टेलिकमको अप्टिकल फाइबर आयोजना : ४ अर्बमा ५ कम्पनीलाई ठेक्का, माघको पहिलो साता सम्झौता हुँदै

नेपाल टेलिकमसँग २०७३ असोजमा दूरसञ्चार प्राधिकरणले सम्झौता गरेको थियो । सम्झौताअनुसार टेलिकमले असोज ११ मा काम सक्नुपर्ने थियो । तर, टेलिकमले यस अवधिमा बोलपत्र मात्रै आह्वान गरी टेन्डर मूल्याङ्कनमा समय सकेको हो ।

काठमाडौं : नेपाल टेलिकमले प्रदेश १, २ र ३ का राष्ट्रिय राजमार्ग र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा ५ कम्पनीलाई दिने भएको छ । टेलिकमले फाइबर र इक्युपमेन्ट गरी ५ कम्पनीलाई झन्डै ४ अर्ब रुपैयाँमा ठेक्का दिने भएको हो ।

गोरखाको आरुघाटदेखि पूर्व पाँचथरको चियोभन्ज्याङसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा नेपाल टेलिकमले पाएको थियो । यसका लागि नेपाल टेलिकमसँग २०७३ असोजमा दूरसञ्चार प्राधिकरणले सम्झौता गरेको थियो । सम्झौताअनुसार टेलिकमले असोज ११ मा काम सक्नुपर्ने थियो । तर, टेलिकमले यस अवधिमा बोलपत्र मात्रै आह्वान गरी टेन्डर मूल्याङ्कनमा समय सकेको हो ।

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रदेश १, २ र ३ का राष्ट्रिय राजमार्ग र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने र डीडब्ल्यूडीएमको काम ठेक्का पाउने कम्पनीलाई आशयपत्र (एलओआई) समेत दिइसकेको बताए ।

‘पाँच कम्पनीलाई आयोजना ठेक्का दिने तयारी भएको छ,’ उनले भने । माघको पहिलो साताभित्र फाइबरको काम अघि बढाउन ठेक्का सम्झौता गर्ने तयारी भएको अघिकारीले जानकारी दिँदै टाइमलाइनलाई कडाइका साथ पालना हुने र अब कुनै पनि बहानामा ढिला नहुने बताए ।

सरकारले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन ब्याकबोन परियोजना अगाडि सारेको थियो । तर, सबै स्थानमा सडकको पहुँच नभएपछि सडक किनारमा बिछ्याउनुपर्ने अप्टिकल फाइबर परियोजना अन्योलमा परेको हो ।

यसै क्षेत्रमा झन्डै दुई दशक बिताएका नयाँ प्रबन्ध निर्देशक अधिकारीले अहिले सो कामको जिम्मा पाएका छन् । उनले हाल सञ्चालनमा रहेका अप्टिकल फाइबर, ग्रामीण इन्टरनेट जस्ता परियोजनालाई कसरी अगाडि बढाउलान् भन्ने विषयमा सबैको चासो छ ।

अधिकारीले काममा अवरोध गर्ने, बढी समय लगाउने, टाइमलाइनमा सम्पन्न नगर्ने कम्पनीलाई हटाउन पनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।