सेवादेखि उत्पादनमूलक क्षेत्रमा पायोनियर एनई ग्रुप अब रियलइस्टेट र अटोमोबाइलमा

‘कुन ब्रान्डको गाडी भित्र्याउँदै छौँ त्यो अहिले नभनौँ, तर हामी अटोमोटिभ क्षेत्रमा जाँदै छौं,’ उनले भने, ‘त्यसैगरी, रियलइस्टेट पनि हाम्रो दोस्रो रोजाइमा परेको छ ।’

काठमाडौं । सेवा र उत्पादनमूलक क्षेत्रमा पायोनियर व्यावसायिक प्रतिष्ठान नेपाल इन्टरप्राइजेज ग्रुपले (एनई) रियलइस्टेट र अटोमोबाइल क्षेत्रमा प्रवेश गर्ने भएको छ ।

ग्रुपले गाडी तथा दुई पाङ्ग्रे मोटरसाइकलको नयाँ ब्रान्ड ल्याउन लागेको छ । त्यसैगरी, व्यावसायिक भवन र अपार्टमेन्टमा समेत प्रवेश गर्ने तयारी गरेको ग्रुपका निर्देशक रवीन्द्रभक्त श्रेष्ठले क्यापिटल नेपाललाई जानकारी दिए । ‘कुन ब्रान्डको गाडी भित्र्याउँदै छौँ त्यो अहिले नभनौँ, तर हामी अटोमोटिभ क्षेत्रमा जाँदै छौं,’ उनले भने, ‘त्यसैगरी, रियलइस्टेट पनि हाम्रो दोस्रो रोजाइमा परेको छ ।’

पाँचतारे तथा बुटिक होटल सञ्चालन गरेर देशको पर्यटन क्षेत्रलाई टेवा पुर्याइरहेको एनई ग्रुपले निकट भविष्यम सुरु गर्न लागेको व्यवसायको अध्ययन भइरहको छ । एनई ग्रुपले पाँचतारे होटल सोल्टी, भिभान्ता, बुटिक होटल ‘समिट’ सञ्चालन गरिरहेको छ । त्यसैगरी, सोल्टीले नेपालगन्जमा समेत अर्को शाखा सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी बैङ्क तथा वित्तीय संस्थामा समेत एनई ग्रुपको दरिलो उपस्थिति छ ।

श्रेष्ठका अनुसार अपार्टमेन्ट तथा व्यावसायिक भवन बनाउन काठमाडौं उपत्यकाकै विभिन्न ठाउँ रोजाइमा परेका छन् । ‘कतिपय ठाउँका बारेमा अध्ययनसमेत भइरहेको छ,’ उनले भने, ‘केही समयपछि हामी सम्पूर्ण जानकारी बाहिर ल्याउँछौं, अहिले अध्ययनकै चरणमा छाैं ।’

एउटा बस्ने घर भइपछि नेपालीहरु सुरक्षित भएको महसुस गर्छन् । उनीहरुको आकाङ्क्षलाई पूरा गर्न एनई ग्रुप यो क्षेत्रमा आउन लागेको हो । त्यसैगरी नेपालमा व्यावसायिक भवनको पनि ठूलो सम्भावना भएको र अहिलेसम्म त्यस्ता भवन धेरै नबनेकाले त्यता पनि ग्रुपको रोजाइ परेको उनको भनाइ छ ।

उनका अनुसार नयाँ व्यवसाय पार्टनरसीपमा हुन्छ । पार्टनरसीप फाइनल भइसकेको छ । त्यसका लागि चाहिने आवश्यक लगानीसमेत तयार भइसकेको उनको भनाइ छ ।

सेवा क्षेत्रमा एनई ग्रुपको ‘पर्फरमेन्स’ एकदमै राम्रो छ । बैङ्किङ क्षेत्रमा पनि ग्रुपको वृद्धि उत्साहजनक छ । एनई ग्रुपले ९ वर्षअघि सञ्चालनमा आएको नेसनल आइसक्रिम इन्डष्ट्रिजको पनि ३० प्रतिशतको वृद्धि छ ।

त्यसका अलावा युनिलिभर नेपालको उत्पादन वृद्धि पनि राम्रो छ । अब निकट भविष्यमा एनई ग्रुपसँग अटोमोटिभ र रियलइस्टेट व्यवसाय पनि हुन्छ । श्रेष्ठका अनुुसार नयाँ परियोजनामा यत्ति नै लगानी हुन्छ भन्ने एकीन भइसकेको छैन । तर, ठूलो लगानी गरेर यो क्षेत्रमा प्रवेश गर्न लागेको उनको भनाइ छ ।

बेलायत तथा अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएका श्रेष्ठले अहिले एनई ग्रुपलाई थप सशक्त बनाएर लगेका छन् । बजारको मागको समीक्षा गर्ने, नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने, नयाँ आइडिया ल्याउन उनी अत्यन्तै माहिर मानिन्छन् ।

सन् २०१० बाट व्यावसायिक यात्रा सुरु गरेका श्रेष्ठ युनिलिभर नेपाल, नेसनल आइसक्रिम इन्डष्ट्रिज प्रालि, सुपर रिलायगर रिफ्रेन्स ल्याब्रोटोरिज (नेपाल) प्रालिका निर्देशक हुन् ।