सात ओटै प्रदेशमा नमुना पर्यटकीय गन्तव्यस्थल बन्ने

सन् २०२० सम्म नेपालमा १५ लाख पर्यटक भित्र्याउने सरकारले घोषणा गरेको थियो । सोही घोषणालाई सफल बनाउन सरकारले सात ओटै प्रदेशमा नमुना पर्यटकीय गन्तव्यस्थल बनाउन लागेका हुन् ।

सरकारले सात ओटै प्रदेशमा नमुना पर्यटकीय गन्तव्यस्थल बनाउने तयारी गरेको छ । यसका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर)को तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०२० सम्म नेपालमा १५ लाख पर्यटक भित्र्याउने सरकारले घोषणा गरेको थियो । सोही घोषणालाई सफल बनाउन सरकारले सात ओटै प्रदेशमा नमुना पर्यटकीय गन्तव्यस्थल बनाउन लागेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयकै एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सात ओटै प्रदेशमा नमुना पर्यटकीय गन्तव्यस्थल बनाउन लागिएको हो । मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेका अनुसार प्रदेश १ मा ईलाम सन्दकपुर, प्रदेश २ को धनुषाधाम, प्रदेश ३ को ईन्द्रसरोवर मकवानपुर, प्रदेश ४ को पञ्चासे, प्रदेश ५ को देवदह, प्रदेश ६ को रारा र प्रदेश ७ कोे कैलाली भादागाउँमा पर्यटकीय गन्तव्यस्थल बनाइने छन् ।

‘सात ओटै प्रदेशमा निर्माण हुने नमुना पर्यटकीय गन्तव्यस्थलको प्रारम्भिक मस्यौदा १५ दिनभित्र तयार भइसक्ने छ,’ सहसचिव घिमिरेले भने, ‘त्यसका लागि काम अघि बढिरहेको छ ।’ यस्तै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ क्षेत्रको गुरुयोजना तयार गर्ने काम अन्तिम चरणमा पुगेको र स्वर्गद्वारीको गुरुयोजना तयार पार्न परामर्शदाता छनौट भइसकेको सहसचिव घिमिरेको भनाइ छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफू मन्त्री भएको सय दिनभित्र गर्ने कामको कार्ययोजनामा सात ओटै प्रदेशमा बन्ने नमुना पर्यटकीय गन्तव्यस्थलको पहिचान गरी डीपीआर तयार पार्ने घोषणा गरेका थिए ।

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले बाह्य पर्यटकहरुलाई नेपालमा लामो समयसम्म बस्नका लागि उपयुक्त वातावरण निर्माण गर्न लागिरहेको बताए । ‘सात ओटै प्रदेशमा नमुना पर्यटकीयस्थल बनेपछि पर्यटकहरुको बसाइ अवधि पनि बढ्न सक्छ,’ सीईओ जोशीले भने ।