उधारोको सीमा एक महिनाबाट एक सय २० दिन पुग्यो, उद्योगीलाई बैङ्ककाे ब्याज तिर्न धौधौ

उद्योगी आफैंले डिलर खोलेर सामान बेच्न सक्दैन । त्यो सम्भावना पनि हुँदैन । उद्योगीले डिलरमार्फत नै सामान बेच्ने हो । डिलरलाई विश्वास गरेर सामान दिए पनि डिलरले समयभित्र भुक्तानी नगर्दा उद्योगीहरु अप्ठ्यारोमा परेको गोल्छा अर्गनाइजेनसनका प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।

काठमाडौं । गत वर्षको यो समयसम्म लोमस ग्रुपको हरेक डेढ महिनामा बजारबाट पैसा उठ्ने र नयाँ सामान जाने गथ्र्यो । तर, अहिले डेढ महिनाको समयसीमा नाघेर ९० दिन पुगिसकेको छ । लोमस ग्रुपसँग सिमेन्ट, औषधि उद्योग छन् ।

मुरारका अर्गनाइजेसनको पनि हालत त्यस्तै छ । अहिले बजारबाट पैसा उठ्ने सीमा गतवर्षको तुलनामा तीन महिना पछि धकेलियो । अर्गनाइजेसनसँग सिमेन्ट, पेन्ट्स, स्टिल, गाडी, मोबाइललगायत छन् ।

शङ्कर ग्रुपको पनि बजारमा ठूलो रकम ‘होल्ड’ भएको छ । सामान लैजाने र पैसा तिर्ने ‘ग्याप’ बढ्दै गएको छ । यसअघिसम्म अधिकतम दुई महिनाको भाका राखेर उधारोमा सामान लैजाने गरेका थिए । तर, अहिले त्यो समय दोब्बर भइसकेको छ ।

गोल्छा अर्गनाइजेसन पनि यो समस्याबाट मुक्त हुन सकेको छैन । केही समय अघिसम्म पैसा तिर्ने समय साढे एक महिनाको हुन्थ्यो । तर, अहिले न्यूनतम तीन महिना पुगिसकेको छ ।

उल्लिखित नाम केही प्रतिनिधि उदाहरण मात्रै हुन् । अहिले अधिकांश व्यावसायिक घरानाको उधारोको सीमा नाघेको छ । बजारबाट पैसा सङ्कलन हुन नसकेकै कारण बैङ्कलाई चैत मसान्तसम्म बुझाउनुपर्ने ब्याज वा किस्तासमेत कसरी तिर्ने भन्ने चिन्ताले उद्योगी हैरान परेका छन् ।

देशभित्र आर्थिक गतिविधि हुन नसकेको र त्यसकै कारण उद्योगले उधारोमा दिएको सामानको भुक्तानी असन्तुलन भएकाले उनीहरु ठूलो समस्यामा परेका छन् ।

‘गतवर्षसम्म पैसा उठ्ने चक्र ठीक थियो । एउटा तहसम्म बजारमा हाम्रो उधारो भइरहन्थ्यो,’ मुरारका अर्गनाइजेसनका अध्यक्ष पशुपति मुराराका भन्छन्, ‘अहिले बजारमा अस्वाभाविक रुपमा उधारो बढेको छ । पैसा नउठ्ने समस्या विकराल बन्दै गएको छ ।’

उद्योगीले नगद तिरेर विदेशबाट कच्चापदार्थ नेपाल ल्याएर सामान बनाउने र नेपालभित्रका आफ्ना डिलरलाई उधारोमा दिने प्रचलन पहिल्यैदेखि छ । डिलरले सामान लगेको एक महिनाभित्र भुक्तानी दिने प्रचलन अहिले तोडिएको छ । तर अहिले डिलरले सामान लैजाने तर भुक्तानी नगर्ने प्रवृत्ति बढेको उद्योगीहरु बताउँछन् । बजारमा पैसाको अभाव भएकाले भुक्तानीको चक्रमा परिवर्तन आएको उनीहरुको बुझाइ छ ।

उद्योगले विभिन्न ठाउँमा रहेका डिलरलाई उधारोमा सामान दिन्छ । डिलरले पनि आफ्ना विभिन्न सबडिलरलाई सामान दिन्छ । सबडिलरले पनि जिल्लाजिल्लालाई सामान दिन्छ र जिल्लाले गाउँ तहका पसललाई सामान दिन्छ ।

उद्योगी आफैंले डिलर खोलेर सामान बेच्न सक्दैन । त्यो सम्भावना पनि हुँदैन । उद्योगीले डिलरमार्फत नै सामान बेच्ने हो । डिलरलाई विश्वास गरेर सामान दिए पनि डिलरले समयभित्र भुक्तानी नगर्दा उद्योगीहरु अप्ठ्यारोमा परेको गोल्छा अर्गनाइजेनसनका प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।

‘डिलरलाई पैसा तिर्न दबाब दियो भने ‘सलन्डर’ गर्छ । अहिले अर्थतन्त्र अत्यन्तै दयनीय अवस्थामा पुगेको छ,’ उनले भने, ‘दबाब दिऊँ सलन्डर गर्छ नदिऊँ पैसा उठ्दैन ।’ उनका अनुसार आफ्नै कम्पनीमा तीन महिना पुग्न लागिसकेको छ ।

