नेपालमै पहिलो प्रविधि ललितपुरमा, मोबाइलबाटै सडकबत्ती कन्ट्रोल

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जावलाखेलमा यो प्रविधि सुरु गरेका हुन् । सवारी चापअनुसार ट्राफिक व्यवस्थापनका लागि मोबाइलबाटै सडकबत्ती नियन्त्रण गर्न सकिनेछ । यसका लागि ट्राफिकलाई प्रदान गरिएको मोबाइल सेटमा सडकबत्ती नियन्त्रण गर्ने एप्स राखिएको छ ।

ललितपुर । नेपालमै पहिलो पटक मोबाइलबाटै कन्ट्रोल गर्न सकिने प्रविधि ललितपुर महानगरपालिकाले भित्र्याएको छ । ललितपुरका सडकबत्ती अब मोबाइलबाटै बाल्न र निभाउन सकिन्छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जावलाखेलमा यो प्रविधि सुरु गरेका हुन् । सवारी चापअनुसार ट्राफिक व्यवस्थापनका लागि मोबाइलबाटै सडकबत्ती नियन्त्रण गर्न सकिनेछ । यसका लागि ट्राफिकलाई प्रदान गरिएको मोबाइल सेटमा सडकबत्ती नियन्त्रण गर्ने एप्स राखिएको छ ।

ललितपुर महानगरपालिकाले पावरटेक नेपाल र भूस्पर्श कन्ट्रक्सन प्रालिसँगको समन्वयमा यो प्रविधि सुरु गरेको हो । अल्का अस्पताल चोकमा सुरु भएको यो प्रविधि अहिले परीक्षण मात्रै भएको ललितपुर महानगरपालिकाका मेयर महर्जनको भनाइ छ । महर्जनले यस प्रविधिको सहायताले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने बताए । महर्जनले भने, ‘यो अहिले परीक्षणका लागि मात्रै हो । यसको सफलता हेरेर ललितपुर महानगरका अन्य १८÷२० स्थानमा समेत व्यवस्थापन गर्छौं ।’

सडकमा हुने सावारी साधनको चापअनुसार ट्राफिक प्रहरीले सडकबत्तीको व्यवस्थापन मोबाइलबाटै गर्न सक्नेछन् । सवारीको चाप हेरेर ट्राफिक प्रहरीले अटोमेटिक र म्यानुअल दुवै तरिकाबाट सडकबत्ती कन्ट्रोल गर्न सक्नेछन् । सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग यो एप्सजडित मोबाइल रहनेछ ।

एप्सजडित मोबाइलबाट मेयर महर्जनले अलका अस्पताल अगाडि केही मिनेट सडकबत्ती कन्ट्रोल गर्ने प्रविधि प्रयोग गरेर समेत अवलोकन गरे । त्यसलगत्तै मेयर महर्जनले त्यहाँ रहेका ट्राफिक कुन्दनकुमार शाहलाई उक्त सेट हस्तान्तरण गरे ।

यसअघि ललितपुर महानगरपालिकाले ६ जना ट्राफिक प्रहरीलाई यो प्रविधिसम्बन्धी तालिम प्रदान गरेको थियो । अलका अस्पताल अगाडिको चोकमा अहिले यो प्रविधि सञ्चालन गरिएको छ । उग्रचण्डी मन्दिरपट्टिबाट आउने सडकमा ट्राफिकको सेन्सर बिछ्याइएको छ । त्यस सेन्टरमा गाडीको चक्का पर्नासाथ बत्ती बल्छ । सोहीअनुसार ट्राफिकले मोबाइलबाटै व्यवस्थापन गर्नेछन् ।