निगम अाफैंले ट्याङ्कर र चालकको व्यवस्था गर्ने

निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको ढुवानीको जिम्मा दिँदा उपभोक्ताले पटक पटक दुःख पाएको र राज्यलाई धोका दिएको भन्दै आफ्नै ट्याङ्कर र चालकको व्यवस्था गर्न लागिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीका लागि आफ्नै ट्याङ्कर व्यवस्था गर्ने भएको छ । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको ढुवानीको जिम्मा दिँदा उपभोक्ताले पटक पटक दुःख पाएको र राज्यलाई धोका दिएको भन्दै आफ्नै ट्याङ्कर र चालकको व्यवस्था गर्न लागिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

‘निजी क्षेत्रको भर पर्दा धेरै पटक समस्या झेल्नु पर्यो,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘दीर्घकालीन समस्या समधानका लागि एक मात्र उपाय भनेकै आफ्नै सवारी साधानको व्यवस्था गर्नु हो, यसको गृहकार्य सुरु गरिसकेका छौं ।’ ‘अहिलेका चालकबाट सरकारलाई जुनसुकै बेला पनि अप्ठ्यारो पर्न सक्छ, त्यसलाई मध्यनजर गरेर निगमले दीर्घकालीन रुपमा समाधान खोज्न लागेको छ,’ उनले भने ।

निगमले सुरुमा भण्डार केन्द्रको विस्तारको विषयमा चासो राख्दै आएकोमा अबको पहिलो प्राथमिकतामा ट्याङ्कर व्यवस्थापन रहने बताए । सुरुआती चरणमा सयदेखि डेढ सयसम्म ट्याङ्करको व्यवस्था गर्ने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवसमक्ष प्रस्ताव राखिएको निमित्त कार्यकारी निर्देशक भट्टराईले क्यापिटललाई जानकारी दिए । आफ्नै ट्याङ्कर भएपछि भण्डारण केन्द्रको पनि खासै आवश्यकता नपर्ने उनको भनाइ छ ।

यसैबीच ट्याङ्कर चालकहरु आन्दोलनमा उत्रिएर पेट्रोलियम पदार्थ ढुवानी ठप्प भएपछि सरकारले सुरक्षा निकायको सहयोगमा विभिन्न डिपोमा चालकहरु पठाएको छ । रुपन्देहीको भलवाडी डिपोमा ३० जना चालक पेट्रोलियम पदार्थ ढुवानीका लागि पुगिसकेका छन् भने अन्य डिपोमा पनि पठाइरहेको बताइएको छ ।

निगमले आन्दोलनमा रहेका चालकलाई अन्तिम चेतावनी दिँदै गाडी चलाउन वा सरकारलाई साँचो बुझाउन निर्देशन दिएका छन् । सरकारलाई साँचो नबुझाए सुरक्षाकर्मीको सहयोगमा साँचो थुत्दै आफैं चलाउने भएका छन् । आपूर्ती मन्त्री यादवले गाडी नचलाउनेको साँचो थुत्दै सुरक्षाकर्मी लगाएर पेट्रोलियम पदार्थ ढुवानी गर्न निगमलाई निर्देशन दिइसकेका छन् ।

निगमले ट्याङ्करको चाबी थुत्न थालेपछि चालकहरुले थानकोट डिपो र अमलेखगञ्जबाट पेट्रोलियम पदार्थको ढुवानी सुरु गरेका छन् ।