‘विगत ८ महिनादेखि रकम भुक्तानी गर्ने चक्र बिग्रिएको छ । भुक्तानी किन नगरेको भनेर सोध्यो भने, हाम्रा सब डिलरले भुक्तानी नगरेर समस्या भएकोे बताउँछन्,’ लोमस ग्रुपका निर्देशक प्रबलजङ्ग पाण्डे भन्छन्, ‘डिलरलाई पनि सबडिलर, जिल्लाले समयमा भुक्तानी दिन सकेका छैनन् ।’

‘उद्योगीले नगद तिरेर कच्चा वस्तु ल्याएको हुन्छ । सामान बनाउनै प¥यो । बनाएको सामान गोदाममा थन्क्याएर राख्ने कुरा भएन,’ शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘उद्योगीलाई बाध्यता छ, सामान नदिऊँ गोदाममा थन्क्याएर राखेर के गर्नु ? दिऊँ बजारबाट भुक्तानी हुन छाड्यो ।’

उद्योगीका अनुसार एक वर्षअघिसम्म सामान लगेको एक महिनाभित्र सम्पूर्ण रकम भुक्तानी गरिसक्थे । तर, अहिले पाँचदेखि ६ महिनासम्म पनि भुक्तानी हुन छाड्यो ।

बजारमा पैसाको चरम अभाव भएको र सरकारले पनि पुँजीगत खर्च बढाउन नसकेकाले ठूलो समस्या आएको छ । प्रत्येक तीन तीन महिनामा बैङ्कको ब्याज तिर्नुपर्ने उद्योगीलाई अहिले कसरी तिर्ने भन्ने चिन्ताले परलेको छ । एकातिर जुन तरिकाले विक्री बढ्नुपर्ने हो, त्यसरी बढ्न पनि सकेको छैन । बजारमा उधारो पनि निरन्तर बढ्दै गएको छ ।

सामान्यतया सामान लगेको २ महिना अथवा ६० दिनभित्र भुक्तानी गर्ने र नयाँ सामान लिने प्रचलन थियो । अहिले त्यो सीमा बढेर ९० देखि एक सय २० दिनसम्म पुगेको छ ।

खासगरी बजारमा अलि ‘एग्रेसिभ’ आएका केही कम्पनीको भुक्तानीको सीमा बढेको अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपाने बताउँछन् । ‘विगतका वर्षको तुलनामा अहिले केही असन्तुलन पक्कै भएको छ, राम्रा कम्पनीको पनि ६० दिनको सीमाबाट ७०–८० दिन पुगेको छ,’ उनी भन्छन्, ‘उधारो बढेकाले व्यवसायमा ठूलो समस्या भित्रिएको छ ।’

बैङ्कबाट ऋण लिने, उद्योगको क्षमता विस्तार गर्ने, सामान उत्पादन गरेर बजारमा पठाउने र बजारबाट आएको पैसाबाट बैङ्कको साँवाब्याज तिर्ने जुन चक्र थियो, त्यो अहिले बिग्रिएकोे छ । एकातिर बजारमा अस्वस्थ प्रतिस्पर्धा गरेर आफ्नो सामान धेरै विकाउने र छिट्टै स्थापित हुने उद्देश्य राखेर हिँड्ने र त्यसका लागि अन्धाधुन्ध उधारोमा सामान दिने प्रचलनले पनि यस्तो समस्या ल्याएको उद्योगीहरु आफैं स्विकार्छन् ।

जसरी पनि आफ्नो सामान बेच्नुपर्ने भएपछि उद्योगीहरुले नै बढी कमिसन दिने र आफ्नो सामान बेच्न उत्प्रेरणा जगाएकाले समस्या भएको हो । एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले बजारमा पैसा अभाव भएकाले उद्योगीको ठूलो रकम बजारमा फसेको बताए । खासगरी सिमेन्ट, स्टिल, खाद्यान्नलगायतमा ठूलो रकम फसेको उनको भनाइ छ ।

उद्योगीको बाध्यता

उद्योगीले तयारी वस्तु बनाउन विदेशबाट कच्चापदार्थ लिएर आइसकेको हुन्छ । उद्योगको उत्पादन घटाउ, उत्पादन लागत घट्छ । उत्पादन बढाउ स्टोरमा राख्ने ठाउँ हुँदैन । उद्योगको गोदाम राख्नुभन्दा डिलरकै गोदाममा पठाउन उनीहरुलाई राम्रो हुन्छ ।

माग कम उत्पादन बढी

बजारमा पैसा अभाव भएर उपभोक्ताले खपत गर्न छाडेका छन् । जब उत्पादन भएको वस्तु खपत हुन छोड्छ, तब बजारमा उत्पादन बढी र खपत कम हुनु स्वाभाविक भएको अग्रवाल बताउँछन् । तर, उद्योगले आफ्नो क्षमता घटाउनेबित्तिकै लागत महँगो पर्न जान्छ । अहिले उद्योगीहरु गर वा मरको स्थितिमा पुगेको उनको भनाइ छ ।