सुपथ मूल्यका पसल ‘सरकारको नाटक मात्र’

उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिदका लागि भन्दै सरकारले विभिन्न ठाउँमा पसल सञ्चालनमा ल्याए पनि प्रभावकारी नभएको सभासदहरुको भनाइ छ ।

दसैं, तिहार र छठपर्वलाई लक्ष्य गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्यका पसल नाटक मात्र भएको सभासदहरुले टिप्पणी गरेका छन् । उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिदका लागि भन्दै सरकारले विभिन्न ठाउँमा पसल सञ्चालनमा ल्याए पनि प्रभावकारी नभएको सभासदहरुको भनाइ छ ।

सभासद हृदयश त्रिपाठीले बजारमा बढेको मूल्य नियन्त्रण गर्नुको सट्टा सुपथ मूल्य पसल खोलेर मन्त्री र सरकारी कर्मचारीहरुको फोटो खिच्ने ठाउँको थलोका रुपमा विकास गरेको बताए ।  संसदको लेखा समितिका सदस्य समेत रहेका त्रिपाठीले उपभोक्ताको हितभन्दा मन्त्री र सरकारी कर्मचारीको हितका लागि सुपथ मूल्य पसल खुलेको र तत्काल बन्द गर्नुपर्ने बताए ।

सभासद पार्वती विसुन्केले सहुलियत मूल्यको पसल उपभोक्ताको हितमा नरहेको बताइन् । कुनै विषेश पसलमा छुट दिने र अरु पसलमा उच्च मूल्यमा सामान बेचाउने सरकारी योजना गलत भएको भन्दै सुपथ मूल्यको पसल बन्द गरी सबै क्षेत्रका पसलमा समान दररेट राख्नु पर्ने बताइन् ।

अर्का सभासद तेजबहादुर चौधरीले प्रत्येक वर्ष सुपथ मूल्यका पसल खुलेकै हुन्छन् तर उपभोक्ताले महँगो शुल्कमा सामग्री खरिद गर्नुपर्ने बाध्यता कहिल्यै नहट्ने भएकाले यसलाई तत्काल बन्द गर्नुपर्ने बताए । महँगी नियन्त्रण गर्नुभन्दा सरकार लाचार भएर देखावटी रुपमा सुपथ मूल्यका पसल खोलेको सभासद चौधरीको भनाइ छ ।