूलो, फोहोर र साघुरिँदो क्षेत्रले यातायात सञ्चालनमा समेत बाधा पुगेको तरकारी बजारमा पुग्ने जो कोहीले पनि महसुस गर्न सक्छ ।

तरकारी बजार भएको ठाउँमा अनधिकृतरुपमा अर्को बजार राख्न दिनु आफुमाथि सौतेलो व्यवहार भएको बालाजु तरकारी बजारका व्यवसायी पुरुषोत्तम घोरासाइनीले बताए । उनले आफूलाई समितिले भाडा र गैरकानुनीरुपमा भूबहाल कर लिए पनि सहजरुपले व्यापार गर्न नपाएको बताए । ‘हामीलाई भाडा र गैरकानुनी भूबहाल करबापत रकम तिराइन्छ,’ उनले भने, ‘तर, स्वतन्त्र र सहजरुपमा व्यापार गर्न पाएका छैनौं ।’

 

उनले वर्षौदेखि अनधिकृतरुपमा सडक कब्जा गरी फुटपाथ पसल चलाइए पनि त्यस्ता पसल हटाउन समिति र महानगर चुकेको बताए । समितिले आफूहरुलाई फसाउने सम्झौता गराई वर्षौदेखि दोहोरो कर उठाइरहेको उनले बताए ।

यता काठमाडौं महानगरले भने अनधिकृतरुपमा फुटपाथ पसल भए अनुगमन गरी हटाउन प्रयत्न गर्ने काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । ‘बालाजु तरकारी बजारमा त्यो समस्या हो भने हामी अनुगमन गर्छौं,’ डङ्गोलले भने, ‘हामी बुझेर के रहेछ त्यसपछि प्रक्रिया अघि बढाउँछौं ।’

यता, कालिमाटी तरकारी विकास समितिले वर्षौदेखि भाडा समायोजन नगरेको व्यवसायीले गुनासो गरेका छन् । फुटपाथ र देखिएका समस्या समाधान गर्न गठित समितिले बनाएको उपसमितिले पनि व्यवसायीलाई नै मर्कामा पर्ने गरी सम्झौता गरेको माछापोखरी फलफूल तथा तरकारी व्यवसायीका अध्यक्षसमेत रहेका पुरुषोत्तम घोरासाइनीले बताए ।

केही महिनाअघि पनि बालाजु तरकारी विकास समिति र व्यवसायीहरुले फुटपाथ बन्द हुनुपर्ने, निश्चित भाडादर कायम हुनुपर्नेलगायतका माग राख्दै विरोधस्वरुप समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । त्यसबेला बालाजु कृषिउपज बजार समितिले उपसमिति बनाएर समस्या हटाउन कोसिस गरे पनि समस्या हट्न सकेन । उनले आफूहरुलाई समस्या समाधानभन्दा पनि फसाउने गरी उपसमितिले तीनबुँदे सहमति गरेको बताए ।

उनले बताएअनुसरा बुँदागतरुपमा भएका सहमतिः

बुँदा १. अनधिकृत फुटपाथ र ठेलागाडा व्यापारी हटाउन कोसिस गर्नेछौं ।
बुँदा २. अन्य मागको सन्दर्भमा समयसापेक्ष भाडा तय गरिनेछ ।
बुँदा ३. हाललाई आन्दोलन रोकेर पुनः कारोबार सञ्चालन गर्ने ।

सम्झौता भएका माथिका बुँदाहरु पनि समस्या समाधानभन्दा ज्यूँका त्यूँ राख्ने खालका रहेको व्यवसायीकै भनाइबाट प्रष्ट हुन्छ । फुटपाथ हटाउन कोसिस गर्नेछौं भनिएको छ, तर, जसरी पनि हटाउँछौं भनिएको छैन । त्यस्तै भाडा समायोजनाको विषयमा समयसापेक्ष तय गरिनेछ भनिएको छ । यसको अर्थ, यस वर्ष कायम भएको भाडा दर अर्को वर्ष बढ्न सक्छ, घट्न नि सक्छ । निश्चित नहुने देखियो ।

तेस्रो बुँदामा आन्दोलनका कार्यक्रम रोकेर पुनः कारोबार गर्ने भनिएको छ । व्यवसायीका अनुसार, आन्दोलन गरेको र सम्झौता भएको महिनादेखि जरिवानासहित भाडा तिर्नुपरेको छ । अर्थात सम्झौता भएकै महिनादेखि लागू हुने गरी तरकारी स्टलको भाडा बढाइएको व्यवसायीको आरोप छ ।

समितिले बनाएको उपसमितिले सबैपक्षसँग सम्झौता गरी समस्या हटाएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अध्यक्ष तेजबहादुर सुवेदीले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्तासमेत रहेका सुवेदीले समितिले समस्या हटाइसकेकाले व्यापारीले गलत आरोप लगाइरहेको बताए । उनले व्यापारीले तरकारी सटरको भाडा बढाएको आरोप लगाए पनि त्यहाँको भाडा रकमले कालिमाटी तरकारी बजारका कर्मचारीको तलबसम्म व्यवस्थापन गर्न नसकिएको बताए ।