दुबईको चियाको स्वाद बानेश्वरको चिया अड्डामा

राजधानीको व्यस्त ठाउँका रुपमा परिचित छ, नयाँ बानेश्वर । चोकबाट शङ्खमूलतर्फ जाने बाटोका केही घर छिचोलेपछि तपाईं पुग्नुहुन्छ— जनता बैङ्क । त्यसैको अगाडिपट्टि छ चिया अड्डा ।

काठमाडौं । साथीसँगीहरुको भेटघाट होस् या पारिवारिक जमघट, अफिसियल मिटिङ होस् या व्यावसायिक भेटघाट नै किन नहोस्, त्यसका एउटा अनिवार्य हिस्सा जस्तै बनेको छ— चिया । यिनै चियाका पारखीलाई लक्ष्य गरी नयाँ बानेश्वरमा सञ्चालनमा आयोको छ— चिया अड्डा ।

राजधानीको व्यस्त ठाउँका रुपमा परिचित छ, नयाँ बानेश्वर । चोकबाट शङ्खमूलतर्फ जाने बाटोका केही घर छिचोलेपछि तपाईं पुग्नुहुन्छ— जनता बैङ्क । त्यसैको अगाडिपट्टि छ चिया अड्डा ।

चिया अड्डाका सञ्चालक हुन्, सन्जोग कोइराला । उनी करिब २ वर्षअघि दुबई घुम्न गएका थिए । त्यति बेला त्यहाँको फिली क्याफेमा उनी चिया खान छिरे, जुन स्वादले उनलाई नेपाल आएर पनि भुलाएको छैन ।

त्यसैले उनले सोचे, यस्तो चिया नेपालमा पनि उपलब्ध गराउन सकिन्छ कि ? तर दुबईको फिली क्याफेको फ्रेन्चसाइज लिन शुल्क मात्र १ करोड ५० लाख रुपैयाँभन्दा बढी तिर्नुपर्ने रहेछ । त्यसैले फ्रेन्चाइज ल्याउन नसके पनि स्वाद त ल्याउन सकिएला नि भनी उनले त्यसबारे अध्ययनअनुसन्धान गरे । र करिब ८५ लाख रुपैयाँ लगानीमा चिया अड्डा स्थापना गरे ।

चिया अड्डामा ८ फ्लेबरको चिया पिउन पाइन्छ । त्यसमा ब्ल्याक टीका भेराइटी मात्र २/३ थरी छन् । यहाँ चियासँगै अन्य खानेकुरा पनि उपलब्ध रहेको कोइरालाले जानकारी दिए । पछिल्लो समय ग्राहकको मागअनुसार नेपालीहरुलाई चाहिने खाजा राखिएको उनको भनाइ छ ।

‘हाम्रो परम्परा नै चिया छ । गाउँघरमा जादा होस् या कतै पाहुना लाग्न जादा होस्, सुरुमै कफी खाऊँ भनेर कसैले सोधेका हुँदैनन्,’ कोइराला भन्छन्, ‘पहिला चिया खाऊँ भन्ने शब्द नै अगाडि गएको हुन्छ । त्यसैले आफ्नो परम्परालाई पनि साथ दिँदै चिया अड्डा सञ्चालन गरेको हुँ ।’ व्यापारको दृष्टिले चियामा भन्दा कफीमा धेरै नाफा हुन्छ । तर नाफालाई मात्र नहेरी अड्डा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

अड्डामा नेपालमै उत्पादित चिया पिउन पाइन्छ । तर चिया मसला भने भारतको प्रयोग गरिन्छ । उनको अड्डामा छिटो र मीठो चिया खान पाइन्छ । चिया अड्डाकै फ्रेन्चाइजका रुपमा राजधानीका विभिन्न ठाउँमा क्याफे सञ्चालन गर्न कोइराला लागिपरेका छन् । त्यसका लागि उपयुक्त ठाउँ खोजिरहेको उनले जानकारी दिए ।