गुणस्तरहीन पानी बेच्ने ५ उद्योगमा सिलबन्दी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा पानीको प्रयोगशाला नै नभएका ५ ओटा उद्योगहरुमा सिलबन्दी गरेको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उपभोक्ताको स्वास्थ्यप्रति गम्भीरता नदेखाउने उद्योगहरु सिलबन्दी गरिएको जानकारी दिए ।

राजधानीबासीले दैनिक पिउने अधिकांश खानेपानी प्रयोगशालामा जाँच नै नगरी बजारमा पठाउने गरिएको पाइएको छ । उद्योगबाट पानी प्रशोधन गर्ने क्रममा अनिवार्य रुपमा प्रयोगशालामा जाँच गरेर मात्र बजारमा पठाउनु पर्नेमा सीधै पठाउने गरिएको पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा पानीको प्रयोगशाला नै नभएका ५ ओटा उद्योगहरुमा सिलबन्दी गरेको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उपभोक्ताको स्वास्थ्यप्रति गम्भीरता नदेखाउने उद्योगहरु सिलबन्दी गरिएको जानकारी दिए । सिलबन्दी गरिएका उद्योगहरुमध्ये एक्युवा गोदावरी वेभरेज प्रालि गोदावारीमा प्रयोगशाला नभएको, खाद्य अनुज्ञापत्र नभएको, पाइपलाइन चुहावट भएको, अन्य उद्योगको नाम भएको लेवलमा पानी भरी बिक्री गरेको तथा शौचालयको सरसफाइको अवस्था राम्रो नभएको र कम्पनीको बाहिर बोर्ड नभएको पाइएको छ ।

गोदावरी मिनलर वाटर प्रोडक्ट, गोदावरीमा पनि प्रयोगशाला नभएको पाइएको छ । यस्तै पाइपलाइन चुहिएको, कुच्चिएको र कोत्रिएको जार प्रयोग गरिएको र अन्य उद्योगको नाम भएको लेबलमा पानी भरी बिक्री गर्ने गरेको पाइएको विभागको भनाइ छ । यस्तै मातातीर्थमा रहेको सगरमाथा फुड एन्ड वेभरेज प्रालिमा हातले पानी भर्ने गरेको, जार फिलिङ सेक्सन साँघुरो र छुट्टै नभएको, पाइपलाइनमा चुहावट र कार्बन फिल्टर नभएका कारण उद्योगमा सिलबन्दी गरिएको छ ।

रियल स्प्रिङ मिनरल वाटर एन्ड वेभरेज प्रालि, गोदावारीको फिल्टर र पाइपलाइनमा चुहावट भएको, प्रयोगशालाको व्यवस्था उपयुक्त नभएको र प्रशोधन कक्ष खुल्ला रहेको पाइएको छ । अनुगमनका क्रममा कोर स्प्रिङ वाटर प्रालि, गोदावारीमा खाद्य अनुज्ञापत्र नभएको, आरओ तथा फिल्टर चुहावट भएको, अन्य उद्योगको नाम भएको बोतलमा पानी भरी बिक्री गरेको, जार फिलिङ सेक्सन छुट्टै नभएको र युभी ट्रिटमेन्ट नभएका कारण सिलबन्दी गरिएको विभागले जनाएको छ ।

माता सरस्वती खानेपानी प्रालि, कागेश्वरी मनोहरा नगरपालिका ५ थली, काडमाण्डौको अनुज्ञापत्र नवीकरण नगरेको, सरसफाइ सन्तोशजनक नभएकोे, उद्योग फोहोर रहेको, पानी भर्ने स्थान खुला रहेको, शौचालय अत्यन्तै फोहोर रहेको, अन्य उद्योगको सुरक्षण सिल लगाएको तर एमएसके ब्रान्डको लेबल लगाइएको जार फेला परेको र पानीको निर्देशिका बमोजिम उद्योगको अवस्था नरहेको पाइएको जनाएको छ । सो उद्योगलाई सात दिनभित्रमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन समेत दिइएको विभागले बताएको छ ।