कसले भित्र्याउँदै छ तस्करीका मोबाइल ?, निगरानीमा ठूला घराना

औपचारिक क्षेत्रबाट मोबाइल भित्र्याउँदा १३ प्रतिशत भ्याट र पाँच प्रतिशत भन्सार तिर्नुपर्ने भएपछि व्यवसायीले तस्करीमार्फत् भित्र्याउँदै आएका छन् । यस अघिको व्यवस्थाअनुसार मोबाइलमा लिइएको भ्याट फिर्ता हुन्थ्यो भने भन्सार लगाइएको थिएन ।

सरकारले मोबाइलमा उपलब्ध गराउँदै आएको भ्याट फिर्ता बजेटमार्फत् खारेज र थप ५ प्रतिशत भन्सार लगाएपछि मोबाइलको तस्करी बढ्दै गएको छ ।

औपचारिक क्षेत्रबाट मोबाइल भित्र्याउँदा १३ प्रतिशत भ्याट र पाँच प्रतिशत भन्सार तिर्नुपर्ने भएपछि व्यवसायीले तस्करीमार्फत् भित्र्याउँदै आएका छन् । यस अघिको व्यवस्थाअनुसार मोबाइलमा लिइएको भ्याट फिर्ता हुन्थ्यो भने भन्सार लगाइएको थिएन ।

खासगरी, अहिले केरुङ र त्रिभुवन विमानस्थल मोबाइल तस्करीका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गएको सरकारी निकायले सुराकी पाएको छ । औपचारिक क्षेत्रबाट आउने मोबाइल ६० प्रतिशत घटेको छ । सोही परिमाणमा मोबाइल तस्करी भएर नेपाल भित्रिँदै आएको सरकारी निकायले सुइँको पाएपछि अनुसन्धान थाल्न सुरु गरेको छ ।

नेपालमा औपचारिक क्षेत्रबाट साओमी मोबाइल भित्र्याउँदै आएको सारडा ग्रुपले नेपालमा लञ्च नै नभएका मोबाइल तस्करीमार्फत् काठमाडौंमा छ्याप्छ्याप्ती पाइने बताएकाे छ । भित्र्याउने ब्रान्ड जुन नेपालमा सार्वजनिक भएको छैन, तर बजारमा देखिन थालेको छ  ।

सरकारले एयरपोर्ट, भन्सार तथा केरुङ नाकामा कडाइ गर्न नसक्दा ठूलो परिमाणमा राजस्व गुमारहेको छ । एकातिर तस्करीमार्फत् भित्रिएका मोबाइलले बजारमा प्रभुत्व जमाइरहेका छन् भने अर्कोतिर उपभोक्ता पनि ठगिँइदै आइरहेका छन् ।

तस्करीमार्फत् भित्रिएका मोबाइल सरकारी तथ्याङ्कमा आबद्ध हुँदैनन् । उपभोक्ताले मोबाइलमा वारेन्टी तथा बिक्रीपछिको सेवासमेत हुँदैन । यस्तो हुँदा उपभोक्ता र राज्यलाई तस्करी भएर आएका मोबाइलले ठूलो असर पु¥याउँदै आएको व्यवसायीहरु बताउँछन् ।

अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले दुई महिनादेखि मोबाइलको राजस्वमा ठूलो गिरावट आएको र नेपालमा तस्करीमार्फत् भित्रिने मोबाइललाई रोक्न सरकारले सूक्ष्म अनुसन्धान गरेको बताए । ‘अहिले तराईका नाका तथा केरुङ र एयरपोर्ट मोबाइल तस्करीका लागि ट्रान्जिट बन्दै आएका छन् भन्ने सुन्ने गरेका छौं,’ उनले भने, ‘तर, त्यसलाई आधिकारिक गर्न सकिएको छैन । अनुसन्धानको कार्य जारी छ ।’

नेपालमा वान प्लस मोबाइल भित्र्याउँदै आएको मुरारका अर्गनाइजेसनका अनुसार बजारमा एउटै मोडलका मोबाइलका दुई थरी मूल्य छ । औपचारिक क्षेत्रबाट नेपालमा भित्रिएका मोबाइलको मूल्य एउटा छ । तस्करीमार्फत् भित्रिएका मोबाइलको मूल्य भिन्नै छ ।

मोबाइल हबको रुपमा परिचित ताम्राकार हाउसमै तस्करी भएर आएका मोबाइलको मूल्य र औपचारिक क्षेत्रबाट भित्रिएका मोबाइलको मूल्य फरक फरक राखेर बिक्री गरिरहेका छन् ।

खासगरी ठूला तथा महँगा फोन तस्करीमार्फत् नेपाल भित्रिने गरेको व्यवसायीहरु बताउँछन् । तस्करीमा ठुल्ठूला व्यापारिक घरानाको समेत संलग्नता रहेको सरकारी अनुमान छ ।

एयरपोर्ट र केरुङका कर्मचारीसँग सम्बन्ध राखेर नेपालमा मोबाइल तस्करी भइरहेको छ । भन्सारका कर्मचारीसँग सामान्य व्यापारीले सम्बन्ध तथा एक्सेस राख्न नसक्ने भएकाले ठूला व्यापारिक घरानाको सग्लनता रहेको सरकारी अनुमान छ ।