प्राविधिक भन्छन्, डोमेस्टिक एयरपोर्टका लागि नागीडाँडा उपयुक्त

एयरपोर्टको खोजीमा काभ्रे पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई ब्रिफिङ गर्दै प्राविधिक गुरु अधिकारीले अन्य ठाउँभन्दा नागीडाँडा उपयुक्त रहेको बताए ।

डोमेस्टिक एयरपोर्टका लागि काभ्रेपलान्चोक जिल्लाको नागीडाँडा नै उपयुक्त हुने प्राविधिकहरुको भनाइ छ । एयरपोर्टको खोजीमा काभ्रे पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई ब्रिफिङ गर्दै प्राविधिक गुरु अधिकारीले अन्य ठाउँभन्दा नागीडाँडा उपयुक्त रहेको बताए ।

‘ठूलीचौर र चिसापानीभन्दा नागीडाँडा ठीक छ, स्थलगत सर्वेक्षण गरिरहेका प्राविधिक गुरु अधिकारीले मन्त्रीलाई भने, यहाँ बनाउँदा ठीक हुन्छ’ । ‘आठ सय मिटरको रनवे बनाउन ३० मिटरको हाराहारीमा माटो काट्नु पर्छ,’ प्राविधिक अधिकारी भन्छन्, ‘कटिङमा खर्च हुन्छ, तर यहाँ सम्भव छ ।’

धेरै सामुदायिक वन र थोरै व्यक्तिको जग्गा पर्ने भएकोले पनि डोमेस्टिक एयरपोर्टका लागि नागीडाँडा नै ठीक हुने स्थानीयहरुको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेरेको ठूलीचौरमा स्थानीय र नगरपालिकाले विरोध गरेपछि नयाँ ठाउँको खोजीमा पर्यटनमन्त्री आफंै हिँडेका हुन् । मन्त्री अधिकारीले आफ्नो कार्यकालको सय दिनभित्र डोमेस्टिक एयरपोर्टको सम्भाव्यता अध्ययन सकाउने घोषणा गरेका थिए । तर सय दिन पुग्न केही साता मात्र बाँकी रहँदासम्म ठाउँको टुङ्गो नलागेपछि मन्त्री अधिकारी सरोकारवाला निकायहरु लिएर काभ्रे पुगेका हुन् ।

तीन ठाउँमा स्थलगत अध्ययन गरेका मन्त्री अधिकारीले दुई दिनभित्र विज्ञ समूह गठन गरी १५ दिनभित्र ठाउँको टुङ्गो लगाइसक्ने बताए । ‘आगामी बजेटमा एयरपोर्टका लागि रकम समावेश हुन्छ,’ मन्त्री अधिकारीले भने, ‘विज्ञको रिपोर्ट, स्थानीयको भावना र आवश्यकताका आधारमा एयरपोर्ट बनाउँछु ।’

पर्यटनमन्त्रीसँगै काभ्रे पुगेका सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले कम मूल्य र छोटो समयमा एयरपोर्ट बन्ने ठाउँमा बनाउने बताए । ‘काभ्रेबाट कुनै पनि हालतमा डोमेस्टिक एयरपोर्ट सर्दैन,’ सञ्चार राज्यमन्त्री बास्कोटाले भने, ‘विज्ञलाई उपयुक्त लागेको ठाउँमा जग्गा दिन तयार छौ ।’

राजधानीबाट नजिक भएको र मौसमको दृष्टिकोणले पनि नागीडाँडा नै उपयुक्त हुने स्थानीय देवकुमार तामाङको भनाइ छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाडो मौसममा ८ देखि १० बजेसम्म हुस्सु लागेर आन्तरिक एवम् बाह्य उडानहरु रोकिएका हुन्छन्,’ स्थानीय तामाङले भने, ‘तर नागीडाँडा सधैँ खुल्ला हुन्छ ।’

यस्तै होटल व्यवसायी अरुण श्रेष्ठले धुलिखेलको ठूलीचौरमा एयरपोर्ट कुनै पनि हालतमा बन्न नदिने बताए । पर्यटकीय र शैक्षिक हबको रुपमा विकास हुँदै गएको धुलिखेलमा एयरपोर्ट बनाउन नहुँने भन्दै त्यसका लागि सङ्घर्ष समिति नै गठनको तयारीमा आफूहरु रहेको जानकारी दिए ।