वाणिज्यका डीजीले सभासदलाई ढाँटे, साल्ट ट्रेडिङको डिलरमूल्य ७३ रुपैयाँ, डीजी भन्छन् ७० रुपैयाँ !

सभासदहरुको आक्रोशलाई मत्थर बनाउन वाणिज्यका महानिर्देशक गौचनले चिनीको मूल्य ७० रुपैयाँभन्दा नबढ्ने बताएका थिए । तर सभासदहरुले व्यापारीले सरकारलाई पनि धोका दिएको भन्दै तत्काल मूल्यवृद्धि रोक्न र अनुगमनलाई कडा पार्न निर्देशन दिएका थिए ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले संसदीय समितिलाई झुक्याएका छन् । उनले संसदीय समितिलाई चिनी प्रतिकेजी ७० रुपैयाँमा पाइने बताए पनि साल्ट ट्रेडिङले डिलरमूल्य ७३ रुपैयाँ निर्धारण गरेपछि झुक्याएको पुष्टि भएको हो ।

दसैं, तिहार र छठपर्वको पूर्वसन्ध्यामा व्यापारीले आफूखुसी चिनीको मूल्य बढाएको भन्दै सभासदहरुले सरकारप्रति आक्रोश पोखेका थिए । सभासदहरुको आक्रोशलाई मत्थर बनाउन वाणिज्यका महानिर्देशक गौचनले चिनीको मूल्य ७० रुपैयाँभन्दा नबढ्ने बताएका थिए । तर सभासदहरुले व्यापारीले सरकारलाई पनि धोका दिएको भन्दै तत्काल मूल्यवृद्धि रोक्न र अनुगमनलाई कडा पार्न निर्देशन दिएका थिए ।

तर सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङले नै डिलरमूल्य ७३ रुपैयाँ निर्धारण गरेको छ । चिनी उद्योगीले केही दिनअघि मात्र भ्याटबाहेक ५७ रुपैयाँ ५० पैसामा बिक्री गर्ने निर्णय गरेका थिए । उद्योगीहरुको निर्णयलाई साथ दिँदै वाणिज्य विभागका महानिर्देशक गौचनले १३ प्रतिशत भ्याट जोड्दा उद्योगमा प्रतिकिलो ६४ रुपैयाँ ९७ पैसा पर्ने र उद्योगबाट ढुवानी खर्चसहित समायोजन गर्दा ७० रुपैयाँसम्म बजारमा चिनी पाइने बताएका थिए ।

लेखा समितिका सदस्य हृदयश त्रिपाठीले सरकारको लाचरीपनको कारण उद्योगीले आफूखुसी मूल्य बढाएको बताउँदै त्यसमा सरकारी कर्मचारीको पनि मिलेमतो रहेको बताए । अहिले बजारमा कहीँ पनि ७० रुपैयाँमा चिनी नपाइने बताउँदै उनले सरकारलाई यसप्रति गम्भीर बन्न आग्रह गरेका छन् । लेखा समितिकै अर्का सदस्य प्रेमबहादुर आलेले बजारमा अहिले चिनीको खुद्रा मूल्य ८० रुपैयाँ र दुर्गम भेगमा १०० रुपैयाँसम्म पर्ने गरेको बताए ।

राजधानीकै विभिन्न डिपार्टमेन्ट स्टोरहरुमा फरक फरक मूल्य छ । यसैबीच वाणिज्य विभागका महानिर्देशक गौचनले सरकारी अनुगमनका क्रममा ७० रुपैयाँभन्दा बढी लिएको नपाइएकाले सभासदहरुलाई त्यही अनुसारको जानकारी गराएको बताए । ‘राजधानीका सबै क्षेत्रमा अनुगमनलाई तीव्रता दिएका छौं,’ महानिर्देशक गौचनले भने, ‘मूल्यसूची राख्न लगाएका छौं, धेरै लिएको पाइएमा कार्वाही गर्छौं ।’ एक दुई बोरा चिनी लैजाने केही खुद्रा व्यापारीहरुले भने ८० रुपैयाँसम्ममा बेचेको हुन सक्ने उनको भनाइ छ ।

सोमबार बसेको लेखा समितिको बैठकले चिनीको मूल्य प्रतिकिलो ६२ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो । यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चिनीको मूल्यवृद्धिको विषयमा सरकार गम्भीर रहेको बताएका छन् । उनले चिनीको मूल्य वृद्धिसम्बन्धी मन्त्रालयले आज (मङ्गलबार)बेलुकीसम्म विषेश निर्णय गर्ने तयारी गरिरहेको बताए ।