‘डोेमेस्टिक’ एयरपोर्ट खोज्न पर्यटन मन्त्री काभ्रे जाँदै

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खोजेको काभ्रेपलान्चोक जिल्लाको ठूलीचौरमा स्थानीयले विरोध गरेपछि काभ्रेकै नागिडाँडामा सम्भाव्यता अध्ययनका लागि तयारी गरिँदै छ ।

आफ्नो सय दिने कार्यक्रममा ’डोेमेस्टिक‘ एयरपोर्टका लागि सम्भाव्यता अध्ययन सकाउने घोषणा गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी आफैं जग्गा खोज्न जाने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खोजेको काभ्रेपलान्चोक जिल्लाको ठूलीचौरमा स्थानीयले विरोध गरेपछि काभ्रेकै नागिडाँडामा सम्भाव्यता अध्ययनका लागि तयारी गरिँदै छ ।

आफूले सार्वजनिक गरेको समयसीमा पुग्न लागिसक्दा समेत एयरपोर्टका लागि जग्गा निश्चित नभएपछि पर्यटनमन्त्री अधिकारी आफै जग्गा खोज्न लागेका हुन् । क्यानको प्रतिनिधिसहित पर्यटनमन्त्री अधिकारी बैशाख १८ गते काभ्रे जाने भएका छन् । मन्त्री अधिकारीले नागिडाँडाका स्थानीय र सरोकारवालासँग छलफल गर्ने भएका छन् । यस्तै अन्य ठाउँको पनि खोजी गर्ने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक जामलाई अन्त्य गर्न छुट्टै डोेमेस्टिक एयरपोर्ट बनाउने सरकारको योजना छ । सरकारको योजनाअनुसार नै काभ्रेपलान्चोक जिल्लामा डोेमेस्टिक एयरपोर्टका लागि जग्गा खोजिएको हो ।

धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला कुमारी चौलागाईं (शर्मा)ले डोेमेस्टिक एयरपोर्टका लागि आफूहरु जग्गा दिन तयार रहेको बताइन् । ’ठूलीचौरमा एयरपोर्ट बनाउँदा त्यस आसपासका होटललाई असर पर्ने भएकाले जग्गा दिएनौं, अन्य ठाउँमा हामी दिन तयार छौं,’ उप प्रमुख चौलागाईंले भनिन् । ठूलीचौर आसपासमा धेरै होटलहरु सञ्चालनमा छन् ।

एयरपोर्टका लागि धुलिखेलकै वडा नम्बर ११ र १२ का बीचमा रहेको जग्गा दिन नगरपालिका तयार रहेको जनाइएको छ ।